लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न « Khabarhub

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न भएको छ । 

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले रोल्पामा मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए । उनले प्रदेश सरकारले गर्नुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । 

रोल्पामा विपद् भएपछि तत्काल खोज तथा उद्धारमा सक्रियताका साथ काम गरिएको भन्दै मुख्यमन्त्री आचार्यले सुरक्षा निकायका साथै जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक अभियानकर्तालगायत सबैलाई धन्यवाद दिए । 

उनले मनसुन अझै नसकिएकाले भदौको अन्तिमसम्म ठूलो वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सबै सरकारी निकायलाई पूर्वतयारी अवस्थामा बस्न निर्देशन दिए । 

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र प्रतिकार्य योजना प्रभावकारी बनाउन पनि उनले निर्देशन दिए ।

रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट, थवाङ गाउँपालिकामा  १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । सुनछहरी गाउँपालिकामा छ जनाको मृत्यु भएको छ । 

लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक-एक जनाको मृत्यु भएको तथ्याङक प्राप्त भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिए । 

उनका अनुसार चार स्थानीय तहका ११ परिवार विपद्बाट विस्थापित भएका छन् । यसैबीच, आजको बैठकले रोल्पामा सडक र पुल मर्मतका लागि ५० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय गरेको छ । 

रोल्पाको थबाङ गाउँपालिका-५ स्थित उवा खोलामाथिको पुलको एकातर्फी विङवाल (पुलको दुवै छेउमा बनाइने पर्खाल) बाढीले बगाएको, सडकमा ठूलो खाल्डो परेर सडक आवागमन अवरुद्ध भएकाले पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए । 

उनका अनुसार सुलिचौर-थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेकाले सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत उक्त रकम खर्च गरिनेछ ।

बैठकले सुस्तापश्चिमको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान रोक्न तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । 

प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासी-९ बर्दघाट (सुस्तापश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ । 

आज प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार लुम्बिनी प्रदेशमा गत जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन् । 

ती घटनामा ८५ को मृत्यु, १३ घाइते र दुई जना बेपत्ता भएका मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा बढी पानीमा डुबेर ५८ जनाको मृत्यु भएको छ भने पहिरोमा परेर २०, बाढीका कारण चार र चट्याङमा परेर तीन जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : ५४ बजे

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।