बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको निरीक्षणमा निस्किन मन्त्री वादी « Khabarhub

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको निरीक्षणमा निस्किन मन्त्री वादी


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित हाकुबेसी आधारभूत विद्यालयका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालन गरिएको आवासीय सुविधासहितको अस्थायी विद्यालयको स्थलगत निरीक्षण गरेकी छन् ।

मन्त्री बादीले विद्यालय पुगेर बालबालिकाको शैक्षिक अवस्था, आवासीय सुविधा, खानपान, पोषण, स्वास्थ्य तथा दैनिक हेरचाह र व्यवस्थापनबारे प्रत्यक्ष जानकारी लिएकी हुन् । निरीक्षणका क्रममा उहाँले अध्ययनरत बालबालिकालाई जाडो मौसमलाई लक्षित गरी न्यानो कपडासमेत वितरण गरिन् ।

गत भदौ १० गते आएको बाढीका कारण हाकुबेसी आधारभूत विद्यालयको पठनपाठन अवरुद्ध भएपछि बालबालिकाको शिक्षा र संरक्षणलाई निरन्तरता दिन मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच भएको समझदारीअनुसार उक्त अस्थायी विद्यालय सञ्चालन गरिएको हो।

कक्षा १ देखि ८ सम्मका ६७ जना बालबालिकालाई लक्षित गरी स्थापना गरिएको विद्यालयमा हाल ४९ जना बालबालिका अध्ययनरत छन्। विद्यालयको शैक्षिक, आवासीय तथा दैनिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पुनर्निर्माण अभियान नेपालले सम्हालिरहेको छ।

निरीक्षणका क्रममा मन्त्री बादीले बालबालिकालाई उपलब्ध गराइने खानाको गुणस्तर र पोषणमा विशेष ध्यान दिन निर्देशन दिइन् । साथै, उनीहरूको स्वास्थ्य, दैनिक हेरचाह, आवासीय सुविधा र समग्र संरक्षणको व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई आग्रह गरिन् ।

मन्त्री बादीले अध्ययनरत बालबालिकासँग करिब एक घण्टा छुट्टै समय बिताएर प्रत्यक्ष संवाद गरिन् । उनले बालबालिकाले भोगिरहेका समस्या, विद्यालयको वातावरण, उपलब्ध सुविधा र थप आवश्यकताबारे उनीहरूकै अनुभव र भावना सुइन् ।

नीतिगत निर्देशन र औपचारिक निरीक्षणमा मात्र सीमित नभई बालबालिकाकैबीचमा पुगेर उनीहरूको आवाज सुन्ने र वास्तविक आवश्यकता बुझ्ने प्रयासले निरीक्षणलाई थप अर्थपूर्ण बनाएको थियो ।

निरीक्षणमा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव शान्तकुमार भण्डारीसहित परिषद् सचिवालयका सदस्यहरूको टोली सहभागी थियो।

सो अवसरमा सदस्य सचिव भण्डारीले मन्त्री स्वयं स्थलगत रूपमा उपस्थित भई विद्यालयको अवस्था निरीक्षण गर्नुका साथै बालबालिकासँग छुट्टै बसेर उनीहरूका समस्या र अनुभव सुन्नु सकारात्मक तथा संवेदनशील पहल भएको बताए ।

उनले भने, ‘मन्त्रीज्यू आफैँ यसरी फिल्डमा आएर निरीक्षण गर्नु र बालबालिकास्वयम्‌को कुरा छुट्टै बसेर सुन्नुले उहाँ बालबालिकाप्रति निकै संवेदनशील हुनुहुन्छ भन्ने देखाएको छ। विपद् प्रभावित बालबालिकाका लागि हालको सरकारले गरेको उदाहरणीय काममध्ये यो अस्थायी विद्यालय सञ्चालनको अवधारणा पनि एक हो।’

यसैबीच, नेपाल सरकारले विपद् प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह र स्याहार सुनिश्चित गर्न ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयन गरिरहेको छ।

उक्त योजनाले विपद्का कारण प्रभावित बालबालिकालाई सम्भव भएसम्म आफ्नै परिवारमा सुरक्षित रूपमा हुर्कने वातावरण सुनिश्चित गर्नुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतका आधारभूत सेवामा निरन्तर पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ।

विपद्का कारण बालबालिकाको शिक्षा र संरक्षण प्रभावित हुन नदिन अस्थायी विद्यालय सञ्चालनदेखि दीर्घकालीन संरक्षणको योजनासम्म अघि बढाइनुले विपद् व्यवस्थापनमा बालबालिकाको अधिकार, सुरक्षा र भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने सरकारी प्रतिबद्धतालाई उजागर गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ९ : ४७ बजे

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

ओटावा– क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष

मोदी–बालेन भेटको तयारी : नेपालको राष्ट्रिय झण्डाले सजियो नयाँदिल्ली ।

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको निरीक्षणमा निस्किन मन्त्री वादी

ललितपुर– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङ– मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भोजपुर– जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्द्धन तथा विस्तार गर्ने