कृषिको उत्पादनसँगै बजारीकरणमा जोड दिँदै काभ्रे « Khabarhub

कृषिको उत्पादनसँगै बजारीकरणमा जोड दिँदै काभ्रे


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ ।

कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३-८४ को कार्यक्रम सार्वजनिक गर्दै उत्पादनसँगै प्रविधि, बजार, पूर्वाधार र कृषकको आम्दानी वृद्धिलाई प्राथमिकतामा राखिएको हो ।

आर्थिक वर्ष २०८२-८३ मा जिल्लामा वर्षे धान १० हजार २१० हेक्टरमा ३९ हजार ५१३ मेट्रिक टन, चैते धान ८५५ हेक्टरमा तीन हजार ८५० मेट्रिक टन, मकै २६ हजार १२० हेक्टरमा ९४ हजार १२० मेट्रिक टन र गहुँ आठ हजार २५० हेक्टरमा २३ हजार ९२५ मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी, आलु १० हजार १०० हेक्टरमा दुई लाख नौ हजार ७० मेट्रिक टन, तरकारी ११ हजार ३२५ हेक्टरमा एक लाख ९३ हजार ६५८ मेट्रिक टन, सुन्तला एक हजार २६४ हेक्टरमा सात हजार ६८० मेट्रिक टन, कागती ६२२ हेक्टरमा चार हजार ९१४ मेट्रिक टन, किवी ८५ हेक्टरमा ५२७ मेट्रिक टन र कफी २८५ हेक्टरमा ६२ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । 

जिल्लामा विभिन्न खाद्यान्न बालीको कुल उत्पादन एक लाख ५८ हजार ५९१ मेट्रिक टन रहेकामा प्रशोधन तथा अन्य प्रयोजनपछि खुद उपभोग्य खाद्यान्न ६२ हजार ३२० मेट्रिक टन रहेको छ ।

जिल्लाको वार्षिक आवश्यकता ७२ हजार ५९१ मेट्रिक टन रहेकाले १० हजार २७० दशमलव २७ मेट्रिक टन अपुग देखिएको छ । बीउ उत्पादनमा समेत आवश्यकता र उत्पादनबीच ठूलो अन्तर देखिएको कार्यालयले जनाएको छ ।

धानको आवश्यक बीउ ४७४ दशमलव ६ मेट्रिक टन रहेकामा उत्पादन ६६ मेट्रिक टन, गहुँको आवश्यकता ८२२ दशमलव आठ मेट्रिक टन रहेकामा उत्पादन चार मेट्रिक टन र मकैको आवश्यकता ५०६ दशमलव ७६ मेट्रिक टन रहेकामा उत्पादन १७ मेट्रिक टन छ ।

स्थानीय उत्पादनको बजारीकरणका लागि बनेपा र धुलिखेलमा साप्ताहिक हाटबजार सञ्चालन तथा महाभारत, खानीखोला र भुम्लुमा कफीका नर्सरी तथा नमूना बगैँचा स्थापना गरिएको छ ।

पाँचखाल, बनेपा, पनौती र बेथानचोकमा संरक्षित संरचनामा तरकारी खेती विस्तार गरिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८३-८४ का लागि कार्यालयले रु पाँच करोड ५५ लाख ८६ हजारको कुल बजेट प्राप्त गरेको छ । जसमध्ये कार्यक्रमतर्फ रु तीन करोड ७५ लाख ६९ हजार विनियोजन गरिएको छ । 

साना सिँचाइका २२ आयोजनाका लागि ५६ लाख, कफी प्रवर्द्धन तथा क्षेत्र विस्तारका लागि २० लाख, व्यावसायिक तरकारी खेतीका लागि ४० लाख, ३५ वटा जीविकोपार्जन कार्यक्रमका लागि ३५ लाख र पाँच वटा समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ ।

कार्यक्रमअन्तर्गत उन्नत बीउ तथा बिरुवा, सुरक्षित विषादी, नर्सरी, प्लास्टिक घर, ग्रीन हाउस तथा सेमी हाइटेक संरचना, सिँचाइ, कृषि यान्त्रिकीकरण, संकलन केन्द्र, भण्डारण तथा प्रशोधन, बजारीकरण, माटो परीक्षण, कृषक तालिम तथा बाली बीमालगायतका गतिविधिमा सहयोग गर्ने योजना  छ ।

कार्यालयले धानमा ‘ड्राइ प्यानिकल’, सुन्तला जात फलफूलमा फल झर्ने, मकैमा दाना नलाग्ने तथा गोलभेँडामा फ्युजारियम विल्ट, पिथ नेक्रोसिस र टोमेटो ब्राउन रुगोज फ्रुट भाइरसजस्ता समस्या पहिचान गरी व्यवस्थापनका लागि समन्वय गरिएको जनाएको छ ।

केरामा भाइरस तथा कफीमा ह्वाइट बोरर र कफी रस्टको समस्या पहिचान भएको कार्यालयले जनाएको छ ।

‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयनमा लागत साझेदारी, स्थानीय तहको भूमिका र प्राविधिक उपयुक्तताबारे स्पष्टता आवश्यक रहेको कार्यालयले जनाएको छ । 

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले कृषि क्षेत्रका कार्यक्रम उत्पादन बढाउने मात्र नभई नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले कृषि उत्पादनलाई आधुनिक प्रविधि, बजार र कृषकको आम्दानीसँग जोडेर अघि बढाउनुपर्ने बताए । उत्पादन बढे पनि उचित बजार, भण्डारण, प्रशोधन तथा मूल्य प्राप्ति सुनिश्चित नभए कृषकले अपेक्षित लाभ लिन नसक्ने भएकाले उत्पादनदेखि बजारीकरणसम्मको मूल्य शृङ्खलामा ध्यान दिनुपर्ने दवाडीको भनाइ छ ।

कार्यक्रम सार्वजनिक तथा प्रगति समीक्षा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, कृषि क्षेत्रका सरोकारवाला तथा कृषकको सहभागितो थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : २८ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको