काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।
संस्थापन र संस्थापनइतर पक्षले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेसँगै इतर पक्षका नेताहरूले नयाँ पार्टी गठनसम्मको बहस अघि सारेका छन्।
शेरबहादुर देउवा–पूर्णबहादुर खड्का पक्षले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बीपी स्मृति सभा आयोजना गरेको छ।
कार्यक्रममा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालालगायत नेताहरू सहभागी थिए।
कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा संस्थापन पक्षका नेताहरू भने कार्यक्रममा अनुपस्थित रहे।
यसअघि बिहान संस्थापन पक्षले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रममा पनि इतर पक्षका नेताहरू सहभागी भएका थिएनन्। यससँगै कांग्रेसले यस वर्ष बीपी स्मृति दिवस दुई अलग कार्यक्रममार्फत मनाएको हो।
नयाँ पार्टी गठनको बहस
प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले गगन थापाको नेतृत्वमा अघि बढ्न नसकिने धारणा राख्दै नयाँ राजनीतिक दल गठन गर्नुपर्ने आवाज उठाए।
नेता मोहनबहादुर बस्नेतले अब सहमतिको सम्भावना सकिएको दाबी गर्दै नयाँ पार्टी गठनका लागि नेतृत्व पछि हट्न नहुने जिकिर गरे। ‘पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो। गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई समाप्त हुन दिइने छैन,’ उनले अगाडि भने ।
बस्नेतले थापाको नेतृत्वमा भएको निर्वाचनमा कांग्रेस कमजोर बनेको दाबी गर्दै आगामी महाधिवेशनको तयारीमा ढिलाइ नगरी बीपीले निर्माण गरेको कांग्रेसको मूल मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । पूर्वसञ्चारमन्त्रीसमेत रहेका उनले इतर पक्षले प्रदेशस्तरीय भेला गरिसकेको उल्लेख गर्दै अब केन्द्रीय राष्ट्रिय भेला गर्नुपर्नेमा जोड दिए।
केदारको गम्भीर आरोप
कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा डा. शेखर कोइरालानिकट नेता केदार कार्कीले सभापति थापामाथि गम्भीर आरोप लगाए। उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विगतमा गगन थापा ‘कतैबाट सञ्चालित’ रहेको भनेको कुरा अहिले पुष्टि भइरहेको जिकिर गरे ।
कार्कीले थापा आर्थिक रूपमा पनि भ्रष्टाचारमा संलग्न रहेको र बाह्य शक्तिबाट प्रभावित भएको आरोप लगाए।
उनले गगनले नियुक्त गरेका एक उपकुलपतिसम्बन्धी घटनातिर इंगित गर्दै आफूहरूलाई त्यसको वास्तविकता थाहा भएको दाबी गरे। उनले आवश्यक परे नयाँ पार्टी गठनका लागि पनि तयार हुन नेतृत्वलाई आग्रह पनि गरे।
रामचन्द्रको आलोचना
कार्यक्रममा नेता कुन्दन काफ्लेले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकै कारण नेपाली कांग्रेस र मुलुक दुवै कमजोर बनेको आरोप लगाए।
उनले संविधानको मर्मविपरीत सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको दाबी गर्दै त्यसपछि भएको राजनीतिक घटनाक्रमले कांग्रेससहित समग्र राजनीतिक प्रणालीलाई क्षति पुगेको बताए।
राजसंस्थाको वकालत
अर्का नेता शंकर भण्डारीले बीपी कोइरालाको मेलमिलाप नीतिको सही व्याख्या गर्नुपर्ने भन्दै राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा बहुसंख्यक प्रतिनिधिले वैदिक सनातन धर्मको पक्षमा मत दिए पनि नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि पोखे । भण्डारीले जनताको भावना सम्बोधन गर्न शीर्ष नेतृत्व अभिभावकीय भूमिकामा उभिनुपर्ने आवश्यकता औँल्याए।
बीपी स्मृति दिवसकै अवसरमा कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्नु र इतर पक्षबाट नयाँ पार्टी गठनसम्मको सार्वजनिक बहस सुरु हुनु कांग्रेसभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको मानिएको छ।















प्रतिक्रिया