काठमाडौं– नरेश रोकाया एमाले अध्यक्ष ओली निकट रहेर विद्यार्थी राजनीति गरेका व्यक्ति हुन् । उमेर हद लागू भएपछि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष हुन नपाएका रोकाया एमालेको एघारौँ महाधिवेशनमा ४० वर्ष मुनिका केन्द्रीय सदस्य छन्। एमालेले करिब २८,२९ जना ४० वर्ष मुनिको केन्द्रीय सदस्यलाई समेट्दा नरेशलाई पनि ओलीले छुटाएका थिएनन्।
विद्यार्थी राजनीति र अध्ययनशील नरेश अब एमाले यथास्थितिमा चल्न नसक्ने भएकाले केपी ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन्। एमाले पुनर्गठनका लागि नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने मत रोकायाको छ ।
उनी अहिलेका पदाधिकारी सबैले निस्वार्थ रुपमा राजीनामा दिनुपर्ने र केन्द्रीय कमिटीलाई आयोजक कमिटी बनाएर अर्ली महाधिवेशनपछि एमालेको नेतृत्व चुनिनुपर्ने आवाज उठाउँछन्।
‘पहिलो पुस्ताको सबैले राजीनामा दिनुपर्छ सबैले बिदा हुनुपर्छ। उहाँहरू सम्मानजनक ठाउँमा बस्नुपर्छ सल्लाहकार हुनुपर्छ।’ रोकाया भन्छन्– ‘पार्टी पुस्तान्तरण हस्तान्तरण हुनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसका निम्ति अहिलेको पदाधिकारी सबैले आफ्नो जिम्मेवारीबाट मुक्त हुनुपर्छ ।’
अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने र एमालेको नेतृत्वमा रहने विषयमा रोकायाको फरक मत छ। उनी भन्छन्– ‘ओलीको विकल्प ठ्याक्कै भन्दा विद्या होइन, दोस्रो– तेस्रो पुस्ता हो।’
नेपालका कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउने अवस्थामा तत्काल केही समयका लागि भण्डारीले नेतृत्व गर्दा कुनै फरक नपर्ने रोकायाको धारणा छ । रोकाया अब एमालेमा विशेष महाधिवेशन हुन जरुरी नरहेकाले अर्ली महाधिवेशन नै हुनुपर्ने बताउँछन्। ‘पार्टीका सबै संरचनाहरूलाई रिफर्म गरेर गरिने महाधिवेशन अर्ली महाधिवेशन हो’ भन्छन्– ‘विशेष महाधिवेशनको औचित्य सकियो ।’
एमाले सचिवालय बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक बस्न आफूहरूले दबाब दिइरहेकाले केन्द्रीय कमिटी बैठकपछि एमाले अर्ली महाधिवेशनको बाटोमा जाने रोकाएको विश्वास छ।
हामीले उनीसँग एमाले अध्यक्ष ओलीले के गर्नुपर्छ ? ओलीको विकल्प पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हो कि होइन ? युवाले एमाले कस्तो देख्न चाहन्छन् ? माले अब कुन बाटोमा हिँड्नुपर्छ ? पार्टीमा विशेष महाधिवेशन कि अर्ली महाधिवेशन ? लगायतका सन्दर्भमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
एमाले अझै केपी ओलीकै नेतृत्वमा अगाडि बढ्ने हो ?

अहिलेको अवस्थामा उहाँको नेतृत्वमा अगाडि बढ्दा एमाले पार्टीलाई ठूलो घाटा लाग्ने देखिन्छ । त्यस विषयमा हामी गम्भीर छलफलमा छौँ ।
उसो भए एमाले कसरी अगाडि बढ्नुपर्छ ?
