‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’ « Khabarhub

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

'युवा एकीकृत कांग्रेस चाहन्छ, सबै मिलिदिनुहोस्'


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित पार्टी विभाजनको जोखिमप्रति युवा पुस्ता चिन्तित देखिएका छन् । बिपी स्मृति दिवसका अवसरमा संस्थापन इतर समूहले छुट्टै कार्यक्रम आयोजना गरी पार्टी सभापति गगन थापामाथि वाह्य शक्तिबाट परिचालित भएको, एक्लै हिँड्ने प्रवृत्ति देखाएको र पार्टी फुटाउन उद्दत रहेकोजस्ता गम्भीर आरोप लगाएका छन् ।

प्रज्ञा भवनमा आयोजित कार्यक्रममा डा. शेखर कोइराला लगायतका नेताहरू समेत सहभागी थिए । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले कांग्रेस फुटेमा त्यसको सम्पूर्ण जिम्मेवारी गगन थापाले लिनुपर्ने चेतावनी दिएका छन् । अर्कोतर्फ, संस्थापन पक्षले भने ललितपुरमा दौड आयोजना गरेर पार्टी एकताका लागि आह्वान गरेको छ ।

यसरी शीर्ष नेताहरू आरोप-प्रत्यारोपमा उत्रिँदा युवा पुस्ता र कार्यकर्ताहरु भने दुवै पक्षका भेलामा सहभागी नभई तटस्थ बसेका छन् । नेविसङ्घका पूर्वअध्यक्ष दुजाङ शेर्पासहित काठमाडौँका ठूलो संख्याका कांग्रेस सदस्यहरू कुनै पनि भेलामा गएनन् भने नेता भीष्मराज आङ्देम्बेले चितवन पुगेर बिपी स्मृति दिवस मनाए ।

कांग्रेस फुटको डिलमा पुगेकाले पाँचै पुस्ताका नेता-कार्यकर्तालाई एकीकृत बनाउन गगनले तत्कालै पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाजस्ता शीर्ष नेताहरूसँग संवाद थाल्नुपर्ने युवाहरूको माग छ । कांग्रेस फुटेमा त्यसको प्रत्यक्ष असर राष्ट्रियता र लोकतन्त्रमाथि नै पर्ने भन्दै युवाहरू सशङ्कित बनेका हुन् । यसै सन्दर्भमा खबरहबका लागि ज्ञानु घिमिरेले नेविसङ्घका पूर्वअध्यक्ष दुजाङ शेर्पासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ-

कांग्रेसले आज दुईतिर बीपी स्मृति दिवस मनायो, तपाईं कता जानुभयो ?

हामी काठमाडौँमा भएका करिब १० हजार युवा पुस्ता कतै पनि गएनौँ । हामी विभिन्न कोणबाट विचारविमर्श गरिरहेका छौँ । कांग्रेसलाई एकढिक्का बनाउने अभियानमा छौँ । हामी ललितपुर पनि गएनौँ, प्रज्ञा भवन पनि गएनौँ । हामी धेरै साथीहरू भेला भएर आफ्नै ढङ्गले विचारविमर्श गर्‍यौँ ।

अहिले कांग्रेसको युवा पुस्ता के चाहन्छ ?

कांग्रेस पाँच पुस्ताको पार्टी हो । पाँचै पुस्तालाई एकीकृत बनाएर सभापतिले लैजानुपर्छ । विशेष महाधिवेशनको म्यान्डेट भनेको एउटा निर्वाचन फेस गर्ने र अर्को महाधिवेशन गर्ने हो । त्यसलाई गगन थापाले अगाडि लैजानुपर्छ । चाँडोभन्दा चाँडो पार्टी महाधिवेशनमा जानुपर्छ र महाधिवेशनबाट आएको नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्छ ।

कांग्रेसमा आधिकारिक रुपमा गगन थापा सभापति हो । तर तपाईंका शीर्ष नेताहरुले नस्वीकार्दा पनि पार्टी फुट्न लाग्यो भन्ने चर्चा छ नि ?

गगनकुमार थापालाई सभापति नमान्ने कुरा कसैको पनि गरेजस्तो लाग्दैन। सबैले उहाँलाई सभापति मानिसकेका छन् तर विशेष महाधिवेशनमा जाने र नजाने बीचको एउटा मतभिन्नताको कारणले गर्दा आज यो परिस्थिति आएको छ । सबैले एक कदम पछि हटेर पार्टीको विरोध एकताका लागि अगाडि बढ्नुपर्छ। यसलाई हाम्रो तर्फबाट दबाब दिने र लबिङ गर्ने कुराहरु गरि नै राखेका छौं ।

विशेष महाधिवेशन गर्ने बेलामा गगनले म विष पिउँछु पार्टी फुट्न दिन्न भन्नुभएको थियो । तर पार्टी त फुट्न लाग्यो है ?

हो जुन बेला गगनकुमार थापाज्यूले विशेष महाधिवेशन अगाडि पार्टी फुट्न लाग्यो भने बरु म विष पिउँछु भन्नुभएको थियो । विष पिउने बेला आएको छ। उहाँले अत्यन्तै सुझबुझका साथ पाँचै पुस्तालाई मिलाएर विष पिउनबाट जोगिँदै पार्टी एकीकरण गरेर लानुपर्छ । धेरै ढिला हुन लागिसक्यो ।

गगनलाई पुराना नेताले नपत्याएको कारण पार्टी विभाजन हुन लाग्यो भन्छन् नि ?

सबै जनासँग उहाँले एक पटक संवाद गर्नुपर्छ जस्तो लाग्छ। विशेषत पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता डाक्टर शेखर कोइरालासँग वार्ता गरेको खण्डमा कुरो मिल्छ । तीन नेताहरू बसेर कुरा मिलाउँदा पाँच मिनेटमा मिल्ने कुरा हो । तर उहाँहरु सबैजना लचक हुन चाहनुभएन । म फेरि भन्छु- एक कदम पछि हटेर लचकता अपनाइदिनुहोस् । हामी युवा पुस्ता पनि तीन जना नेताहरू बसेर पार्टी एकीकरण गर्नुहोस् भन्ने सुझाव दिन्छौँ । घरभित्र कहिलेकाहीँ झगडा हुन्छ पाँचै पुस्ता हामी एक ढिक्क हुन चाहन्छौँ । कृपया मिलाइदिनुस् । सबैको आफ्नो कमजोरी र क्षमता पनि हुन्छ। यो कुराहरू बुझिदिनुहोला ।

तपाईँहरूलाई संस्थापन इतर समूहले पार्टी फुटाउँछ भन्ने सूचना छ?

हामीलाई पार्टी फुट्छ भन्ने डर र चिन्ता छ । त्यहीकारण पार्टी एक ढिक्का होस् भन्ने मनसायमा लागिरहेका छौं ।

नेपाल विद्यार्थी संघ र युवा पुस्ताले केकस्तो छलफल चलाइरहेका छन् ? कांग्रेसी युवाहरु चुपचाप देखिन्छ नि ?

विशेष महाधिवेशनअगाडि पनि पार्टी एक हुनुपर्छ भन्ने अनुरोध गरेका थियौँ । अहिले पनि हामी पार्टी एक हुनुपर्छ भन्ने अनुरोध नै गरिरहेका छौँ । यसबारे शीर्ष नेताहरु बसेर समाधान खोज्नुपर्छ । कांग्रेस विभाजन हुँदा सिङ्गो कांग्रेस र देशलाई नै असर पर्छ । लोकतन्त्र राष्ट्रियता र संविधानलाई समेत असर पर्छ । यो विषयमा अत्यन्त सुझबुझका साथ नेताहरू अघि बढ्नुस् भनेर पटक पटक अनुरोध गरिरहेका छौँ ।

आज बीपी स्मृति दिवसको दिन संस्थापन इतरका नेताले गगन थापामाथि ठूलो असन्तुष्टि प्रकट गर्नुभयो । तर उहाँलाई मात्रै दोष देखाएर पार्टी एक हुन्न नि हैन, पुराना नेतालाई के सुझाव दिनुहुन्छ ?

कांग्रेसमा सबैको क्षमता योगदान र जिम्मेवारी छ । सबैका आआफ्ना कमजोरी पनि छन् । तर आजको दिनमा कांग्रेसको मूल मियो गगन थापा हुनुहुन्छ । पार्टी सभापतिमा विराजमान भएको कारणले दोष उहाँलाई आउनु स्वभाविक हो । तर उहाँको मात्रै दोष छैन । सबै नेताहरुले आत्मालोचना गर्नुपर्छ । विशेषतः गगन थापाले ठूलो छाती देखाउनुपर्छ । सबैलाई मिलाएर महाधिवेशनमा लैजानुपर्छ र महाधिवेशनमा उहाँ नै जितेर आएपनि सबैले स्वीकार गर्छन् । अथवा अर्को व्यक्तिले जितेपनि त्यसलाई स्वीकार गर्छन् । हामी पनि गर्छौँ ।

कांग्रेसलाई फुटबाट जोगाउन के गर्नुपर्छ ?

धेरै काम गर्नुपर्छ । हाम्रो अनुरोध छ- तीन जना नेताहरु बसेर समाधान गर्नुहोस् । हिजो गगन थापा प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो आज उत्तर दिने ठाउँमा हुनुहुन्छ । त्यसकारण उहाँ अलिकति लचिलो हुनुपर्छ । समाधान दिने ठाउँमा पुगेको मान्छेले उहाँहरूको मागसहित नयाँ पुस्ताका साथीहरूको मागलाई पनि सम्बोधन गर्नुपर्छ ।

अन्तिममा कांग्रेस फुट्ने लाग्यो भने कसले मिलाउन सक्छ ?

अहिले कांग्रेस मिलाउने एकमात्र सुत्रधार सभापति गगन थापा नै हो । उहाँ अलिकति लचिलो भएर पुराना नेतासँग छलफल गरिदिएको अवस्थामा पार्टी सर्लक्कै मिलेर जान्छ । उहाँ संवादका लागि तयार भइदिनुपर्छ। अरु नेता पनि उहाँले संवाद गर्न संकेत दिएको अवस्थामा ठूलो हुनुहुँदैन ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : ५४ बजे

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा