काठमाडौँ – नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्ने भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) निलम्बन फुकुवासँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को तहगत निर्वाचन गराउन सहमत भएको बताएका छन् ।
थाइल्यान्डमा फिफा र एएफसीका उच्च पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफाले आगामी डिसेम्बरमा निर्वाचनको मोडालिटीसहितको प्रस्ताव र कार्ययोजना (रोडम्याप) पठाउने जानकारी दिए ।
उनका अनुसार एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम समिति गठन गरेर अघि बढ्ने भन्ने विषयमा भने सहमति जुट्न बाँकी छ ।
मन्त्री पोखरेलले नेपाली फुटबलमा सरकारी हस्तक्षेप भएको फिफाको बुझाइलाई स्पष्ट पार्दै नेपालको कानुन र राज्यको अधिकारबारे जानकारी गराएपछि फिफा सकारात्मक बनेको बताए ।
सरकारले देशको कानुनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्ने र फुटबलको आन्तरिक व्यवस्थापनमा अनावश्यक हस्तक्षेप नगर्ने स्पष्ट पारेको उनको भनाइ छ ।
थाइल्यान्डमा आयोजित एएफसी अवार्ड समारोहमा सहभागी हुन पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए । सोही क्रममा उनले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए ।














प्रतिक्रिया