नयाँ पुस्ताको भावनाको प्रतिनिधित्व नेकपा एमालेले गर्न सकेन भन्ने कुरा प्रमाणित भइसक्यो। फागुन २१ को निर्वाचनको परिणामले त्यो देखाइसकेको छ । त्यो हिसाबले नेकपा एमाले रिभाइभका लागि पार्टी पुस्तान्तरण हस्तान्तरण हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसका निम्ति अहिलेका पदाधिकारी सबै आफ्नो जिम्मेवारीबाट मुक्त हुनुपर्छ । उहाँहरूले राजीनामा दिनुपर्छ ।
दोस्रो र तेस्रो पुस्ताका नेताहरूलाई नेतृत्वमा ल्याएर नयाँ सिराबाट अघि बढ्नुपर्छ जस्तो लाग्छ। त्यसका निम्ति केन्द्रीय कमिटीलाई अन्तरिम केन्द्रीय कमिटीको रुपमा रूपान्तरण गर्ने विकल्पमा जानुपर्छ । अन्तरिम नेतृत्वमा रूपान्तरण गरिसके पछाडि पार्टीका सबै जनसंगठनहरूको तत्काल ६ महिनाभित्रमा अधिवेशन सम्पन्न गर्नुपर्छ ।
पार्टीका सम्पूर्ण जिल्ला, नगर, वडा कमिटीहरू सबैमा गुट रहित हिसाबले प्यानल बनाएर निर्वाचनको माध्यमबाट अगाडि बढ्नुपर्छ । सबै संरचनाहरू रिफर्म गरेर अर्ली महाधिवेशनतर्फ जानुपर्छ र नयाँ पुस्ताले पार्टीको नेतृत्व सम्हाल्नु पर्छ ।
अब समग्र वाम आन्दोलनकै नेतृत्व विद्या भण्डारीले गर्नुपर्छ भन्ने पंक्ति पनि भेटिन्छ, होइन एमालेको नेतृत्व चाहिँ अब विद्या भण्डारीको हातमा हुनुपर्छ भन्ने आवाज पनि छ खास के चाहन्छन् युवा ?
मेरो व्यक्तिगत मतको हिसाबले कुरा गर्नुहुन्छ भने पार्टीमा अहिले पदाधिकारीहरू अरूभन्दा पनि तल जाँदा राम्रो हुन्छ भन्ने मेरो धारणा हो । अहिलेको पदाधिकारीहरू मानौँ अध्यक्षले राजीनामा दिँदा उपाध्यक्ष महासचिवले मैले नेतृत्व गर्छु भन्नु र उपमहासचिव र महासचिवका उम्मेदवार प्रतिस्पर्धा हुने कारण कोलाई दिने कोलाई नदिने भन्ने खालको आन्तरिक विवाद छ ।
त्योभन्दा निर्विवाद व्यक्तित्वहरूको खोजी गर्नुपर्यो। पार्टीको पूर्व पदाधिकारी, पूर्व केन्द्रीय कमिटीका नेताको नेतृत्वमा जाने हो कि अथवा अहिलेकै केन्द्रीय कमिटीमा भएको प्रदीप ज्ञवालीको नेतृत्वमा जाने हो ।
पार्टीमा निष्कलङ्क छवि भएको सबैलाई मिलाएर लान सक्ने खुबी भएको लिडरको नेतृत्वमा अन्तरिम केन्द्रीय कमिटी निर्माण गरेर नेकपा एमालेलाई रिभाइभको दिशातिर लानुपर्छ जस्तो मलाई लाग्छ ।
जहाँसम्म विद्या भण्डारीको कुरा छ, उहाँको हकमा त मेरो बुझाइ के हो भन्दा यदि सबै बृहत् कम्युनिस्ट एकता हुने नै ग्यारेन्टी हो भने कम्युनिस्टहरू विद्याको नेतृत्व मान्न सर्वस्वीकार्य खालको बन्ने हो भने उहाँले अधिवेशनसम्म नेतृत्व गर्ने कुरा होला । एमाले रिभाइभका लागि त दोस्रो पुस्तामा जाँदा सबैभन्दा बेस्ट हुन्छ ।
एमाले नै पार्टी अगाडि बढ्दा विद्या भण्डारी उपयुक्त पात्र हो कि होइन ?
