काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले सिसडोल–बञ्चरेडाँडाको फोहोर व्यवस्थापनसम्बन्धी अर्को बैठक त्यहीँ राख्नुपर्ने बताएकी छन्।
सिसडोल–बञ्चरेडाँडाका जनताले दुई दशकदेखि काठमाडौं उपत्यकाको फोहोरका कारण दुर्गन्ध, प्रदूषण र स्वास्थ्यसम्बन्धी समस्या भोग्दै आएको भन्दै उनले समस्या समाधानका लागि कागजमा मात्र छलफल गरेर नहुने बताएकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले आफू निर्वाचित हुँदै गर्दा आफ्नो क्षेत्रमा हुने गैरकानुनी गतिविधि, अवैध खानी तथा प्राकृतिक स्रोतको दोहन, भ्रष्टाचार र जनतामाथि हुने अन्यायविरुद्ध चुप नबस्ने प्रतिबद्धता जनाएको स्मरण गराएकी छन्।
उनले सिसडोल–बञ्चरेडाँडा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भएकाले त्यहाँका जनतामाथि भइरहेको अन्यायलाई सांसदको जिम्मेवारीका रूपमा मात्र नभई आफ्नै परिवारमाथिको पीडाका रूपमा हेरेको बताएकी छन्।
‘मेरो जनतालाई नरकीय जीवन जिउन बाध्य पारेर, फेरि उनीहरूकै समस्या समाधान गर्न खोज्दा मलाई हेपेर बोल्ने, जिम्मेवारीबाट पन्छिने वा बहानाबाजी गर्ने जो कोही होस्, म चुप लागेर बस्नेवाला छैन,’ उनले भनेकी छन्।
तामाङका अनुसार फोहोर व्यवस्थापनका विषयमा भएको बैठकमा आफूहरूले कुनै असम्भव वा अनुचित माग राखेका थिएनन्। उनले विगतमा भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्नुपर्ने, प्रत्येक नगरपालिका तथा स्थानीय तहले आफ्नो कार्ययोजनाअनुसार फोहोर व्यवस्थापनको जिम्मेवारी पूरा गर्नुपर्ने र सम्बन्धित मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्नुपर्ने बताएकी छन्।
त्यस्तै, प्रत्येक स्थानीय तहले आफ्नै क्षेत्रमा ‘वेस्ट सेग्रिगेसन सेन्टर’ स्थापना गरी फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने र डम्पिङ गर्नुपर्ने फोहोर मात्र बञ्चरेडाँडा पठाउनुपर्ने उनको माग छ।
बञ्चरेडाँडामा फोहोरबाट निस्कने दूषित तरल पदार्थ ‘लिचेट’को वैज्ञानिक प्रशोधनका लागि ‘लिचेट ट्रिटमेन्ट सिस्टम’ तत्काल सञ्चालन गरी प्रभावकारी व्यवस्थापन गर्नुपर्ने पनि उनले बताएकी छन्।
तर, सामान्य जिम्मेवारी पूरा गर्ने विषयमा समेत विभिन्न बहाना बनाउने गरिएको भन्दै तामाङले असन्तुष्टि जनाएकी छन्। उनका अनुसार समस्या समाधानका लागि बोलाइएको बैठकमा सम्बन्धित नगरप्रमुखमध्ये २० जनामा ९ जनामात्र उपस्थित भएका थिए।
‘फोहोर काठमाडौं उपत्यकाको, दुर्गन्ध सिसडोल–बञ्चरेडाँडाका जनताको? सुविधा सहरलाई, रोग र पीडा मेरो क्षेत्रका जनतालाई?’ उनले प्रश्न गरेकी छन्।
अब सिसडोल–बञ्चरेडाँडाको समस्या वातानुकूलित कोठामा बसेर कागजमा छलफल गरेर मात्र समाधान नहुने भन्दै उनले अर्को बैठक सिसडोलमै राख्नुपर्ने बताएकी छन्।
‘आउनुहोस्, समस्या जहाँ छ त्यहीँ बसेर कुरा गरौँ। त्यही फोहोरको थुप्रोमाथि बसेर बैठक गरौँ। त्यही दुर्गन्ध सासमा लिएर छलफल गरौँ,’ उनले भनेकी छन्।
सिसडोल–बञ्चरेडाँडाका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको समस्या सम्बन्धित पक्षले एक दिन प्रत्यक्ष महसुस गर्नुपर्ने उनको भनाइ छ।
तामाङले आफ्नो क्षेत्रका जनताको स्वास्थ्य, सम्मान र बाँच्न पाउने अधिकार कुनै ‘बार्गेनिङ प्वाइन्ट’ नभएको बताएकी छन्।
‘मलाई सांसद बनाउने कुर्सीभन्दा ठूलो तपाईंहरूको विश्वास हो। त्यसैले तपाईंहरूसँग गरेको वाचा पूरा गर्न जहाँ बोल्नुपर्छ बोल्छु, जहाँ लड्नुपर्छ लड्छु र जहाँ कडा निर्णय लिनुपर्छ त्यहाँ पछि हट्दिनँ,’ उनले भनेकी छन्।












प्रतिक्रिया