हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रको मतदाता थिएँ । आज भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको क्षेत्रको मतदाताका रूपमा परिणत भएको छु । झापा–५ एमालेको उर्वरभूमि नै हो, यहाँ अरूले सामान्य सोचमा निर्वाचन जित्न पनि सक्दैनथे तर बालेनले जुन आँट गरे, त्यसको भने प्रशंसा गर्नुपर्छ ।
हिजोका दिनमा ओलीलाई मतदान गरेर सहयोग गरेकै हो तर यसपटक कसलाई मतदान गरियो भन्ने कुरा नभनेकै राम्रो होला; किनभने अर्को पक्षले भोलिको दिनमा वक्र नजर लगाउने सम्भावना बढी रहन्छ । धेरैले बालेन हार्न गएका होइनन् पनि भन्थे । उनको टोलीले धेरै समयदेखि त्यहाँ पुगेर अध्ययन गरेपछि बालेन निर्वाचनमा प्रतिस्पर्धा गर्ने सोचमा पुगेका हुन् ।
बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा ओलीले जसरी दिनैपिच्छे उनलाई असहयोग गरे, सधैँ विरोधमा मात्रै बोलिरहे, कहिले प्रमुख प्रशासकीय अधिकृत नपठाएर त कहिले दुर्वाच्य बोलेर असहयोग गरे । त्यसपछि नै ओलीसँग बालेनको प्रतिस्पर्धी सोच आएको हुन सक्ने सिधै अनुमान गर्न सकिन्छ ।
प्रधानमन्त्रीले आफ्नो हैसियत बिर्सेर मेयरसँग झगडा गर्नुले पनि ओलीलाई बालेनले राम्रो काम गर्लान् कि भनेर त्यतिबेलै डर रहेछ ।
प्रधानमन्त्रीले आफ्नो हैसियत बिर्सेर मेयरसँग झगडा गर्नुले पनि ओलीलाई बालेनले राम्रो काम गर्लान् कि भनेर त्यतिबेलै डर रहेछ । त्यति मात्र होइन, त्यो बेला पनि बालेन गएको कार्यक्रममा मानिसको खचाखच भिड हुने र प्रधानमन्त्री ओली जाँदा मान्छे नै नआउने कुराले पनि ओलीलाई बालेनसँग रिस उठेको हुन सक्छ ।
त्यो क्षेत्रको निर्वाचनका बारेमा धेरै कुरा सुनिरहँदा मलाई पनि काठमाडौंबाट सबै काम छोडेर केही दिनअघि नै गाउँ जाउँजस्तो लाग्यो र हानिएँ । बाटोमा जाँदा पनि धेरै जनासँग राजनीतिक गन्थनमन्थन गरियो । एमालेसँग निकट रहेका वा भनौँ एमालेबाहेक यो संसारमा केही पनि छैन भन्ने अभिव्यक्ति दिनेहरूसँग पनि विस्तारै कुरा गर्दै गएँ । यो बेलामा उनीहरूको र त्यहाँका प्रतिनिधिसभा उम्मेदवार ओलीको विरोधमा बोल्नु भनेको ज्यानै धरापमा राख्नुजस्तो थियो ।
काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएकाले भोलिको दिनमा सबैको सहयोग चाहिन्छ भन्ने बुझेर नै मैले प्रायः बोल्नेभन्दा पनि अरूको कुरा सुन्ने नै प्रयास गरेँ । तर कतिपय ठाउँमा बोल्नैपर्ने भएकाले वरपर हेरेर त्यो पनि काम छोडिनँ । साँझपख गौरादहको घर पुगेपछि एकसरो गाउँ घुमेँ, जसलाई सोध्दा पनि चुपचाप नै छन् । केहीले भने– ‘यसपालि विचार गर्नुपर्छ,’ मैले फेरि थपेँ– ‘ओली त राष्ट्रवादी नेता, नाकाबन्दीको विरोधमा बोलेको मान्छे, फेरि यो क्षेत्रमा यत्रो विकास गरेका छन् । किन उनलाई भोट नदिने ?’
मेरो यो कुरा सकिन नपाउँदै उसले दिने जवाफ योभन्दा झन् कडा र मैले पनि बुझ्नैपर्ने खालको थियो । हुन त मलाई पनि थाहा थियो– झापाको त्यो क्षेत्रमा भएजस्तो विकास छिमेकी गाउँ र जिल्ला इलाम, पाँचथर, मोरङ, सुनसरीतिर पनि भएको थियो । तर कुनै पनि जिल्लामा ओलीले बाहेक अरू नेताले दमकको जस्तो ‘भ्यूटावर’ भने बनाउन सकेनन् । यो किन र कसरी बन्यो भन्ने कुरा पनि निर्वाचनको मुखमा प्रस्ट भइसकेको छ ।
जन्मजातै एमाले भन्नेहरू हाम्रो गाउँमा कम छैनन् । उनीहरूको घरमा गएर उनकै चिया र खाजा खाएर कुरा गर्दा पनि कताकता उनीहरूको बोलीमै शंका उत्पन्न हुन्थ्यो । उनीहरूले चुनावी लहरसँगै ओलीले गरेका केही गलत कामको पनि चर्चा गर्थे, जसको मुख्य कुरा चाहिँ गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन थियो ।
चुनावी लहरसँगै ओलीले गरेका केही गलत कामको पनि चर्चा गर्थे, जसको मुख्य कुरा चाहिँ गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन थियो ।
कसैकसैले त ‘के फेरि मान्छे मार्न ओलीलाई भोट हाल्ने ?’ भनेर मसँग रिस पनि पोखे । यतिबेलासम्म एमाले कता छन् र के गर्दै छन् भन्ने पत्तै पाइँदैनथ्यो । डिपुचोकको कुनै कुनामा बसेर उनीहरू योजना बनाइरहेका हुन्थे, जुन कुरा कसैलाई पनि थाहा हुँदैनथ्यो ।
चियापसलमा पनि अर्कैको वर्चस्व
हिजोका दिनमा एमाले बस्ने र चिया खाने पुण्य पौडेलको चियापसलमा त्यतिबेला अरू नै नयाँ शक्तिले आफ्नो प्रभुत्व जमाइसकेको थियो । साँच्चै भन्ने हो भने त्यहाँको चुनावी माहोल श्राद्धजस्तो पनि थिएन । श्राद्धमा त ओल्लोघर, पल्लोघर, नातागोता आउँथे, खाना खाएर निस्कन्थे । कोही घरमा छिर्थे, मानिसको आउजाउले ‘यहाँ त पक्कै कोही रहेछ’ भन्ने हुन्थ्यो । तर त्यतिसम्मको पनि चुनावी माहोल देखिएन ।
यो क्षेत्रमा शाह र ओलीको मात्रै माहोल बनेकाले अरू पार्टीका र स्वतन्त्र उम्मेदवारको जतिसुकै चहलपहल भए पनि त्यसले अर्थ राखेन । ‘चुपचाप घण्टी छाप’ भनेजस्तै नै भयो । कसले कहाँ मतदान गर्छ अनुमान लगाउन नै सकिँदैनथ्यो तर जसले ‘म त यसपालि घण्टीमा भोट हाल्ने’ भन्थ्यो, अनि मात्र उसँग अर्काको कुरा मिल्थ्यो र कुनामा बसेर कुराकानी गर्थे ।
काठमाडौं महानगरको मेयर छोडेर शाह ओलीसँग भिड्न जानु पनि चानचुने कुरा थिएन । एमालेले अनुमान गरेभन्दा फरक भयो शाहको त्यो यात्रा । जसरी काठमाडौं महानगरमा मेयर उठ्दा पनि उनलाई जितिन्छ भन्ने सुरुमा निश्चित थिएन, एमालेलाई ‘हाम्रा केपी ओली पो हुन्, कसले हराउन सक्छ’ भन्ने घमण्ड भयो । त्यो घमण्डलाई मौन ढङ्गले बालेनले चकनाचुर पारिदिए । माघ ६ गते मनोनयन दर्ता गर्ने क्रममा बालेनको पक्षमा उर्लिएको भिडलाई पनि एमालेले अनुमान लगाउन सकेन ।
एमालेलाई ‘हाम्रा केपी ओली पो हुन्, कसले हराउन सक्छ’ भन्ने घमण्ड भयो । त्यो घमण्डलाई मौन ढङ्गले बालेनले चकनाचुर पारिदिए ।
त्यो दृश्यले ‘सातो गएको’ एमालेको सातो फर्किन नपाउँदै निर्वाचन भयो, जसको परिणामस्वरूप ओलीको शर्मनाक हार भयो । सामान्य झारफुक गर्ने, सातो बोलाउने, कुखुरा र हाँस मन्छाउने, अण्डा चढाउने काम त एमालेजनले गरे नै तर त्यो पनि प्रभावकारी बन्न सकेन ।
ओलीमाथि प्रश्नैप्रश्न
विगतका निर्वाचनमा ओली उम्मेदवारी दर्ता गरेर काठमाडौं फर्कन्थे र पार्टीका कार्यकर्ताले विस्तारै माहोल बनाउँदै जान्थे । त्यतिबेला माहोल ओलीकै पक्षमा भएकाले भइरहेको वातावरणमा थोरै मात्र ऊर्जा थपे पनि पुग्ने अवस्था थियो । तुलनात्मक रूपमा हिजोको दिनमा ओलीको विकल्प नै थिएन । हिजो ‘ओलीले हार्नु हुँदैन र उनलाई हराउनु हुँदैन’ भन्ने आवाज सुनिन्थ्यो भने अहिलेको निर्वाचनमा ‘ओलीले जित्नु हुँदैन’ भन्ने मात्र सुनियो । किन त्यसो भनियो, ओलीले समीक्षा गर्लान् र समयले नै बताउला । यतिसम्म कि ३ सय ६४ दिन ‘जय नेपाल’ भन्ने धेरै कांग्रेसीले पनि ओलीलाई मतदान गर्ने परम्परा पुरानै हो ।
कांग्रेसको नाम लिएर पाउनेजति सबै पद पाए पनि उनीहरू आफूलाई मतदान गर्ने अवस्थाबाहेक सधैँ ‘सूर्य’ लाई नै मतदान गर्दै आएका पहिचान बोकेकाको प्रयासले पनि यसपटक धान्न सकेन । उनीहरूलाई एमालेले आफ्नै मतमा गणना गर्दै आएको थियो ।
आफ्नो पक्षमा माहोल कमजोर छ भनेर गाउँगाउँ पुगेका ओलीलाई जनताले गरेको प्रश्नले उनी झन् कमजोर भए । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनपछि ओली कहिल्यै पनि त्यसरी गाउँ गएर मत नमागेको अनुभव स्थानीय सुनाउँछन् । ओली २०४८ सालमा सबैभन्दा पहिलो पटक झापा–६ बाट उम्मेदवार भएका थिए । झापामा कहिले ७ वटा त कहिले ६ वटा निर्वाचन क्षेत्र रहँदै आएका छन् ।
ओली यसैको सेरोफेरोमा क्षेत्र नम्बर जता परे पनि त्यहीँबाट उम्मेदवार बन्दै आएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा झापा–७ बाट हार खानुपरेको बाहेक ओलीले संसदीय निर्वाचनमा हारेको अनुभव गर्न पाएका थिएनन् । तर यो हार भने जतिपटक मुख धोए पनि, कुल्ला गरे पनि गन्हाइरहने खालको भयो ।
साँघुरो घेराभित्र बसेर रमाएका ओलीलाई त्यो क्षेत्रको अवस्था के छ ? मानिसहरू के भन्छन् ? कोही रिसाएका पो छन् कि ? भन्ने पत्तै भएन । झापा जाँदा पनि सीमितको घेरामा परेर ‘सबै राम्रो छ’ भनेर कार्यकर्ताले भनिदिने र ओली मख्ख पर्ने गर्दथे । जनताले ओलीमाथि गरेको प्रश्न सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि पनि ओलीको मत घट्यो ।
ओली पटकपटक यही निर्वाचन क्षेत्रबाट चुनाव उठ्दै आएका थिए । केही अवस्था बिग्रिएको भए पनि आफ्ना खास मान्छेले यसो भन्न सकेनन्; किनभने ओली रिसाउलान् भन्ने डर थियो । एक जना पार्टीकै जिम्मेवारले ‘हामीलाई अब गाह्रो छ’ भनेका मात्रै थिए रे, ओली झम्टिएको पनि सुनियो । त्यसैले यसको दोष पार्टीका नेता र कार्यकर्तालाई मात्रै दिनुभन्दा पनि सबैभन्दा बढी जिम्मेवार ओली नै हुनुपर्छ ।
सत्य कुरा भन्दा पचाउन नसक्ने र आफ्नो चाकरी मात्रै खोज्ने ‘ओली प्रवृत्ति’ हानिकारक बनेको छ । यो निर्वाचनमा ओलीको पक्षमा बोल्दा एमालेका स्थानीय नेतालाई पनि भोलिको दिनमा नराम्रो असर परेको छ । बालेन गएपछि कहाँबाट कति र कहाँका मान्छे आउँछन् भन्ने कल्पना गर्न पनि गाह्रो हुने गरेको थियो । कहिलेकाहीँ चलेको सिनेमा हेर्न जाने सोच भएकाले ढिलो गएर टिकट काट्दा सिट पाइँदैन भनेर छिटो पुगेर सिट सुरक्षित गरेजस्तै, बालेन जाँदा पनि मान्छे दुई घण्टाअघि नै पुगिसकेका हुन्थे ।
ओलीले बढाए बालेनको मत
बालेन जाँदा पनि उनको मत बढ्ने र ओली गाउँ घुमे पनि बालेनकै मत बढ्ने भएकाले ओलीलाई संकट पर्दै आएको थियो । आफूसँग प्रतिस्पर्धा गर्नेलाई कमजोर ठान्ने ओली प्रवृत्ति पनि घातक बनेको थियो । यतिसम्म कि ओलीले ‘रास्वपा सभापति रवि लामिछानेले बालेनलाई हराउनकै लागि योजना बनाएर मसँग निर्वाचनमा लड्न पठाएको’ समेत भन्न भ्याए।
बालेन जाँदा पनि उनको मत बढ्ने र ओली गाउँ घुमे पनि बालेनकै मत बढ्ने भएकाले ओलीलाई संकट पर्दै आएको थियो ।
रास्वपाले निर्वाचनअघि नै बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको थियो । निर्वाचन क्षेत्र नै नबुझेको मान्छे ‘मसँग सिंगौरी खेल्न आए’ भनेर ओलीले भनिरहँदा एमालेका कार्यकर्ताले ताली पड्काए पनि अहिले उनीहरूको हात माथि उठ्न सकेको छैन । प्रतिनिधिसभामा उम्मेदवारी दिनलाई जसले जुन क्षेत्रमा पनि पाउने व्यवस्था छ भन्ने कुरा एमालेले नबुझेका हुन् कि नबुझेजस्तो गरेका हुन्, बुझ्न सकिएन ।
बालेन वडाध्यक्ष हुन गएका थिएनन्, त्यसैले उनको मतदाता नामावली त्यहाँ हुनुपर्ने थिएन । हुन त ओली त्यो क्षेत्रबाट निर्वाचनमा उठे पनि उनी पनि बालेनजस्तै हुन्; किनभने ओली पनि त्यहाँका मतदाता होइनन् । ओलीले यो निर्वाचनमा भक्तपुर–२ बाट मतदान गरे ।
मत परिणाममा त्यो अन्तर
१ लाख ६ हजार ५ सय ५७ मत खसेकोमा १ लाख २ हजार ३ सय ३८ मत सदर भयो । जसमा घण्टी चिह्न लिएका रास्वपाका उम्मेदवार बालेनले ६८ हजार ३ सय ४८ मत ल्याए । प्रमुख प्रतिस्पर्धी भन्न नसुहाए पनि बाध्यताले भनिदिनुपर्ने ओलीले १८ हजार ७ सय ३४ मत ल्याए । यो अन्तर ४९ हजार ६ सय १४ मतको हो । यहाँ ४२ सय १९ मत बदर भयो । यो परिणामलाई हेर्दा पनि ओलीले र त्यहाँका एमालेले पक्कै पनि गम्भीर ढङ्गले समीक्षा गर्नुपर्छ ।
‘देशैभर एमालेले हार्यो, कांग्रेसले पनि त हार्यो नि’ भनेर ओली र एमाले उम्किने ठाउँ छैन । एमाले, कांग्रेस र अन्य पार्टीका उम्मेदवारले पनि घण्टीको उम्मेदवार हुँदा निर्वाचन जितेको सन्दर्भलाई ध्यान दिन जरुरी छ । फेरि अरू सामान्य उम्मेदवारले हार्नु र ओलीले यति धेरै अन्तरले हार्नु चानचुने हुँदै होइन ।
नैतिकताको प्रश्न
२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेको परिणाम कमजोर हुँदा तत्कालीन महासचिव माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । नेपालले त्यतिबेला रौतहट र काठमाडौंबाटै निर्वाचन हारेका थिए । आफ्नो हारसँगै पार्टीको कमजोरी भएकाले नेपालले राजीनामा दिए पनि एमाले अध्यक्ष भने अहिले राजीनामा दिने ‘मुड’मा छैनन् ।
एमालेको गत मंसिरमा भएको महाधिवेशनमा जसरी भए पनि आफू नै अध्यक्ष हुने विधान संशोधन गरेर आफैँलाई निर्वाचनबाट भए पनि अध्यक्ष नै चाहिनु, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि पार्टीको राजनीतिमा आउन नदिनु, महाधिवेशनमा आफ्नो पक्षका प्रतिनिधि चयन नभएका जिल्लामा फेरि अधिवेशन गरेर भागबन्डामा आफ्नै मात्र सदस्य ल्याउनु, महाधिवेशनमा आफ्नो विरोधमा बोल्नेलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार नबनाउनु मात्र होइन, ओलीको हारका कारण अरू धेरै छन् ।
मुख्य कुरा त ‘जेनजी’ आन्दोलनमा त्यति धेरै मानिस राज्य पक्षबाट मारिँदा पनि प्रधानमन्त्रीको हैसियतले देशको नाममा सम्बोधन नगर्नु पनि उनी र एमालेका लागि खतराको घण्टी हो । अवस्था असहज हुँदा पनि प्रधानमन्त्रीबाट राजीनामा नदिनु र जसरी भए पनि प्रधानमन्त्रीको जागिर बचाउन पाए हुन्थ्यो भनेर अनेक तिक्डमबाजी गर्नु पनि ओलीका लागि ओरालो यात्रा थियो ।
मुख्य कुरा त ‘जेनजी’ आन्दोलनमा त्यति धेरै मानिस राज्य पक्षबाट मारिँदा पनि प्रधानमन्त्रीको हैसियतले देशको नाममा सम्बोधन नगर्नु पनि उनी र एमालेका लागि खतराको घण्टी हो ।
ओलीले प्रतिनिधिसभाको यो निर्वाचन जित्न सक्ने सम्भावना भएका र हिजो जित्दै आएका केहीलाई टिकट नदिएपछि उनको विरोधमा पार्टीभित्र र बाहिर पनि एक प्रकारको जनमत नै देखियो । अब पनि ‘एमालेको नेता हुँ’ भन्नेले जे भइरहेको छ, त्यसको विरोधमा बोलेनन् भने भोलिको दिनमा पार्टीलाई ठूलो असर पर्नेछ । ओलीले भोलि टिकट दिउन् कि नदिउन्, पार्टीबाट निकाले पनि निकालुन् भनेर कडा रूपले बोल्नुपर्ने बेला भएको छ ।
व्यक्ति राम्रो भए अरू पार्टीले पनि ठाउँ दिँदो रहेछ र माहोल भए जहाँ पनि चुनाव जित्न सकिन्छ भन्ने यो निर्वाचनले प्रमाणित गरिदिएको छ । त्यसैले पनि दुब्लाएको पार्टीमा बसेर मोटो भएजस्तो गर्ने कि पार्टीलाई सशक्त बनाएर लैजाने भन्नेबारेमा एमालेका अध्यक्ष ओली र अरूले पनि सोच्नुपर्ने समय आएको छ ।
बुवाको काजकिरियामा बसेका ओलीले घरको काम सकेपछि शुद्ध भएर बाहिर निस्केपछि पार्टीलाई पनि शुद्ध पार्न प्रभावकारी भूमिका खेल्नुपर्ने खाँचो छ । बाहिर रहेका अरू कम्युनिस्ट पार्टीलाई मिलाउने कि ? बरु अध्यक्ष छोडेर भए पनि कसैलाई नेतृत्व दिँदा पार्टी बलियो हुन्छ भने त्यो पनि विकल्पमा जानु उपयुक्त हुन्छ । तर ‘पार्टी नै म हुँ’ र ‘मबाहेक पार्टी नै हुँदैन र बच्दा पनि बच्दैन’ भनेर पार्टीको अवस्था नबुझी सधैँ अध्यक्ष मात्र भइरहने संस्कार भने गाउँघरतिर श्रीमती पीडित संघको अध्यक्ष, दुर्व्यसनी हकहित समाजको अध्यक्ष वा बेगारी टोल विकास संस्थाको अध्यक्ष भइरहने संस्कारभन्दा अरू कुनै फरक हुने छैन ।













प्रतिक्रिया