रास्वपामा बालेनले देलान् रविलाई धक्का ? « Khabarhub

रास्वपामा बालेनले देलान् रविलाई धक्का ?

नेताहरू भन्छन्– तलमाथि हुँदैन



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने भएको छ । २०७९ को असार ७ मा स्थापना भएको यो पार्टीले ४ वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको हो । पार्टीको पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीको सभापति को हुन्छ अथवा पार्टीको नेतृत्वमा को आउँछ भन्ने चासो साथ हेरिएको छ ।

स्थापनाकालदेखि सभापति रहेका रवि लामिछाने अथवा २०८२ पुस १३ गते ७ बुँदे सहमति गरेर पार्टी प्रवेश गरेका वालेन्द्र शाहमध्ये को नेतृत्वमा आउँछ भन्ने विषयमा धेरैको चासो छ । सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र तत्कालीन उपसभापति तथा अहिलेका सभामुख डीपी अर्यालसहित ७ बुँदे सहमतिमार्फत पार्टी प्रवेश गरेका वरिष्ठ नेता शाह पार्टी नेतृत्वमा आउनुपर्ने माग पनि छ । पार्टीमा छोटो समयमै लामिछानेको नेतृत्वमा देशको पहिलो शक्ति बनेकाले उनैलाई पुनः दोहोर्‍याउनुपर्ने माग राख्नेहरूको पनि कमी छैन ।

नेताहरूले दिएको सूचना, सभापति लामिछाने र वरिष्ठ नेता शाहको सचिवालय स्रोतका अनुसार रवि लामिछाने सभापतिमा दोहोरिनेमा ढुक्क छन् । आजसम्मको परिस्थितिमा वरिष्ठ नेता बालेन सभापतिमा आउने इच्छा राखेका छैनन् । तर, राजनीति सम्भावनाको खेल भएकाले बालेनले परिस्थितिलाई मौन बसेर नियालिरहेको हुनसक्ने उनको सचिवालयका एक नेताले जानकारी दिए ।

पार्टीमा सर्वसम्मत पदाधिकारी चयन हुने अवस्था रहेको समेत दाबी गरिन्छ । सर्वसम्मत नेतृत्व चयन गर्दा अब रवि लामिछाने नै सभापति हुन्छन् भन्ने केही नेताहरुको दाबी छ । लामिछाने पक्षका नेताले यो दाबी गरिरहँदा बालेन पक्षका नेताहरू भने मौन छन् । उनीहरू महाधिवेशन आउन अझै एक महिना बाँकी रहेकाले त्यसबेला नै यसको छिनोफानो हुने उनीहरु बताउँछन् ।

‘महाधिवेशन आउन अझै एक महिना बाँकी रहेकाले प्रधानमन्त्रीज्यू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्नुहुन्छ या बन्नुहुन्न भन्ने विषय उहाँ आफैँलाई पनि थाहा छैन होला ।’ बालेन पक्षका एक नेताले खबरहबलाई भने, ‘परिस्थिति कस्तो बन्छ भन्ने कुराले पनि फरक पार्छ । अहिलेलाई सरकार उहाँले र पार्टी रविजीले चलाउँदै हुनुहुन्छ ।’

यता पार्टी सभापति निकट नेताहरू भने पार्टी रविले चलाउने सहमति यसअगाडि नै भएकाले बालेनले पार्टी सभापतिमा दाबी नगर्ने जिकिर गर्छन् । ‘सभापतिमा रविको विकल्प छैन,’ लामिछाने निकट ती नेताले भने, ‘पार्टीमा अहिलेसम्म दुई वटा पद चाहिँ पक्का नै छ । एउटा सभापतिमा रवि लामिछाने र अर्को वरिष्ठ नेतामा वालेन्द्र शाह ।’

निर्वाचनपछि वालेन्द्र शाहका तर्फबाट संसदमा कहिले पनि बोलेका छैनन् । तर सभापति लामिछानेसँगको सम्बन्ध एक महिनामै चिसिएको खण्डमा भने उनी पार्टीमा समेत आफ्नो हैसियत खोज्नसक्ने स्थितिमा पुग्ने धेरैले आँकलन गरेका छन् । यता पार्टीका नेताहरू भने बेतुकको आंँकलन गर्नु व्यर्थ रहेकाले अबको सभापति लामिछाने नै बन्नेमा दुईमत नरहेको दाबी गर्छन् ।

औपचारिक कुराकानीमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू सरकार र पार्टी चलाउने नेताको बीचमा तलमाथि नहुने बताउँछन् । पार्टीका संसदीय दलका उपनेता तथा सचिवालय सदस्य गणेश पराजुलीले भने, ‘पार्टी चलाउने र सरकार चलाउने व्यक्तिको बीचमा त तलमाथि हुँदैन भन्ने यहाँहरुलाई थाहा नै छ ।’

सर्वसम्मत नेतृत्व चयनको पल्ला भारी

पार्टीका महामन्त्रीद्वय भूपदेव शाह र कवीन्द्र बुर्लाकोटी पनि नेतृत्व चयन सर्वसम्मत ढङ्गले हुने दाबी गर्छन् । उनीहरू आगामी पार्टीको नेतृत्व रवि र सरकार बालेनले नै सञ्चालन गर्ने विषयमा तलमाथि नहुने वकालत गर्दै आएका छन् । यसअघि बालेन पार्टीमा प्रवेश गर्दा पनि नेतृत्व र सरकारको विषयमा कुनै हस्तक्षेप नगर्ने सहमतिअनुसार नै अगाडि बढेकाले अधिकांश पार्टी पदाधिकारीहरु सर्वसमत चयन हुने बताइन्छ ।

पार्टीको विधान अनुसार पहिला केन्द्रीय कमिटीको निर्वाचन हुनेछ र केन्द्रीय कमिटीका सदस्यले पार्टी सचिवालयका नेताहरु चयन गर्छन् । महाधिवेशनमा करिब २४०० महाधिवेशन प्रतिनिधि उपस्थित हुने अनुमान गरेको पार्टी कोषाध्यक्ष लिमा अधिकारीको भनाइ छ । अधिकारीका अनुसार केन्द्रीय कमिटी चयन भएपछि सचिवालय चयन हुने भएकाले नेताहरूले सहमति मार्फत अगाडि बढाउन सक्ने या निर्वाचन नै गर्न सक्ने वातावरण रहेको उल्लेख गरिन् ।

‘लामो समय अझै बाँकी भएकाले यसबारे छलफल हुन पाएको छैन । यो फुर्सदमा गरिने छलफल भयो । रास्वपा देशको पहिलो पार्टी हो । त्यसकारण सर्वसम्मत ढंगले सबैलाई मिलाएर नेतृत्व चयन हुन्छ ।’ उनले भनिन्, ‘नेताहरूबीच द्वन्द्व हुने परिपाटी हाम्रो पार्टीमा छैन । सरकार चलाउने मान्छेले सरकार र पार्टी चलाउने मान्छेले पार्टी चलाउनुहुन्छ ।’

पार्टीका सहममन्त्री विपिन आचार्य अहिले नै सर्वसम्मत रुपमा नेतृत्व चयन हुन्छ भन्ने विषयमा आफूहरुले अड्कल काट्न नसक्ने बताउँछन् । विधान संशोधन कार्यदलको संयोजक भएर काम गरिरहेका आचार्य भन्छन्, ‘विधानमा काम भइरहेको छ । अगाडिको विधानलाई संशोधन गरेर प्रदेश जिल्ला केन्द्र सबैसँग सुझाव मागेर काम गरिरहेका छौँ । १० गतेभित्र विधान संशोधन प्रस्ताव बुझाउँछौँ । अहिले नै कसरी नेतृत्व चयन हुन्छ भन्ने अवस्था छैन ।’

उनी सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बन्दा अझ राम्रो हुने बताउँछन् । ‘लोकतान्त्रिक विधिलाई कसैले पनि रोक्ने कुरा हुँदैन । ‘देशको पहिलो पार्टीले सर्वसम्मत नेतृत्व चयन गरे राम्रो सन्देश जान्छ भन्ने हिसाबले अगाडि बढ्दा पनि त्यसमा फरक पर्दैन,’ आचार्यले खबरहबलाई भने, ‘समावेशिता सहभागिता र जवाफदेहिता सहितको पदाधिकारी र केन्द्रीय कमिटी आउने कुरामा हामी ढुक्क छौँ ।

बालेनलाई सभापति बन्न विधानले रोक्छ ?

वर्तमान विधानलाई हेर्ने हो भने बालेनले चाहेको खण्डमा सभापति हुन विधानले रोक्दैन । पार्टी सभापति लामिछानेलाई सभापतिमा दोहोरिन पनि विधान बाधक हुँदैन । ‘दुवै नेतालाई विधानले सभापति हुन रोक्दैन । तर, बालेन्द्र शाह सभापतिको दाबेदार होइन,’ पार्टीका एक शीर्ष नेताले भने, ‘उहाँहरूबीच सहमति नै छ । पार्टी सभापति बन्ने उहाँको चाहना छैन ।’

अहिलेको विधान अनुसार केन्द्रीय सदस्य १२९ जना बन्ने देखिन्छ । यस्तै, पार्टी सभापतिले २२ जना थप्न सक्ने प्रावधान छ । सातै प्रदेशका पार्टी सभापति पदेन सदस्य र एक तिहाई महिला प्रतिनिधि केन्द्रीय कमिटीमा रहने अहिलेको व्यवस्था छ । विधानअनुसार एक जना सभापति, एक जना वरिष्ठ नेता, तीन जना उपसभापतिमध्ये अनिवार्य एक महिला, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष र एक पार्टी प्रवक्तासहित दुई जना सहप्रवक्ता रहने व्यवस्था छ ।

नेताहरूका अनुसार पदाधिकारीको विधानलाई यथावत राख्ने तयारी छ । विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन हुने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने व्यवस्था पनि फेरबदल नगर्ने तयारी गरेको स्रोतको दाबी छ ।

‘सबै टिमको प्रतिनिधित्व हुने गरीको केन्द्रीय कमिटी र सचिवालय बन्छ’

शीर्ष नेताहरू पार्टीमा मिसिएका सबै टिमको प्रतिनिधित्व हुनेगरी केन्द्रीय कमिटी र सचिवालय बन्ने बताउँछन् । विगतमा पार्टी प्रवेश गरेको वालेन्द्र शाह निकट समूह, विवेकशील साझा पार्टी, खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टी जेन-जी अभियान्ताहरू, नागरिक उन्मुक्ति पार्टीका नेताहरू लगायतको सबै टिमहरूलाई समेट्ने किसिमले केन्द्रीय कमिटी र सचिवालय बन्ने नेताहरूको दाबी छ ।

अहिले पार्टीका शीर्ष नेताहरू कसरी सबैलाई समेट्ने किसिमको टिम बनाउने भन्ने विषयमा विभिन्न तहबाट छलफल गरिरहेका छन् । ‘पार्टीमा प्रवेश गरेका विभिन्न समूहलाई समायोजन गरेर सचिवालय र केन्द्रीय कमिटी बनाउनुपर्ने परिस्थिति हामीलाई छ,’ पार्टीका एक शीर्ष नेताले भने, ‘जेन-जीदेखि पाका उमेर सबै नेताहरूलाई समेटेर केन्द्रीय कमिटी र सचिवालय बन्छ ।’

महामन्त्री भूपदेव शाहको नेतृत्वमा समायोजन समिति बनाएकाले सबैको भावना मर्म र इतिहास वर्तमान सबै समेट्ने किसिमले काम भइरहेको सहममन्त्री विपिन आचार्य बताउँछन् । शाहले पनि महाधिवेशनमा सबैको प्रतिनिधित्व र सहभागिता गराउने किसिमले काम भइरहेको जानकारी दिए । महाधिवेशनका लागि गठन भएको सबै समितिको मोडालिटी पार्टी सचिवालयमा बुझाउने गरी नेताहरुले काम गरिरहेको बताइन्छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ३ : २६ बजे

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको