‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’ « Khabarhub

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

जनमतको सम्मान गरेर काम गर्न रास्वपालाई सुझाव



काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्। गत फागुन २१ को निर्वाचनमा आफू र पार्टी दुवैले नराम्रोसँग हार व्यहोरेपछि उनले राजीनामा दिए । पुसमा भएको विशेष महाधिवेशनपछि कांग्रेस २.० बनाएको भन्दै चुनावमा गएका गगन आफैं सर्लाही क्षेत्र नम्बर ४ मा पराजित भए । उता कांग्रेस पनि इतिहासमै सानो अर्थात् ३८ सिटमा खुम्चियो।

ठ्याक्कै कांग्रेसकै दसा अहिले एमालेको भएको छ। एमाले अहिले केबल २५ सिटमा खुम्चिएर तेस्रो भएको छ। एमालेभित्र नेतृत्व फेर्ने बहस चलिरहँदा उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ त्यसलाई बेतुकको भन्छन्  । एमालेको एघारौँ महाधिशेनमा अध्यक्ष केपी शर्मा ओ‌लीकै प्यानलबाट विजयी उनी वर्तमान नेतृत्वकै रक्षा गर्नुपर्ने बताउँछन् । अध्यक्ष ओलीको बचाउमा रहेका उनीसँग फागुन २१ को चुनावपछि एमालेको अवस्था, देशको राजनीतिक परिदृश्य र भावी रणनीतिबारे खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

एमालेमा अहिले नेतृत्व परिवर्तनको बहस उठिरहेको छ ? के भन्नु हुन्छ ?

यो बेतुको बहस हो। निर्वाचन आयो, नेतृत्व परिवर्तनको बहस । चुनावी परिणाम घोषणा भयो, नेतृत्व परिवर्तनको बहस । आन्दोलन भयो, यही बहस । यो बहस नै उपयुक्त छैन। पार्टीमा नेतृत्व परिवर्तनबारे अहिले कुनै कुरा उठेको छैन। अनावश्यक बहस मिडिया र अरू व्यक्तिले चलाएर भएन। हामीले कुनै हिसाबले यो बहस चलाएको छैन।

उसो भए पार्टीभित्र यो बहस चलेको छैन?

पार्टीको बैठक बस्दा पनि यो बहस कुनै पनि ढंगले चलेको छैन। हाम्रो पार्टी अध्यक्ष अहिले पिताको काजकिरियामा हुनुहुन्छ। सडक-सडकमा कुरा गरेर नेतृत्व परिवर्तन हुँदैन। पार्टीको आन्तरिक विधि प्रक्रिया र तरिका छ नि। पार्टीको नीति, सिद्धान्त, विचार र प्रक्रियाअनुसार हुने बहसलाई बाटोमा चलाएर हुँदैन । भर्खरै महाधिवेशन भएको छ, नेतृत्व फेर्ने बहस कसरी उठाउने ? पपुलारिज्ममा भिज्ने पार्टी एमाले होइन । बाहिर हल्ला गर्दै हिँड्ने हो या आत्मसमीक्षा गर्ने कुरा अलग हो। कठिन समयमै नेतृत्वको परीक्षण हुन्छ। हामी नेतृत्वको परीक्षण गरिरहेका छौँ । अहिले नै नेतृत्व परिवर्तनको बहस बेतुकको हो ।

यहाँहरू यही व्यवस्थामा बहुमत आउँदैन भन्नुहुन्थ्यो । तर तपाईंहरूले नपत्याइदिएको दलले ल्यायो नि ?

एउटै निर्वाचनबाट आएको परिणामलाई आत्तिएर ओहो, बर्बाद भयो भन्ने अवस्था छैन । केही समय पर्खनुहोस्। कहिलेकाहीँ हावाहुरी पनि ठूलो आँधी भएर आउँछ। त्यो आँधीको भेल हामीले थेग्न सक्छौँ, सक्दैनौँ भन्ने कुरा हो  । यसबारे निर्मम ढङ्गले समीक्षा गर्न एमालेले पाएको छैन।

उसो भए नेतृत्व परिवर्तनको बहस उठाउन नपाइने हो ?

होइन, यो बहस चाहिँ किन उठाउनु पर्‍यो र ? युवा भनेको को हो ? युवा कस्तो युवा ? विचारमा युवा हो कि उमेरमा युवा ? यहाँहरू अहिले नै किन आत्तिनुहुन्छ ? अलिकबेर कामको परिणाम पछि तपाईं-हामी कुरा गरौँ न। युवा र पाकाबीचको अन्तर र नेतृत्वको विषयमा बहस गरौँला ।

अत्यन्तै जटिल परिस्थितिमा पुराना पार्टी पुगेका छन् कसरी उठ्नुहुन्छ अब ?

पार्टी मात्रै होइन, राज्य व्यवस्था नै  जटिल अवस्थामा पुग्ने चिन्ता छ। एमाले मात्रै होइन, नेपाली कांग्रेस र मधेसवादी दल, जनमोर्चा, नेमकिपाको अवस्थामा ताल्चा लागेको छ। कुनै पार्टीको धुकधुकी नहुँदा पनि उहाँहरुले आफ्नो गतिविधि गरिरहनुभएको छ । एमाले त अहिले पनि देशको तेस्रो दल हो। एमालेलाई मात्रै प्रहार गर्नुहुन्छ ? नेकपाको हालत हेर्नुहोस् त ? यसकारण सबैले एमालेमाथि मात्रै हमला गरेका कारण यो अवस्था आएको हो।

कसरी ?

हामीले आन्तरिक समीक्षा गर्छौँ, गर्न बाँकी नै छ, अहिले नै सार्वजनिक किन गर्नुपर्‍यो र ? पार्टी जीवनमा हामी पहिला समीक्षा गर्छौं, कहाँ किन र कसरी समस्या भयो ? कहाँ षड्यन्त्र भयो भनेर ? निर्वाचन र त्यसको पनि आत्मसमीक्षा गर्छौं। सुध्रिनुपर्ने र सँच्चिनुपर्ने कुरा कहाँनेर छन्, त्यसलाई केलाएर अगाडि बढ्छौं। अरुलेभन्दा हामी आफैँले विश्लेषण गर्छौं।

यहाँले एमाले महाधिवेशनबाट अध्यक्ष ओलीको नेतृत्वमा बहुमत ल्याउँछ भन्नुभएको थियो तर लज्जास्पत हार बेहोर्नुपर्‍यो नि ?

नेतृत्व फेल भयो कि षड्यन्त्र भए भन्ने प्रश्नको जवाफ मैले पनि पाएको छैन। मैले अघि नै भनेँ नि हामीले निर्मम ढंगले समीक्षा गर्न बाँकी छ। समीक्षा गर्न दिनुस्  । तर एउटा कुरा के भन्छु भने हाम्रो कामबारे जनतालाई बुझाउन सकेनौँ ।  र, यो परिणाम भोग्नुपर्‍यो। जनतालाई कुरा बुझाउन नसक्नु हाम्रो कमजोरी हो। यहाँले भनेको लज्जास्पद हार भन्ने कुरामा मेरो विमति छ। लोकतन्त्रमा जनताले आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकार हुन्छ। एमालेलाई यस पटक चुनेनन्, त्यसमा कसको कमजोरी भन्ने कुराको समीक्षा अलिक पछि गरौँ। तर यो कुरा मान्न तयार छु, हामीले पनि केही कमजोरीरु गरेका रहेछौँ।

अब सँच्चचिनुपर्ने रहेछ है भन्ने महसुस भयो है ?

एउटा हारले नै यति धेरै कमजोर हुनुहुँदैन । एउटा हारका कारण हामीले एकदमै धेरै निराश हुनुपर्ने अवस्था छैन। यो त बहुलाएर भागेको जस्तो हुन्छ। कहाँ के कमजोरी भयो वस्तुनिष्ठ समीक्षा गर्छौं। कमजोरीको स्वीकारक्ति गर्नुपर्छ तर कहाँनिर कमजोरी भयो भनेर निर्मम समीक्षा गर्न समय  लाग्छ ।

तर पुराना दल नेपाली कांग्रेस नेकपा एमाले सकिए है अब भन्छन् नि जनताले ?

यो कसैको एजेन्डा होइन । यो विदेशी दलालहरूले चलाएको एजेण्डा हो। विदेशीको एजेण्डा कसरी कार्यान्वयन हुन्छ हेरौँला नि । त्यहाँबाट थाहा हुन्छ। अहिले नयाँ हामीलाई म्यान्डेट आएको छ, यसलाई केही समय पर्खन्छौँ। उहाँहरूलाई काम गरेर देखाउनुस् भन्छौँ, हामी बोल्ने पक्षमा छैन। एक-डेढ वर्ष हेरौँ न तपाईंहरूलाई नै थाहा हुन्छ। एक-डेढ वर्षपछि जनताले ए ! पार्टी त पुरानै ठिक रहेछन् । नेता त पुरानै ठिक रहेछन् भन्छन् । तर कामना गरौँ, यो स्थिति नआओस् ।

बहुमतसहित आएको दललाई के भन्नुहुन्छ ?

जनताको म्यान्डेट अनुसार राम्रोसँग काम गर्नुहोस्। नमात्तिकन, नआत्तिकन काम गर्नुस् मेरो शुभकामना छ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : ०१ बजे

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका