अस्वीकृति र अपमान चिर्दै बलिउडमा उदाएकी विद्या बालन « Khabarhub

अस्वीकृति र अपमान चिर्दै बलिउडमा उदाएकी विद्या बालन

६० भन्दा बढी स्क्रिन टेस्टपछि खुल्यो बलिउडको ढोका



बलिउडमा कुनै समय यस्तो थियो, जहाँ अभिनेत्रीको अभिनय क्षमताभन्दा उनको रूपरङ्ग र परम्परागत ‘हिरोइन’ छविलाई बढी महत्त्व दिइन्थ्यो । पर्दामा कस्तो देखिन्छिन् भन्ने आधारमा अभिनेत्रीको भविष्य निर्धारण गरिन्थ्यो । तर, यही सोचलाई आफ्नो अभिनयले चुनौती दिने अभिनेत्री हुन् विद्या बालन ।

आज महिलाप्रधान फिल्मको चर्चा हुँदा अग्रपङ्क्तिमा आउने उनको करियरको सुरुवात भने प्रशंसा र अवसरबाट होइन, अपमान, अस्वीकृति र निराशाबाट भएको थियो ।

कुनै समय उनलाई अशुभ भन्दै करिब १२ वटा फिल्मबाट निकालिएको थियो । एक निर्माताले त उनको रूपमाथि नै प्रश्न उठाउँदै ‘के उनी हिरोइनजस्ती देखिन्छिन् र ?’ भनेर अपमान गरेका थिए ।

त्यो टिप्पणीले विद्यालाई यति गहिरो चोट पुर्‍यायो कि उनी करिब ६ महिनासम्म ऐनामा आफ्नो अनुहार हेर्नसमेत सकिनन् । तर, आज त्यही अभिनेत्री बलिउडमा महिलाप्रधान फिल्मको बलियो पहिचान बनेकी छन् ।

‘कहानी’, ‘द डर्टी पिक्चर’, ‘तुम्हारी सुलु’ र ‘शेरनी’ जस्ता फिल्मले उनको अभिनय क्षमता मात्र होइन, महिला पात्रलाई केन्द्रमा राखेर पनि फिल्म सफल बनाउन सकिन्छ भन्ने प्रमाणित गरेका छन् ।

सानैदेखि अभिनेत्री बन्ने सपना

सन् १९७९ जनवरी १ मा मुम्बईमा जन्मिएकी विद्याको परिवार मूल रूपमा केरलाको पलक्कडको हो । उनका पिता पीआर बालन कर्पोरेट क्षेत्रमा कार्यरत थिए भने आमा सरस्वती बालन गृहिणी हुन् ।

मुम्बईको चेम्बुरमा हुर्किएकी विद्यालाई सानैदेखि अभिनयमा रुचि थियो । माधुरी दीक्षित र शबाना आजमीबाट प्रभावित उनी आठ वर्षको उमेरमा फिल्म ‘तेजाब’ हेरेपछि अभिनेत्री बन्ने सपनामा अझ दृढ भएकी थिइन् ।

उनले सेन्ट एन्थोनी गर्ल्स हाई स्कुलबाट विद्यालय तहको शिक्षा पूरा गरिन् । त्यसपछि सेन्ट जेभियर्स कलेजबाट समाजशास्त्रमा स्नातक र मुम्बई विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् । पढाइसँगै अभिनयमा पनि रुचि राख्ने उनले १६ वर्षको उमेरमै टेलिभिजनबाट आफ्नो यात्रा सुरु गरिन् ।

सन् १९९५ मा एकता कपुरको चर्चित कमेडी शो ‘हम पाँच’ मा राधिका माथुरको भूमिका निर्वाह गर्ने अवसर उनले पाइन् । चस्मा लगाउने र शान्त स्वभावकी युवतीको भूमिकामा देखिएकी विद्यालाई दर्शकले रुचाए । तर, अभिनय र पढाइलाई एकसाथ अघि बढाउन कठिन भएपछि उनले शो छाडिन् । त्यसपछि विज्ञापन क्षेत्रमा प्रवेश गरेकी उनले करिब ६० वटा विज्ञापनमा काम गरिन् । यसै क्रममा निर्देशक प्रदीप सरकारसँग उनको चिनजान भयो । विज्ञापनसँगै उनले विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरिन् ।

फिल्ममा प्रवेश नहुँदै लाग्यो ‘अशुभ’ को आरोप

टेलिभिजन र विज्ञापनमा पहिचान बनाउँदै गरेकी विद्याको सपना भने ठूलो पर्दामा देखिने थियो । यही क्रममा उनलाई मलयालम फिल्म ‘चक्रम’ मा काम गर्ने अवसर मिल्यो । फिल्ममा दक्षिण भारतीय चर्चित अभिनेता मोहनलाल पनि मुख्य भूमिकामा रहने तय भएको थियो । छायांकनसमेत सुरु भयो । तर, निर्माणसम्बन्धी समस्याका कारण फिल्म बीचमै रोकियो ।

फिल्म रोकिएपछि यसको दोष विद्यामाथि थोपरियो । फिल्म उद्योगका केही व्यक्तिले उनलाई अशुभ भन्न थाले । त्यसपछि उनले एकपछि अर्को फिल्म गुमाउनुपर्‍यो । विभिन्न अन्तर्वार्तामा उनले बताएअनुसार, यस अवधिमा उनलाई करिब एक दर्जन तमिल र मलयालम फिल्मबाट हटाइएको थियो ।

तमिल फिल्म ‘रन’ मा अभिनेता आर. माधवनसँग काम गर्ने अवसर पाएकी विद्यालाई छायांकनको केही काम भइसकेपछि हटाइयो । उनको ठाउँमा अभिनेत्री मीरा जैस्मिनलाई लिइयो । त्यस्तै, ‘मनसेल्लम’ मा पनि सुरुमा छनोट भएकी उनी पछि हटाइइन् र उनको स्थानमा त्रिशालाई लिइयो । उनले अभिनय गरेको मलयालम फिल्म ‘कलारी विक्रमन’ समेत प्रदर्शनमा आउन सकेन ।

एउटा टिप्पणीले ६ महिनासम्म ऐना हेर्न सकिनन्

विद्याका लागि फिल्म गुमाउनु मात्र पीडादायी थिएन, उनको रूपरङ्गलाई लिएर गरिएका टिप्पणीले झन् निराश बनाएको थियो । एक अन्तर्वार्तामा उनले एक तमिल फिल्मका निर्माताले आफूलाई भेट्नसमेत अस्वीकार गरेको अनुभव सुनाएकी थिइन् ।

पछि ती निर्माताले उनको कुण्डली देखाएर आफूलाई अशुभ ठहर गरेको कुरा उनले थाहा पाइन् । यसपछि उनी आफ्ना आमा–बुवासँग चेन्नई पुगेर निर्मातालाई भेट्न गइन् । तर, त्यहाँ पनि उनले अपमान सहनुपर्‍यो । निर्माताले उनलाई देखाउँदै ‘के उनी हिरोइनजस्ती देखिन्छिन् र ?’ भन्दै प्रश्न गरेका थिए ।

यो घटनाले विद्याको आत्मविश्वासमा गहिरो असर पार्‍यो । उनको भनाइअनुसार, त्यसपछि करिब ६ महिनासम्म उनले ऐनामा आफ्नो अनुहार हेर्नसमेत सकिनन् । लगातारको अस्वीकृति र अपमानले अभिनय छाड्ने सोचसमेत नआएको होइन । तर, परिवारको साथ र अभिनयप्रतिको लगावले उनलाई हार मान्न दिएन ।

यही समयमा एक पत्रकारले उनलाई आफूलाई लागेको ‘अशुभ’ को आरोप हटाउन कुनै ठूलो ब्यानरको फिल्ममा अनुबन्ध भएको झुटो समाचार प्रकाशित गराउने सुझाव दिएका थिए । तर, विद्याले आफ्नो करियर झुटो प्रचारबाट होइन, प्रतिभाबाट बनाउन चाहिन् ।

६० भन्दा बढी स्क्रिन टेस्टपछि खुल्यो बलिउडको ढोका

दक्षिण भारतीय फिल्ममा निरन्तर असफलता भोगेपछि विद्याले फेरि विज्ञापन र म्युजिक भिडियोमा काम गर्न थालिन् । यस अवधिमा निर्देशक प्रदीप सरकार उनको अभिनय क्षमतामा विश्वास गर्ने व्यक्तिका रूपमा उभिए । विशेषगरी युफोरियाको म्युजिक भिडियो ‘कभी आना तू मेरी गली’ मा उनको अभिनयबाट प्रभावित भएका प्रदीपले उनलाई बलिउडमा अवसर दिलाउने प्रयास गरे ।

उनले फिल्म ‘परिणीता’ का लागि विद्यालाई मुख्य भूमिकामा छनोट गरे । तर, निर्माता विधु विनोद चोपडा भने सुरुवातमा उनको छनोटप्रति विश्वस्त थिएनन् । स्थापित अभिनेत्रीलाई लिनुपर्ने उनको सोच थियो । आफ्नो क्षमता प्रमाणित गर्न विद्याले ६० भन्दा बढी स्क्रिन टेस्ट दिनुपरेको बताएकी छन् ।

‘परिणीता’ का लागि विद्यालाई मुख्य भूमिकामा छनोट गरे । तर, निर्माता विधु विनोद चोपडा भने सुरुवातमा उनको छनोटप्रति विश्वस्त थिएनन् । स्थापित अभिनेत्रीलाई लिनुपर्ने उनको सोच थियो । आफ्नो क्षमता प्रमाणित गर्न विद्याले ६० भन्दा बढी स्क्रिन टेस्ट दिनुपरेको बताएकी छन् ।

अन्ततः सन् २००५ मा प्रदर्शन भएको ‘परिणीता’ उनको करियरको निर्णायक फिल्म बन्यो । फिल्ममा ललिताको भूमिका निर्वाह गरेकी विद्याको अभिनयले दर्शक र समीक्षक दुवैको मन जित्यो । यसै फिल्मबाट उनले उत्कृष्ट महिला डेब्यू विधामा फिल्मफेयर अवार्डसमेत हात पारिन् । लामो समय अवसरको खोजीमा भौँतारिएकी उनका लागि यो सफलता बलिउडमा नयाँ पहिचान बनाउने सुरुवात थियो ।

‘द डर्टी पिक्चर’ र ‘कहानी’ ले बदल्यो उनको परिचय

‘परिणीता’ पछि विद्याले ‘लगे रहो मुन्नाभाई’, ‘गुरु’, ‘सलाम-ए-इश्क’, ‘हे बेबी’ र ‘भूल भुलैया’ जस्ता फिल्ममा काम गरिन् । सन् २००९ मा आएको ‘पा’ मा अमिताभ बच्चनकी आमाको भूमिका निर्वाह गरेर उनले आफ्नो अभिनयको अर्को पक्ष देखाइन् । यस फिल्मका लागि उनले उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड जितिन् ।

तर, उनको करियरलाई नयाँ उचाइ दिने फिल्म बने ‘इश्किया’, ‘द डर्टी पिक्चर’ र ‘कहानी’ । ‘इश्किया’ मा विधवा महिलाको फरक चरित्र निर्वाह गरेकी विद्याले दर्शकलाई आफ्नो अभिनयबाट प्रभावित पारिन् । त्यसपछि सन् २०११ मा प्रदर्शन भएको ‘द डर्टी पिक्चर’ मा दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताबाट प्रेरित पात्रको भूमिका निर्वाह गरिन् । बोल्ड र चुनौतीपूर्ण चरित्रमा उनको अभिनयले व्यापक चर्चा पायो । यही फिल्मका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार जितिन् ।

सन् २०१२ मा आएको ‘कहानी’ ले भने उनलाई महिलाप्रधान फिल्मको सबैभन्दा बलियो अभिनेत्रीमध्ये एकका रूपमा स्थापित गर्‍यो । गर्भवती महिलाको भेषमा आफ्नो हराएको श्रीमान् खोज्दै हिँड्ने विद्या बागचीको भूमिकामा उनले उत्कृष्ट अभिनय गरिन् । फिल्मको कथा र विद्याको अभिनय दुवैले दर्शकको ठूलो प्रशंसा पाए ।

त्यसपछि ‘बबी जासुस’, ‘हमारी अधुरी कहानी’, ‘कहानी २’, ‘तुम्हारी सुलु’, ‘शकुन्तला देवी’, ‘शेरनी’ र ‘जलसा’ जस्ता फिल्ममा उनले फरक–फरक चरित्र निर्वाह गरिन् । ‘तुम्हारी सुलु’ मा गृहिणीबाट रेडियो जकी बन्ने महिलाको भूमिका होस् वा ‘शेरनी’ मा वन अधिकारीको चरित्र, उनले हरेक भूमिकामा आफ्नो अभिनय क्षमता देखाइन् । सन् २०२४ मा प्रदर्शन भएको ‘भूल भुलैया ३’ मा मञ्जुलिकाको भूमिकामा फर्किएर पनि उनले दर्शकको ध्यान खिचिन् ।

अशुभ भनिएकी अभिनेत्रीलाई पद्मश्रीसम्मको सम्मान

अभिनयमा पुर्‍याएको योगदानका लागि विद्याले राष्ट्रिय चलचित्र पुरस्कार, फिल्मफेयरलगायत थुप्रै प्रतिष्ठित सम्मान प्राप्त गरेकी छन् । ‘द डर्टी पिक्चर’ का लागि सन् २०१२ मा राष्ट्रिय चलचित्र पुरस्कार जितेकी उनलाई भारत सरकारले सन् २०१४ मा पद्मश्रीबाट सम्मानित गरेको थियो ।

कुनै समय उनको रूपरङ्ग र भाग्यलाई लिएर प्रश्न उठाउनेहरू आज उनको अभिनय क्षमताको प्रशंसा गर्छन् । करिब १२ फिल्मबाट निकालिनु, अपमान सहनु र लामो समय अवसर नपाउनु उनका लागि करियर अन्त्य हुने कारण बन्न सक्थ्यो । तर, विद्याले त्यही अस्वीकृतिलाई आफ्नो शक्ति बनाइन् ।

आज बलिउडमा महिलाप्रधान फिल्मको चर्चा हुँदा उनको नाम छुटाउन सकिँदैन । उनले केवल सफल अभिनेत्रीको पहिचान बनाएकी छैनन्, महिला पात्रलाई कथाको केन्द्रमा राखेर पनि दर्शकको साथ र व्यावसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेकी छन् । कुनै समय ‘हिरोइनजस्ती नदेखिने’ टिप्पणी खेपेकी विद्या आज आफ्नो अभिनयकै कारण बलिउडमा अलग स्थान बनाउन सफल भएकी छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ९ : ३९ बजे

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोजपुर– भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका

अस्वीकृति र अपमान चिर्दै बलिउडमा उदाएकी विद्या बालन

बलिउडमा कुनै समय यस्तो थियो, जहाँ अभिनेत्रीको अभिनय क्षमताभन्दा उनको

पर्यटकको आकर्षण बन्दै वेदकोट ताल र बैजनाथ बाबा मन्दिर (तस्बिरहरू) 

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित वेदकोट ताल र ऐतिहासिक बैजनाथ

शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र पीडितलाई न्याय दिन प्रचण्डको आग्रह

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति

ट्रम्पले उठाए अमेरिकी ब्याजदरमाथि प्रश्न, के भने ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आर्थिक वृद्धिदरको उदाहरण दिँदै