पहिलो पुस्ताको सबैले राजीनामा दिनुपर्छ । सबैले बिदा हुनुपर्छ। उहाँहरू सम्मानजनक ठाउँमा बस्नुपर्छ । बरु सल्लाहकार हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसका निम्ति पूर्व प्रधानमन्त्री, पूर्व राष्ट्रपति अथवा बारम्बार मन्त्री भइसकेका नेताहरूले बिदा लिएर तेस्रो पुस्तामा जाँदा उपयुक्त परिणाम आउँछ ।
यदि कम्युनिस्ट एकता भयो र नेतृत्वको बहस चल्यो भने एमाले विद्या भण्डारीलाई अगाडि सार्न तयार हो ?
देशैभरिका र नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरू एकीकृत भएर सबै बामपन्थी घटकहरू, सबै पार्टीको सर्वस्वीकार्य नेतृत्वको हिसाबले उहाँ रहनुहुन्छ । बृहत् बाम एकताको विरोधी म होइन। अन्तरिम कार्यकालका निम्ति उपयुक्त पात्र उहाँ देखिनुहुन्छ।
तर मलाई जहाँसम्म लाग्छ– नेपालमा कम्युनिस्टहरू मिल्ने जुट्ने भन्दा पनि फुट्नेमा बढी रुचि राख्ने लामो इतिहास छ । त्यो कारणले वाम एकता तत्काल सम्भव छैन।
ओलीको विकल्प विद्या हो कि होइन ?
ओलीको विकल्प ठ्याक्कै भन्दा विद्या होइन दोस्रो तेस्रो पुस्ता हो।
युवामा यति धेरै उकुसमुकुस रहेछ किन केन्द्रीय कमिटीमा एक हुन नसक्नु भएको हो ? बैठक डाक्न दबाब नपुगेको जस्तो लाग्दैन ?
पार्टीमा हामी ४० वर्ष मुनिको केन्द्रीय कमिटी सदस्यहरू २८,२९ जना छौँ। त्यो भन्दा धेरै माथि ४२,४५ रेन्जमा अरु नेताहरू हुनुहुन्छ। उहाँहरूले पनि पार्टी रिफर्म गर्नुपर्छ भनेर आवाज उठाउनुभएको छ।

मैले चाहिँ ओपनली नै यो आवाज उठाइरहेको छु। पार्टी केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ। वर्तमान नेतृत्वले नेतृत्व हस्तान्तरण गर्नुपर्छ । पार्टीलाई रूपान्तरणको दिशामा लानुपर्छ ।
अन्तरिम नेतृत्वको निम्ति ५,७ सदस्य मुख्य अप्ठ्यारा काम गर्ने कार्यदल निर्माण गरेर पार्टीलाई नयाँ ढाँचाबाट अगाडि बढाउनुपर्छ भनेर सामाजिक सञ्जालको माध्यमबाट, यहाँहरू जस्ता विभिन्न सञ्चारमाध्यमबाट आवाज उठाउँदै आएका छौँ।
व्यक्तिगत आवाज आयो तर सामूहिक आवाज आएन नि हैन र ?
एकमुष्ट आवाज आउने किसिमको वातावरण बन्दै छ। कतिपय साथीहरूले एकजुट हुने किसिमले वातावरण तयार गरिरहनुभएको छ। कतिपय साथीहरू अहिले हतारो नगरौँ भनेर मौन पनि बस्नुभएको होला। पार्टीको संसदीय दलको नेता को बन्ने भनेर जुन दिन निर्णय गर्ने दिन थियो, त्यो दिन पार्टी कार्यालय गएर सुहाङ नेम्बाङलाई बनाउनुपर्छ भनेर बोल्ने मान्छे मै हो।
हामीले त सुहाङलाई नै संसदीय दलको नेता बनाउन खोजिरहेका थियौँ। हामी बोलिरहेका छौँ । सङख्या अलि कम देखियो होला। यो बढ्दै जान्छ, यसले ठूलो आकार लिन्छ पार्टी रिभाइभ हुने ठाउँसम्म पुग्छ।
ठ्याक्कै भन्दा अब एमालेमा विशेष महाधिवेशन हुनुपर्छ कि अर्ली ?
अब एमालेमा विशेष महाधिवेशन आवश्यक छैन। अर्ली महाधिवेशन हुनुपर्छ। विशेष महाधिवेशनको आवश्यकै छैन।
किन अर्ली महाधिवेशन गर्ने ?
विशेष महाधिवेशन भनेको एघारौँ महाधिवेशनमा जो, जो महाधिवेशन प्रतिनिधिहरू आउनुभएको थियो । तिनै महाधिवेशन प्रतिनिधि ल्याएर नयाँ नेतृत्व चुन्ने अधिवेशनलाई विशेष महाधिवेशन भन्छ। अर्ली महाधिवेशन के हो भन्दा पार्टीका सबै संरचनाहरूलाई रिफर्म गरेर गरिने महाधिवेशन अर्ली महाधिवेशन हो।
नियमित महाधिवेशन पाँच वर्षको अराउन्डमा गर्ने हाम्रो वैधानिक व्यवस्था छ। अर्ली महाधिवेशन भनेको अहिलेको वर्तमान सङ्कटलाई टार्नको निम्ति, आन्दोलनको पुनर्जागरण गर्नका निम्ति पार्टीका सबै संरचनाहरूलाई रिफर्म गरेर रिफर्म भएका संरचनाबाट नयाँ महाधिवेशन प्रतिनिधि उहाँहरूको थ्रुबाट हुने महाधिवेशन भनेको अर्ली महाधिवेशन हो। हामी अर्ली महाधिवेशनको पक्षधर हो। विशेष महाधिवेशन आवश्यक छैन।
अर्ली महाधिवेशनका लागि युवाहरू जुट्छन् ?
बिस्तारै जुट्छौँ । कुनै समस्या छैन ।
अहिले एमाले नेतृत्व लिइरहेको केपी शर्मा ओली सचिवालय टिम र अघिल्लो पुस्ताका नेताहरूलाई के भन्न चाहनुहुन्छ ?
उहाँहरूले नेपालको वाम आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई एउटा उचाइमा पुर्याउन संस्थागत गर्न अत्यन्तै ठूलो भूमिका निर्वाह गर्नुभयो। त्यसको निम्ति उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ। उहाँहरूले जुन खालको योगदान पुर्याउनुभयो, त्यो योगदान गरिसकेपछि प्राप्त गर्नुपर्ने सबै खाले उपलब्धिहरू उहाँले प्राप्त गरिसक्नुभयो।
उहाँहरू सबैले शैक्षिक हिसाबले अवकाश लिनुपर्छ। पार्टीमा सल्लाहकारको भूमिकामा रहनुपर्छ। उहाँहरूको मार्ग निर्देशनमा हामी नयाँ युवा साथीभाइहरू सबै पुस्ताबाट पाठ सिकेर उहाँहरूबाट गाइडेड भएर सकारात्मक विचारलाई हामीले आत्मसाथ गरेर पार्टीलाई एउटा ऊर्जावान् शक्तिको रुपमा स्थापित गर्न सक्छौँ । हामी त्यो बाटोमा लाग्छौँ। उहाँहरूलाई सुझाव भनेको सम्मानजनक बिदाइको माध्यमबाट सल्लाहकार कमिटीमा बसिदिन अनुरोध छ।
उसो भए अब युवा पंक्तिले कहिलेसम्म अहिलेको नेतृत्व र टिमलाई पर्खन्छ ?
अब पर्खिने दिन सकियो । प्रक्रिया सुरु भइसकेको छ । सचिवालय बैठक अस्ति बस्यो । अब ८ गते बस्छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाइन्छ। केन्द्रीय कमिटीको बैठकबाट पार्टी रिफर्म हुनुपर्छ । अन्तरिम नेतृत्व स्थापित हुनुपर्छ । त्यो निर्णयमा पार्टी पुग्नुपर्छ भन्ने हाम्रो चाहना हो, इच्छा हो, माग हो ।
अन्तिममा एकपटकको केन्द्रीय कमिटी बैठकसम्म पर्खने हो ?
हो, हामीले केन्द्रीय कमिटी बैठक तत्काल डाक्न दबाब दिइरहेका छौँ ।














प्रतिक्रिया