काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी छ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गर्नुभएको हो।
प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावनमार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरी मुकेशबहादुर पाल प्रथम हुनुभएको छ। उहाँलाई सभापति थापाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
त्यसैगरी दोस्रो हुनुभएका नरेन्द्रसिंह रावललाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगितामा चौथो हुनुभएका गणेश सिंहलाई १२ हजार, पाँचौँ हुनुभएका अमृत ठकुरीलाई १० हजार र छैठौँ हुनुभएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगितामा सहभागिताका लागि झन्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावनमार्ग छोडेर दौडेकाले उहाँहरूलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ।
ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी हुनुभएको थियो भने अन्य सयौँले अप्रतियोगीका रूपमा सहभागिता जनाएका थिए। ग्रीन रन प्रतियोगितापछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहनुभएको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकता रहेकोमा जोड दिइएको थियो।
प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्नसमेत लागेको सभापति थापाले बताउनुभयो।
‘अहिले हामी जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न पनि यहाँ उभिएका छौँ। यसका बारेमा हामीले बृहत् कार्यक्रमको तयारी गरेका छौँ,’ सभापति थापाले भन्नुभयो।
जङ्गल, जमिन लगायतका प्राकृतिक स्रोत-साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेलै ल्याउनुभएको सभापति थापाले स्मरण गराउनुभयो।
जननायक बीपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत-साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उहाँको भनाइ थियो।
‘समावेशिताको अवधारणालाई पनि सात दशकअगाडि नै कांग्रेस संस्थापक नेता कोइरालाले व्यवहारमै लागू गराएर हामीलाई सिकाउनुभएको छ, त्यसप्रति पनि हामी पूर्ण प्रतिबद्ध छौँ,’ सभापति थापाले भन्नुभयो।
सो अवसरमा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। सबै कार्यक्रममा सहभागीहरूलाई विभिन्न जातका बिरुवासमेत वितरण गरिएको थियो। बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी रहने कांग्रेसले जनाएको छ।

कल्याण कोषको घोषणा
कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ। कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिनुभयो।
कोषमा अहिले पार्टीका सदस्यहरूका तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उहाँले बताउनुभयो। कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिनुभयो।
कांग्रेसले भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ।















प्रतिक्रिया