काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणको उपाधिका लागि आज शनिबार साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने यस फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । यस भिडन्तलाई दुबै टिमका कप्तानहरु रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।
लगातार तेस्रो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि शुक्रबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।
यसपटक टोली पहिलो उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । यता, मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै लगातार दोस्रो पटक फाइनल खेल्ने अवसर पाएको साविक विजेता लुम्बिनी भने उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन् । लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताए । उनका अनुसार टोलीले तीन दिनको विश्राममध्ये दुई दिन आराम र एक दिन अभ्यासमा बिताएको थियो ।
लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र जितको लय कायम राखेको भए पनि फाइनलमा त्यसले मात्र नतिजा निर्धारण नगर्ने पौडेलको भनाइ छ । क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनले बताए ।
एनपीएलमा सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेको भए पनि उसलाई कमजोर आँक्न नहुने पौडेलले स्पष्ट पारे । सुदूरपश्चिम बलियो प्रतिद्वन्द्वी भएकाले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।
लगातार दोस्रोपटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको सफलताका रूपमा लिएको बताउँदै पौडेलले फाइनलसम्म आइपुग्न सबै खेलाडीले मिहिनेत गरेकाले उपाधि जित्नु टोलीका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
यस्तै, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले लुम्बिनीको बलियो बलिङ आक्रमणलाई फाइनलको मुख्य चुनौतीका रूपमा लिएको उल्लेख गरे । फाइनलका लागि टोलीको तयारी राम्रो भइरहेको बताउँदै ऐरीले लुम्बिनीको बलिङ सामना गर्ने रणनीतिमा विशेष ध्यान दिइएको जानकारी दिए ।
जारी प्रतियोगितामा विदेशी खेलाडी आउने र जाने क्रमले टोलीको संयोजनमा परिवर्तन गर्नुपरेको र विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी भित्र्याउनुपर्ने अवस्थाले ब्याटिङ क्रम व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ थियो ।














प्रतिक्रिया