काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र समग्र पाचन प्रक्रिया नै कमजोर हुने समस्या भयावह बन्दै गएको छ ।
नेपालमा गरिएका विभिन्न स्थानीय अध्ययन, काठमाडौँ विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतका निकायका सर्वेक्षणअनुसार करिब ५० देखि ७० प्रतिशत बालबालिकामा दाँतको समस्या (विशेष गरी किरा लाग्ने) देखिएको छ भने प्रत्यक्ष उपचारमा आउने बालबालिकामा यो आँकडा ९० प्रतिशतसम्म पुगेको छ ।
आधुनिक जीवनशैली, बजारिया पत्रु खाना (जंक फुड) को अत्यधिक प्रयोग र अभिभावकहरूको ‘गलत स्याहार’ तथा अज्ञानताका कारण बालबालिकाको मुख तथा दाँतको स्वास्थ्य जटिल बन्दै गएको दन्त रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्हरू बताउँछन् ।
खानपान, आधुनिक जीवनशैली र दाँतको खराबी
दन्त रोग विशेषज्ञ एवम् म्याक्सिलोफेसियल सर्जन डा. सुवास घिमिरेका अनुसार बालबालिकाको दाँत बिग्रिनुमा खानपिन र ब्रस गर्ने बानी दुवैको ठूलो भूमिका हुन्छ ।
सबैभन्दा मुख्य कारण भने आधुनिक खानपान नै हो । बजारमा पाइने चकलेट, बिस्कुट, गुलिया खानेकुरा, क्यान्डी, ललीपप, टोफी, पिज्जा, चाउचाउ र कोल्ड ड्रिंक्सको अत्यधिक सेवनले बच्चाहरूको दाँत छिटो बिग्रिने गरेको छ ।
अभिभावकहरूले जुस खानु स्वास्थ्यका लागि राम्रो हो भन्ने ठानेर विभिन्न ब्रान्डका बजारिया जुस खुवाउने गरे पनि ती अत्यधिक गुलिया र दाँतका लागि निकै हानिकारक हुने डा. घिमिरे बताउँछन् ।
यस्तै, साना बालबालिकालाई राति सुताउँदा मुखमा दूधको बोतल राखेर सुताइदिने चलन अर्को मुख्य समस्या हो । प्याकेजिङ वा आर्टिफिसियल दूधमा गुलियो मिसाइएको हुन्छ ।
‘रातभरि मुखमा दूधको बोतल रहँदा दूध दाँतमा टाँसिएर रहन्छ, जसले गर्दा अधिकांश साना बालबालिकाको दाँत सड्ने र किरा लाग्ने समस्या ९० प्रतिशतसम्म देखिने गरेको छ,’ उनले भने ।
ठोस खानाको महत्त्व
बच्चाको साधारणतया तीन वर्षको उमेरसम्ममा २० वटै दूधका दाँत पूर्ण रूपमा आइसक्छन् । दाँतको उचित विकास, गिजा र बङ्गाराको हड्डीको मजबुतीका लागि ठोस खाना चपाउनु अनिवार्य हुने डा. घिमिरे बताउँछन् ।
‘बच्चालाई ६ महिना वा १ वर्षको उमेरदेखि नै उसले टोक्न र चपाउन सक्ने प्राकृतिक ठोस पदार्थ खुवाउनुपर्छ,’ डा. घिमिरेले भने । गाजर, फलफूल, हरियो सागसब्जी जस्ता अलि कडा र रेसादार खानेकुरा चपाउँदा दाँतको प्राकृतिक सफाइ हुन्छ ।
अचेल अभिभावकहरूले भात वा अन्य खाना पनि मिक्सरमा पिसेर खुवाउने गर्छन् । यस्ता लेदो र लिक्विड खानेकुरा दाँतमा टाँसिएर ‘प्लाक’ वा ‘टार्टर’ जम्छ, जसले गर्दा झन् छिटो किरा लाग्ने समस्या बढ्दै जाने उनले बताए ।
डा. घिमिरेका अनुसार गाडीको इन्जिन चलाइएन भने खिया लागेजस्तै दाँतलाई पनि चपाउन दिइएन भने बङ्गाराको हड्डीको विकास राम्रो हुँदैन, दाँत आउने क्रम बिग्रिन्छ र दाँत आफैँ सफा हुने प्रक्रिया रोकिन्छ ।
त्यस्तै जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती पनि ५–६ वर्षका बालबालिकाले समेत मकै र चिउरा जस्ता ठोस खाना चपाउन नसक्ने स्थिति आउनु चिन्ताजनक रहेको बताउँछिन् ।
‘आमाबुबाले खुवाउन सजिलो होस् भनेर दाल, भात, तरकारी सबै मिक्सरमा पिसेर दिने गर्दा बालबालिकाले चपाउनै सिक्दैनन्,’ डा. उप्रेतीले भनिन् ।
चपाएर नखाँदा देखिने मुख्य समस्या
चपाउने प्रक्रियाले अनुहार र बङ्गाराका मांसपेशीलाई बलियो बनाउँछ । कडा वा ठोस खाना नचपाउँदा हड्डी र दाँतको स्वाभाविक विकास प्रभावित हुन्छ ।
खाना चपाउँदा निस्कने र्यालले खाना पचाउन मुख्य भूमिका खेल्छ । नचपाई सिधै पिसेको खाना निल्दा पेट र पाचन प्रणालीमा अतिरिक्त भार पर्ने डा. उप्रेतीको भनाइ छ ।
उनका अनुसार यसरी पिसेर खुवाउने बानी पार्दा बालबालिकाहरू प्राकृतिक खानाको वास्तविक स्वाद र आनन्द लिनबाट वञ्चित हुन्छन् ।
प्याकेटका खानाको भ्रम
अभिभावकहरूमा बजारका प्याकेटमा पाइने र विदेशी नाम गरेका खाना बढी पौष्टिक हुन्छन् भन्ने भ्रम छ । कतिपय निजी विद्यालयका अभिभावक मकैको च्याँख्ला र चिउरालाई ‘गाउँले खाना’ ठानेर मोटो रकम खर्च गरी कर्नफ्लेक्स वा राइसफ्लेक्स किन्ने गर्छन् ।
डा. उप्रेतीका अनुसार कर्नफ्लेक्स मकैबाट र राइसफ्लेक्स चिउराबाटै बन्ने हुन् । प्राकृतिक मकै र चिउरामै पर्याप्त मात्रामा रेसादार पदार्थ (फाइबर) र फलाम (आइरन) उपलब्ध हुन्छ । महँगो मूल्य तिरेर किनिने प्याकेटका प्रशोधित खानाले बच्चालाई भविष्यमा मोटोपन, कुपोषण, कम उमेरमै उच्च रक्तचाप र मधुमेह जस्ता जटिल रोगतिर धकेल्छ ।
नियमित जाँच, ब्रसिङ र हेरचाह कसरी गर्ने?
डा. घिमिरेका अनुसार बालबालिकाको दाँतको सुरक्षा र समग्र स्वास्थ्यका लागि अभिभावकले सुरुदेखि नै विशेष सतर्कता र केही आधारभूत बानीहरू बसाल्नुपर्छ ।
कतिपय बच्चा जन्मिँदै दाँत लिएर जन्मेका हुन्छन् भने कसैको एक महिनाभित्रै दाँत आउँछ । यस्ता दाँतले आमालाई दूध चुसाउँदा टोक्ने वा बच्चा आफैँलाई बिझाउने हुन सक्छ, त्यसैले जन्मिनेबित्तिकै पनि दन्त रोग विशेषज्ञलाई देखाउनुपर्छ ।
६ महिनादेखि नै सफाइ र फ्लोराइडयुक्त मन्जनको सही प्रयोग: बच्चाको ६ महिनाको उमेरदेखि दाँत आउन सुरु गर्छ । बच्चा सानै छँदा सफा, नरम र ओसिलो कटनको कपडाले दाँत र गिजा पुछिदिनुपर्छ । बच्चा अलि ठूलो भएपछि फ्लोराइडयुक्त टुथपेस्ट आधा केराउको दानाजति मात्र राखेर दिनमा दुई पटक बिहान र बेलुका अनिवार्य रूपमा ब्रस गराउने बानी बसाल्नुपर्छ।
दूधको बोतल मुखमा राखेर नसुताउने: राति सुत्दा दूधको बोतल मुखमा राखेर सुताउने बानी पूर्ण रूपमा हटाउनुपर्छ ।
६–६ महिनामा अनिवार्य चेकअप: दाँत नदुखीकन अस्पताल नजाने बानी गलत हो । बच्चाको दाँत नदुखे पनि हरेक ६–६ महिनामा नियमित रूपमा दन्त विशेषज्ञकहाँ लगेर जाँच गराउनुपर्छ । यसले गर्दा भोलिका दिनमा तार बाँध्नुपर्ने वा शल्यक्रिया गर्नुपर्ने जस्ता जटिल र खर्चिला समस्याबाट जोगाउन सकिन्छ ।
मनोवैज्ञानिक परामर्श र शारीरिक व्यायाम: दाँत तथा मुखको विकाससँगै बच्चाहरूमा आउने शारीरिक र मानसिक परिवर्तनका लागि अभिभावकहरूले उनीहरूलाई मनोवैज्ञानिक रूपमा काउन्सिलिङ (परामर्श) गर्नुपर्छ । यसका साथै सानैदेखि नियमित रूपमा शारीरिक व्यायाम गर्ने बानी पनि बसाल्नुपर्छ ।
प्राकृतिक र रेसादार खाना: पिज्जा, बजारिया ड्रिंक्स र प्रशोधित खानाहरूलाई पूर्ण रूपमा त्यागेर घरमै उब्जनी भएका ताजा फलफूल, गाजर, हरिया सागसब्जी, दही, दूध, अन्डा र गेडागुडी जस्ता क्याल्सियमयुक्त प्राकृतिक खानेकुरा खुवाउनुपर्छ ।
डा. घिमिरे भन्छन्, ‘बाल्यकालदेखि नै खानपान र दाँतको सही हेरचाहको बानी बसाल्न सके बालबालिकाको मुख र शरीर दुवै स्वस्थ रहन्छन् । यसले उनीहरूलाई भविष्यमा हुने ठूला–ठूला शारीरिक रोगहरूबाट बचाउनुका साथै उपचारमा हुने ठूलो आर्थिक खर्चबाट पनि जोगाउँछ ।’















प्रतिक्रिया