सुर्खेत- यहाँस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी एकजना महिलासँग माफी मागेको छ।
वीरेन्द्रनगरको सडकमा डालोबाट काफल बेच्दै हिँडेकी महिलालाई नगर प्रहरीले दुर्व्यवहार गरेको घटनामा माफी माग्दै नगर प्रमुख मोहनमाया ढकालले उचित राहत तथा क्षतिपूर्ति दिएकी हुन्।
वीरेन्द्रनगर नगरपालिका कार्यालयमै बोलाएर मेयर ढकालले काफल बेच्दै आएकी महिला धमिला चौलागाईँसँग माफीसहित क्षतिपूर्ति पनि दिएकी हुन् । तर क्षतिपूर्ति रकमबारे केही खुलाइएको छैन ।
नगरपालिकाले बुधबार विज्ञप्ति पनि जारी गर्दै नगर क्षेत्रभित्र सडक पेटी तथा फुटपाथ व्यवस्थापन गर्ने क्रममा वडा नम्बर ६ स्थित सिटी बसपार्क क्षेत्रमा डालामा काफल बेच्दै गरेकी महिला चौलागाईँमाथि नगर प्रहरीले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
नगरपालिकाले घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने बचन दिएको छ। पीडित महिलालाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने निर्णय भएको जानकारी विज्ञप्तिमा दिइएको छ।
घटनापछि सामाजिक सञ्जालमा नगर प्रहरीको व्यवहारको आलोचना भएको थियो। त्यसपछि नगरप्रमुख ढकालले पीडित महिलासँग भेटेर क्षमायाचना गर्दै समस्या समाधानका लागि पहल गरेकी हुन्।नगरपालिकाले गल्ती स्वीकार गर्दै सुधारको प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया