काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ४ जना पूर्व प्रधानमन्त्री प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा उत्रिएका छन् ।
चुनावी मैदानमा उत्रिएका पूर्व प्रधानमन्त्रीहरू मध्ये नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका सहसंयोजक माधवकुमार नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई छन् ।
पूर्व प्रधानमन्त्री ओली, नेपाल र भट्टराईले विगतदेखि नै लड्दै आएको निर्वाचन क्षेत्रलाई नै रोजेका छन् भने प्रचण्ड भने यसपटक रुकुम पूर्व पुगेका छन् । तर, भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले बदलेको राजनीतिक शक्ति सन्तुलनले भने पूर्व प्रधानमन्त्रीहरूको जित हारको सम्भावनालाई पनि बदल्न सक्ने देखिएको छ ।
कसको अवस्था कस्तो ?
केपी ओली
पूर्व प्रधानमन्त्री केपी ओलीले यसभन्दा अघि झापा जिल्लाबाट नै ५ पटक प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रतिस्पर्धा गरिसकेका छन् । जसमा उनी ०४८, ०५१, ०५६, ०७०, ०७४ र ०७९ सालमा झापाबाट नै निर्वाचित भएका थिए भने ०६४ सालको निर्वाचनमा माओवादीका उम्मेदवारसँग हार व्यहोरेका थिए ।
फागुन २१ मा हुने निर्वाचनमा ओलीले लड्दै आएको झापाको निर्वाचन क्षेत्रमा यसपटक भने रोचक भिडन्त हुने देखिएको छ । यस पटकको निर्वाचनमा सो क्षेत्रमा काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र साह ‘बालेन’ ले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ओलीसँग प्रतिस्पर्धा गर्ने गरी मैदानमा उत्रिएका छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका युवा नेता रञ्जित तामाङले पनि सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । त्यस्तै, कांग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मीप्रसाद संग्रौलालाई मैदानमा अघि सारेको छ ।
राष्ट्रिय राजनीति र पार्टी राजनीतिमा बलियो प्रभाव जमाउँदै आएका ओलीलाई यस पटकको निर्वाचनमा जित हासिल गर्न सहज नहुने प्रारम्भिक संकेत देखा परेको छ ।
०७९ मंसिरमा भएको निर्वाचनमा ओली राप्रपाको समर्थनमा ५२ हजार ३१९ मत ल्याएर विजयी भएका थिए । सो निर्वाचनमा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले गठबन्धन दलको समर्थनमा २३ हजार ७४३ र रास्वपाका उम्मेदवार सुरेशकुमार पोख्रेलले ११ हजार ७५९ मत ल्याएका थिए ।
यस पटकको निर्वाचनमा कुनै पनि दलबीचमा गठबन्धन भएको छैन । सो निर्वाचन क्षेत्रमा राप्रपाको पनि राम्रो जनमत रहेको छ, जुन मत यसपटक ओलीले प्राप्त गर्ने आधार बनेको छैन ।
साथै, बालेनले मंगलबार उम्मेदवार दर्ता गर्ने क्रममा देखाएको शक्ति प्रदर्शनले पूरै एमालेलाई झस्काइदिएको छ । त्यतिमात्रै होइन, कांग्रेसको दमक नगर सभापति र एमाले निकट युवा संघ दमकका अध्यक्ष पनि बालेनको समर्थनमा देखिएका छन् । चुनावी माहौल र बद्लिएको शक्ति सन्तुलनले ओलीले आफ्नो विरासत जोगाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न खडा गरेको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
सबै संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गरिरहने प्रचण्ड यस पटकको निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुमपूर्व माओवादी सशस्त्र युद्धको आधार क्षेत्र रहेको र ०६४ साल यताका सबै निर्वाचनमा माओवादीले जित हासिल गर्दै आएको क्षेत्र हो ।
०७९ सालमा सो निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत ल्याएर विजयी भएका थिए । उनको प्रतिस्पर्धी रहेका एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत ल्याएका थिए भने अन्य स्वतन्त्र उम्मेदवार र पार्टीहरूको मत एक हजार कट्न सकेको थिएन ।
थोरै मतदाता रहेको रुकुम पूर्वमा प्रचण्ड उम्मेदवारको रूपमा गइसकेपछि एमालेका पूर्वअध्यक्ष सहितको ठूलो टोलीले उनको चुनावी अभियानलाई विज्ञप्ति नै निकालेर समर्थन गरेको छ । साथै उनले आफ्नो बलियो नेता तथा कार्यकर्ताको टोली पनि रणनीतिक ढंगले चुनावी मैदानमा उतारेका छन् ।
पुरानो आधार राम्रो रहेको र चुनावी सन्तुलन मिलाउन माहिर रहँदै आएका प्रचण्डले भने यसपटक पनि चुनावी जित सहज निकाल्न सक्ने धेरैले अनुमान गरेका छन् ।
बाबुराम भट्टराई
माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ सालमा भएको संविधान सभा निर्वाचनमा भट्टराईले देशभरीमै गोर्खा २ बाट सबैभन्दा बढी मतान्तरसहित विजयी हासिल गरेका थिए । त्यसयता भएका निर्वाचनमध्ये भट्टराई ०७९ सालको निर्वाचनमा उम्मेदवार बनेनन् भने ०७० र ०७४ को निर्वाचनमा पनि राम्रो मत ल्याएर निर्वाचित भएका थिए ।
यस पटकको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका भट्टराईले अन्तिम समयमा आएर गोर्खा २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् । राष्ट्रिय राजनीतिमा परिचित भएको भए पनि राजनीतिक अस्थिरताको कारणले पछिल्लो समयमा उनी सांगठनिक रूपमा उनी शक्तिहीन बन्न पुगेका छन् ।
गोर्खा माओवादी सशस्त्र युद्धको राम्रो प्रभाव भएको र शान्तिप्रक्रियापछिको चुनावी राजनीतिमा पनि राम्रो प्रभाव क्षेत्र रहेको ठाउँ हो । ०७९ सालमा भएको निर्वाचनमा गोर्खा २ बाट भट्टराई र कांग्रेसको समर्थनमा प्रचण्ड २६ हजार १०९ मत ल्याएर विजयी भएका थिए । सो निर्वाचनमा प्रतिस्पर्धीहरू रास्वपाका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले १२ हजार ६३९ र एमालेका अब्दुस सलाम मियाले ७ हजार ३९५ मत ल्याएका थिए ।
यस पटकको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट प्रकाशचन्द्र दवाडीलाई कांग्रेसले, मिलन गुरुङ (चक्रे मिलन)लाई एमालेले, लेखनाथ न्यौपानेलाई नेकपाले र कबिन्द्र बुर्लाकोटीलाई रास्वपाले चुनावी मैदानमा अघि सारेको छ । विगतको मतको आधारमा हेर्दा बाबुराम, नेकपा र रास्वपाबीच तीब्र मत प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
जसले गर्दा पार्टी राजनीतिमा झण्डै शक्तिहीन अवस्थामा पुगिसकेका बाबुराम भट्टराईले यसपटक विजयी हासिल गर्न सक्छन् भनेर भन्न सकिने अवस्था देखिँदैन ।
माधव नेपाल
पूर्व प्रधानमन्त्री माधव नेपाल यसपटक पनि आफ्नै गृहजिल्ला रौतहट १ बाट चुनावी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट मैदानमा उत्रिएका छन् । सो निर्वाचन क्षेत्रबाट उनी ०५६ को आम चुनाव, ०७० को दोस्रो संविधानसभा र ०७९ को निर्वाचनमा विजयी भएका थिए ।
०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी सो निर्वाचन क्षेत्रबाट माओवादी उम्मेदवारसँग पराजित भएका थिए । ०७९ को निर्वाचनमा नेपालले कांग्रेस र माओवादी केन्द्रको समर्थनमा ३३ हजार ५२२ मत ल्याएर जित हात पारेका थिए ।
सो निर्वाचनमा उनका प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ र जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका थिए । तर, अन्य उम्मेदवारहरूको मत भने एक हजार भन्दा तल रहेको थियो ।
यस पटकको निर्वाचनमा नेपालले आफ्नै पार्टी जनाधारमा जित हासिल गर्नुपर्ने हुन्छ । नेपाल सद्भावना पार्टीका बलिया पात्र अनिलकुमार झा आफ्नो पार्टीलाई कांग्रेसमा विजय गराएर सो क्षेत्रमा उम्मेदवार बनेका छन् भने पुरानै प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता पनि मैदानमा छन् ।
साथै, यस पटकको चुनावमा रास्वपाले पनि मधेशमा आफ्नो माहौल तयार गर्दै सो क्षेत्रबाट राजेश चौधरीलाई अघि सारेको छ ।
०७९ सालको चुनावको नतिजाको आधारमा हेर्दा गठबन्धन नभएको अवस्थामा नेपाललाई एमाले नै भारी पर्नसक्ने देखिन्छ भने कांग्रेस लगायत अन्य दलको पनि उपस्थितिले नेपाललाई चुनावी प्रतिस्पर्धाको चुनौती थप बढेको भनेर भन्न सकिन्छ ।













प्रतिक्रिया