काठमाडौं- नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भारतसँगको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन प्रधानमन्त्रीले निजी क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् ।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा नेपाल–भारत व्यापार विस्तार, पारवहन सुविधा, निर्यात प्रवद्र्धन तथा निजी क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए ।
उनले नेपालको कुल वैदेशिक व्यापारको झन्डै ६० प्रतिशत भारतसँग रहेकाले व्यापार घाटा न्यूनीकरण गर्न भारतसँगको व्यापार सम्झौता पुनरावलोकन गर्नुपर्ने बताए । उनले हाल ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै निर्यात गर्न सकिने व्यवस्थालाई घटाएर २० प्रतिशतमा झार्न सके निर्यात बढ्ने धारणा राखे ।
कृषिजन्य वस्तुको निर्यात प्रवद्र्धनका लागि दुई देशबीच सहज व्यापार पहुँच, सीमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका क्वारेन्टाइन प्रयोगशाला स्थापना तथा एकीकृत जाँच चौकी नर्माणलाई तीव्रता दिनुपर्नेमा पनि उनले जोड दिए ।
अग्रवालले नेपाल–भारतबीच क्रस बोर्डर डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उनले भारतीय बजारमा नेपालीले क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरे ।














प्रतिक्रिया