एजेन्सी– मध्य पेरुमा शुक्रबार बिहान ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट अहिलेसम्म मानवीय तथा ठूलो भौतिक क्षति भएको विवरण प्राप्त नभए पनि केही पहाडी क्षेत्रमा पहिरो गएको र चट्टान खसेको खबर छ ।
पेरुको भूभौतिक संस्थानका अनुसार स्थानीय समयअनुसार बिहान ७ः०९ बजे जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जमिनको १२९ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का राजधानी लिमा, हुआनुको र कालाओ क्षेत्रमा समेत महसुस गरिएको थियो ।
राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा निगरानी जारी राखेको जनाएको छ । भूकम्पपछि स्थानीय बासिन्दा घर तथा भवनबाट बाहिर निस्केर सडकमा भेला भएका तस्बिर सार्वजनिक भएका छन् ।
पेरुको भूभौतिक संस्थानका अध्यक्ष हर्नान्डो तावेराले भूकम्पको कम्पन निकै तीव्र भए पनि तत्काल मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताएका छन् । उनका अनुसार पहाडी क्षेत्रमा पहिरो गएको र चट्टान खसेको छ ।
पेरु भूकम्पीय जोखिम उच्च रहेको प्रशान्त महासागरीय क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा पर्दछ । भूकम्पविद्हरूका अनुसार पेरुमा हरेक वर्ष कम्तीमा ४०० भूकम्प जाने गरेका छन् ।
यसअघि गत जुलाईमा जुनिन क्षेत्रमा ५.१ म्याग्निच्युडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त भूकम्पमा ५२ घर पूर्ण रूपमा ध्वस्त भएका थिए ।














प्रतिक्रिया