भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म « Khabarhub

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका किरण थापा मगरको जन्म भक्तपुरको सूर्यविनायक–८ सिपाडोलमा २०३३ साल भदौ १४ गते भएको हो । पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगरका सन्तानका रूपमा सामान्य परिवारमा उनको जन्म भएको थियो । 

प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका उनी सानैदेखि सामाजिक गतिविधिमा चासो राख्दै आएको बताउँछन्। विसं २०४७ देखि उनी निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उनले जिल्ला कमिटी उपाध्यक्षको भूमिकामा समेत हुन्। पार्टी संगठनको जिम्मेवारीसँगै स्थानीय जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाएपछि उनको थप राजनीतिक परिचय बनेको हो । 

उनी २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला स्थानीय तहमा जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने क्रममा नगरपालिकाको सामाजिक विकास समितिको संयोजकसमेत बने। 

स्थानीय तहको नेतृत्वका क्रममा उनले सामाजिक सेवा र जनप्रतिनिधिको भूमिकालाई सँगसँगै अघि बढाउने प्रयास गरे । विसं २०७९ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए।

प्रदेशसभा सदस्यको जिम्मेवारीसँगै उनले प्रदेश सरकारमा मन्त्रीको भूमिकासमेत सम्हाले । विसं २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म उनले बागमती प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हाले। 

उनीसँग लामो समयदेखि सामाजिक सङ्घसंस्थामार्फत समुदायसँग जोडिएको अनुभव छ । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनी धार्मिक तथा सामाजिक अभियानमा समेत सक्रिय हुन्छ।

यस्तै, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापतिका रूपमा तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापतिका रूपमा दुई कार्यकाल उनले भूमिका निर्वाह गरेका छन् । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्यका रूपमा समेत काम गरेको उनको अनुभव छ । 

खेलकुद र आर्थिक क्षेत्रमा पनि उनको संलग्नता छ । नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य सङ्घको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबको संरक्षकका रूपमा उनले भूमिका निर्वाह गरेका छन् । सिपाडोल क्षेत्र परोपकार समाज र ‘आफ्नो घर आश्रम’सँग पनि उनी जोडिएका छन् ।

राजनीति, समाज सेवाका साथै उनले आफ्नो निजी व्यवसायलाई समेत अगाडि बढाए। उनका अनुसार निजी व्यवसायबाट ५०० भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन् । युवालाई स्वरोजगार बनाउन तालिम, सहजीकरण र लगानी प्रवर्द्धनमा समेत आफू सक्रिय रहेको उनी बताउँछन् ।

उनले वडाध्यक्षका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा पनि त्यसबाट प्राप्त हुने सुविधा नलिएको बताउँछन्। त्यस सुविधाबापत बचत भएको १५ लाखबराबरको अक्षयकोष स्थापना गरे। सो कोषमा हाल ४० लाख पुगेको उनले बताए। 

विसं २०७२ को विनाशकारी भूकम्प, २०७५ को हनुमन्ते बाढी, उद्धार तथा राहतको कार्यमा उनले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको स्मरण गर्छन्।

यस्तै, कोरोना महामारीका बेला पनि सङ्क्रमित तथा प्रभावित नागरिकका लागि निःशुल्क पिसीआर परीक्षणको व्यवस्था र समन्वयदेखि घरघरमा अक्सिजन तथा औषधि पुर्याउने काममा उनी सक्रिय रहेका थिए । 

प्रदेश सरकारको मुख्यमन्त्रीसम्म आइपुग्दा उनले सामाजिक संस्था, स्थानीय सरकार, प्रदेशसभा र प्रदेश सरकारका विभिन्न जिम्मेवारीमा आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । वडाध्यक्षबाट सुरु भएको उनको राजनीतिक सेवाको यात्रा प्रदेशसभा सदस्य र मन्त्री हुँदै मुख्यमन्त्रीसम्म आइपुगेको छ । 

पार्टीभित्रको सामान्य असन्तुष्टिलाई समाधान गरी मुख्यमन्त्री बनेका थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको दाबी गरिएको छ । उनलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका दललाई साथमा लिएर अघि बढ्नुपर्ने देखिन्छ । साथै, सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारलाई सञ्चालन गरी प्रदेशवासीको चाहनाबमोजिम कार्यसम्पादन गर्नुपर्ने दायित्व पनि उनको काँधमा छ । 
 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १० : १९ बजे

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका