रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस « Khabarhub

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

महिला उपसभापति र सहमहामन्त्रीमा धेरैको दाबी, यस्तो छ चुनावी अंकगणित



काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९ केन्द्रीय सदस्यको निर्वाचन पक्का देखिएको छ । पार्टीको अन्तिम पटक बसेको केन्द्रीय कमिटी बैठकमा नेताले दिएको संकेत र सूचना अनुसार ९९ केन्द्रीय कमिटीका लागि ३ हजार ४ सय नेताहरू आकांक्षी छन् । ९९ केन्द्रीय कमिटीका लागि १८० भन्दा बढी सांसद, पार्टीका विभिन्न तहमा रहेका नेता, २०७९ को निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचन जितेका सांसद र अन्य शीर्ष पार्टीबाट विभिन्न कालखण्डमा सहभागी भएका नेताहरू आकांक्षी रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ विधानले १५८ केन्द्रीय सदस्य बनाउने भए पनि ५१ केन्द्रीय सदस्य पार्टी सभापति रवि लामिछानेले चुन्न पाउनेछन् । ७ प्रदेशका सभापति पदेन सदस्य रहने भएपछि ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने देखिएको हो । बैठकमा पार्टी सभापति लामिछानेले योग्यता पुगेका व्यक्तिलाई निर्वाचन लड्नका लागि स्वतन्त्र छोडिदिनुपर्ने र लोकतान्त्रिक प्रक्रियाको अधिकारलाई कुण्ठित नगर्नुपर्ने आवाज उठाए । उनको संकेत मिलेका पदमा सर्वसहमति र नमिलेका पदमा निर्वाचनको प्रक्रिया अगाडि बढाउने देखिन्छ ।

पार्टीका शीर्ष र तल्लो तहका धेरै जना नेताले पनि केन्द्रीय कमिटीको निर्वाचन लड्नका लागि विधानले तोकेको व्यवस्था पुगेका व्यक्तिलाई स्वतन्त्र छाडिदिनुपर्ने आवाज उठाएका थिए । बैठकमा बोल्ने केन्द्रीय सदस्यले सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्यमा समावेशिता र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई अंगीकार गरिनुपर्ने माग राखेका थिए । नेताले सभापतिले छान्ने व्यक्ति सभापति निकट मात्र नभएर क्षमतावान् र विभिन्न समूहबाट पार्टीमा आएका व्यक्तिहरू हुनुपर्ने आवाज उठाएका थिए ।

सभापति लामिछानेले पनि विभिन्न समूहबाट आएका व्यक्तिलाई पार्टीमा एकढिक्का बनाउनका लागि नै आफूहरूले विधानमा ५१ केन्द्रीय सदस्य छान्ने र सचिवालयमा पनि बहुसंख्यक नेताहरू चुन्न पाउने सुविधा ल्याएको बताए । उनले पार्टीमा गुट-उपगुट नहुने रणनीति तय गर्नकै लागि यस्तो व्यवस्था गरिएको स्पष्टीकरण दिएका थिए । आफू बलियो हुनका लागि नभएर पार्टीलाई एकताबद्ध गर्नका लागि विधानमा धेरै व्यक्तिहरू मनोनीत गर्ने व्यवस्था ल्याएको उनले स्पष्ट पारे ।

४ हजारदेखि ४५ सयसम्म महाधिवेशन प्रतिनिधि
शनिबार रातिसम्मको अपडेट अनुसार ३ हजार ९१८ भन्दा बढी महाधिवेशन प्रतिनिधिले शुल्क तिरेरै प्रतिनिधि कार्ड लिएका छन् । चितवनमा हुन लागेको महाधिवेशनमा ४ हजारदेखि ४५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले शुल्क तिरेर सहभागिता जनाउने देखिएको छ ।

उद्घाटन सत्र आइतबार दिउँसो १ बजे भएकाले आइतबार बिहान पनि यो संख्या थपिन सक्ने अनुमान गरिएको छ । पार्टी कोषाध्यक्ष लीमा अधिकारीका अनुसार शनिबार बेलुकासम्ममा ३ हजार ९१८ जना व्यक्तिले शुल्क तिरिसकेका छन् । शुल्क तिरेका सबै व्यक्तिहरू केन्द्रीय सदस्य उठ्नका लागि योग्य भएकाले कम्तीमा पनि ३-४ सय व्यक्ति ९९ केन्द्रीय सदस्यका लागि आकांक्षी छन् ।

“केन्द्रीय सदस्यमा ९९ पदका लागि निर्वाचन हुने अवस्था देखिन्छ । किनभने ४५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि भएपछि ३-४ सय जना केन्द्रीय सदस्यका आकांक्षी देखिनु स्वाभाविक पनि हो,” पार्टी नेता गणेश पराजुली भन्छन्, “योग्यता पुगेका व्यक्तिलाई निर्वाचन नलड भनेर लोकतान्त्रिक प्रक्रियालाई कुण्ठित गर्ने काम हामी गर्दैनौँ । हाम्रा सभापतिले पनि त्यही भन्नुभएको छ ।”

केन्द्रीय सदस्यमा निर्वाचन हारेको व्यक्तिलाई सभापतिले चुन्न पाउँछन्?
विधानमा केन्द्रीय सदस्य हारेको व्यक्तिलाई सभापतिले केन्द्रीय सदस्य या सचिवालय सदस्यमा चुन्न पाउँछन् कि पाउँदैनन् भन्ने स्पष्ट लेखिएको छैन । यही कुरा नेतालाई सोध्दा यसबारे आफूहरूलाई जानकारी नभएकाले बोल्न नचाहेको उल्लेख गरे । धेरै जना नेताले विधानमै यो व्यवस्था उल्लेख भएको दाबी गरे पनि विधानमा स्पष्ट रूपमा केन्द्रीय सदस्य हारेको व्यक्ति पार्टी सभापतिले चुन्न पाउने या नपाउने व्यवस्था छैन ।

रवि निकट नेताहरूले दिएको जानकारी अनुसार समेट्नै पर्ने व्यक्ति निर्वाचनमा हारेको भए पनि उनलाई सभापतिले समेटेर लैजान अप्ठ्यारो अवस्था नरहेको बताउँछन् । “पार्टी सचिवालय र केन्द्रीय सदस्यमा आउनै पर्ने व्यक्ति छ र ऊ निर्वाचन हार्‍यो भने पनि नल्याउने अवस्था हुँदैन । किनकि पार्टीमा विभिन्न समूहहरू र व्यक्तिहरूलाई समेट्नुपर्ने बाध्यता छ । समावेशिता र समूहगत प्रतिनिधित्व गराउँदा पनि उहाँहरू नआई नहुने अवस्था भएको खण्डमा ल्याइन्छ,” ती नेता अगाडि भन्छन्, “कतिपय कुराहरू विधानमा उल्लेख नभए पनि व्यावहारिक पाटाहरूलाई हेरेर समाधान गर्नुपर्ने हुन्छ ।”

पदाधिकारीमा केही पद मिलाउन सकस हुने अवस्था
राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिलाई धेरै जना सचिवालय सदस्यहरू मनोनीत गर्न पाउने अधिकार दिइएको छ । तीन उपसभापतिमध्ये एक जना उपसभापति सभापतिले मनोनीत गर्नेछन् । एक जना महिला उपसभापतिका लागि धेरै जना महिला आकांक्षी भएको हुँदा निर्वाचन हुन सक्ने माहोल देखिएको बताइन्छ । धेरै जना नेताहरूले अहिले यो पद कोषाध्यक्ष लीमा अधिकारीलाई दिनुपर्ने माग उठाए पनि सहमति जुट्ने अवस्था निकै कठिन रहेको बताइन्छ । अर्को उपसभापतिका लागि डा. स्वर्णिम वाग्लेको विकल्प नभएकाले दुई उपसभापतिमा निर्वाचन हुने अवस्था छैन ।

पार्टी विधान अनुसार दुई महामन्त्रीमध्ये एक महामन्त्री सभापतिले छान्नेछन् । एक महामन्त्रीका लागि धेरै जना नेताहरू खुला प्रतिस्पर्धा गर्न इच्छुक देखिन्छन् । एक महामन्त्रीमा भूपदेव शाह आउने अवस्था रहँदा अरू महामन्त्रीका लागि पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, नेताहरू दीपक बोहरा, प्रमोद न्यौपाने लगायत आकांक्षी देखिन्छन् । त्यसकारण यसमा पनि निर्वाचन हुने सम्भावना रहेको बताइन्छ । यस्तै ३ सहमहामन्त्रीका लागि पनि धेरै जना नेताहरू आकांक्षी छन् । पाँच सहमहामन्त्रीमध्ये दुई जना सहमहामन्त्री पार्टी सभापतिले चुन्ने विधानमा लेखिएको छ ।

चितवनस्थित पार्टी स्रोत भन्छ, “भने जस्तो छलफल त भएको छैन । तर स्पष्ट रूपमा देखिँदा एक जना महामन्त्री, दुई जना सहमहामन्त्री र एक महिला उपसभापति पद मिलाउन गाह्रो छ, त्यसकारण निर्वाचन हुन सक्छ । यसमा पार्टी सभापतिसहित हामी धेरै पदाधिकारीहरू केही समय बैठक बसेका थियौँ । सभापति लगायत धेरै जना नेताहरूले सकेसम्म सहमति गरौँ भन्ने कुरा गर्नुभएको छ । तर लोकतान्त्रिक प्रक्रियामा भाग लिन योग्यता पुगेका उस्तै-उस्तै नेताहरू भिड्दैमा केही फरक पर्दैन भन्ने कुरा पनि उठेको छ । उद्घाटन सत्रपछि यसमा घनीभूत छलफल हुन्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीको निर्वाचन लड्नका लागि केन्द्रीय सदस्य अनिवार्य जितेको हुनुपर्छ । तर सभापतिले मनोनीत गर्ने व्यक्तिहरूमा भने यो बाध्यकारी व्यवस्था छैन । सभापतिलाई महाधिवेशनका जोकोही प्रतिनिधिलाई केन्द्रीय सदस्य, सचिवालय सदस्य र पदाधिकारीमा नियुक्ति गर्न पाउने अधिकार छ ।

पार्टीको पहिलो निर्वाचन केन्द्रीय सदस्य र सभापतिका लागि ९ गते बिहान ८:३० बजेदेखि गरिने कार्यतालिका सार्वजनिक छ । ९९ केन्द्रीय सदस्यको निर्वाचन त्यही समयमा हुने बताइन्छ । पार्टी विधान अनुसार ९९ केन्द्रीय सदस्य जितेका व्यक्तिहरूले मात्रै (सभापतिले मनोनीत गर्ने बाहेक) अरू सचिवालय पदाधिकारीमा उम्मेदवारी दिन पाउनेछन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : ५१ बजे

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन