इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो « Khabarhub

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा १६ हजार २५० डोज ‘एर्भेबो’ खोप आइपुगेको छ। इबोलाको १७औँ प्रकोप घोषणा भएको केही महिनापछि शुक्रबार खोपको पहिलो खेप कङ्गो पुगेको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार डीआर कङ्गोले जर्मनीमा उत्पादित एर्भेबो खोपको कुल ७० हजार डोज प्राप्त गर्नेछ। त्यसमध्ये २० हजार डोज चिकित्सकीय परीक्षणका लागि र बाँकी ५० हजार डोज अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत जोखिममा रहेका व्यक्तिलाई प्रयोग गरिनेछ।

औषधि कम्पनी मर्कले विकास गरेको एर्भेबो खोप इबोला भाइरसको जायर स्ट्रेनविरुद्ध प्रयोगका लागि स्वीकृत छ। तर हाल डीआर कङ्गोमा फैलिएको बुन्डिबुग्यो स्ट्रेनविरुद्ध यसको प्रभावकारिता प्रमाणित भइसकेको छैन। यद्यपि प्रारम्भिक अध्ययनले उक्त स्ट्रेनविरुद्ध पनि खोपले केही सुरक्षा प्रदान गर्न सक्ने देखाएको डब्लुएचओले जनाएको छ।

डीआर कङ्गोका स्वास्थ्यमन्त्री शमूएल रोजर काम्बाले एर्भेबो खोप यसअघि पनि विशेषगरी सन् २०१८ देखि २०२० सम्मको इबोला प्रकोपका क्रममा ठूलो मात्रामा प्रयोग गरिएको बताएका छन् ।

डीआर कङ्गोमा मे १५ मा इबोलाको १७औँ प्रकोप घोषणा गरिएको थियो। तर त्यसको केही साताअघिदेखि नै सङ्क्रमण फैलिन थालेको अनुमान गरिएको छ। देशका उत्तर तथा पूर्वी क्षेत्रमा स्वास्थ्य पूर्वाधारको अभाव र सशस्त्र समूहको गतिविधिका कारण प्रकोप नियन्त्रणमा चुनौती थपिएको छ।

कङ्गोली अधिकारीका अनुसार हालसम्म पाँच हजार २९० जना इबोला सङ्क्रमित पुष्टि भएका छन् भने दुई हजार ५१६ जनाको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसङ्घका वरिष्ठ इबोला संयोजक जुलियन हार्निसले प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

डब्लुएचओका खोप विज्ञहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध एर्भेबो खोपले प्रभावकारी सुरक्षा प्रदान गर्छ कि गर्दैन भन्ने यकिन गर्न मानव परीक्षण गर्न सिफारिस गरेका छन्। उक्त स्ट्रेनलाई लक्षित गरी विकास गरिएका अन्य खोप पनि हाल चिकित्सकीय परीक्षणको चरणमा छन्।

पछिल्लो पाँच दशकमा इबोलाका कारण अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १ : ४५ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर