सुक्दै गरेका पानीको मुहान र महिलाको सङ्घर्ष « Khabarhub

विश्व जल दिवस

सुक्दै गरेका पानीको मुहान र महिलाको सङ्घर्ष



मेरो बाल्यकालको घर अगाडिको इनार मलाई अझै सम्झना छ । त्यो हाम्रो घरका लागि पानीको स्रोत मात्र थिएन, परिवारको अभिन्न अङ्ग पनि थियो । तर, समयसँगै त्यो इनार सुक्यो । हामीले विकल्प रूपमा ‘कल’ गाड्यौँ । तर, त्यसले पनि दिगो राहत दिन सकेन । जब—जब कल सुक्थ्यो, घरमा एउटा सन्नाटा र छटपटी छाउँथ्यो । र, त्यो अभावको सबैभन्दा ठूलो भारी मेरी आमाको काँधमा पर्थ्यो ।

ग्रामीण परिवेशमा अर्को यथार्थ के हो भने खेतमा पानी नभए उब्जनी पनि हुँदैन । खेतमा उब्जनी नहुँदाको आर्थिक र मानसिक पीडा पुरुषभन्दा बढी महिलाले भोग्नुपर्छ । पानीको अभाव केवल पेटको भोक मात्र होइन, महिलाका लागि यो कहिल्यै नसकिने दुःखको पहाड पनि हो । बिहान सबेरैदेखि राति अबेरसम्म पानीको जोहो गर्नमै उनीहरूको ऊर्जा र समय खर्च भइरहेको हुन्छ ।

समय क्रमसँगै पढाइको सिलसिलामा म काठमाडौँ आएँ । सहरमा त केको समस्या होला र ? भन्ने मलाई लागेको थियो । तर यहाँ त पानीको अर्कै ‘महाभारत’ रहेछ । खाना पकाउनेदेखि लुगा धुने कामसम्म, पानीको अभावले सहरका महिलाहरूलाई पनिले उत्तिकै पिल्साएको छ ।

एउटी महिला भएको नाताले म यो पीडालाई नजिकबाट महसुस गर्न सक्छु । सहर पसेको १० वर्ष भइसक्यो, तर यहाँ पनि हामी पानीको हाहाकारलाई आफ्नै आँखाले टुलुटुलु हेर्न विवश छौँ । यो कथा सहरमा मात्र होइन, मधेसको अवस्था पनि उस्तै र अझ डरलाग्दो छ । दिन प्रतिदिन भूमिगत जलको सतह हरेक वर्ष तल झरिरहेको छ । बोरिङहरू सुकिरहेका छन् । आखिर कहाँसम्म र कहिलेसम्म हामीले धर्ती खनिरहने ?

आज मार्च २२, विश्व पानी दिवस २०२६ । संयुक्त राष्ट्रसङ्घले यस वर्ष एउटा मर्मस्पर्शी नारा तय गरेको छ- ‘जहाँ पानी बग्छ, त्यहाँ समानता फल्छ’ । नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश हो । भनेर हामी गर्व गर्छौँ ।

तर, सन् २०२६ को धरातलीय यथार्थ यो गौरवभन्दा निकै फरक र चुनौतीपूर्ण छ । हाम्रो हिमालको अवस्था हेर्दा जलवायु परिवर्तनले हाम्रा सेता हिमालहरू कालापत्थरमा परिणत हुँदैछन् । यसले नदीहरूको बहावमा अनिश्चितता ल्याएको छ, जसको प्रत्यक्ष असर तल्लो तटीय क्षेत्रमा बस्ने करोडौं मानिसमा परिरहेको छ।

यससँगै, समानताको प्रश्न पनि गम्भीरतापूर्वक मनन् गर्नैपर्छ, यदि महिलाले पानीकै लागि दिनभर सङ्घर्ष गर्ने हो भने हामीले परिकल्पना गरेको ‘समानता’ कहिले र कसरी आउँछ ? के घर चलाउनका लागि पानीको व्यवस्थापन र जोहो गर्ने जिम्मा केवल महिलाको मात्रै हो त ?

विभिन्न तथ्याङ्क र अध्ययनहरुले के देखाएको छ भने नेपालका ग्रामीण महिलाहरूले दैनिक औसत ३ देखि ५ घण्टा केवल पानी बोकेरै बिताउँछन् । जब गाउँका पानीपँधेरा र कुवाहरू सुक्छन्, ती महिलाहरूको दुःखको आयतन बढ्छ ।

उनीहरू झन् टाढाको मुहान खोज्न जानुपर्छ। यसले उनीहरूको स्वास्थ्य, आर्थिक उत्पादन र बालिकाहरूको शिक्षामा प्रत्यक्ष असर गरिरहेको हुन्छ । यदि ती महिलाहरूलाई घरमै स्वच्छ पानीको सुविधा हुने हो भने, उनीहरूले त्यो समय आफ्नो सीप विकास वा आयआर्जनमा लगाउन सक्थे । त्यसैले, ‘जहाँपानी बग्छ, त्यहाँ समानता फल्छ’ भन्ने नाराले पानीको उपलब्धता नै महिला सशक्तीकरणको ढोका हो भन्ने प्रष्ट पार्छ ।

अघिल्लो वर्ष मधेसमा देखिएको खडेरी र त्यसपछिको महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ । हाम्रो हिमाल पग्लँदै छ र पानीको मुहान सुक्दैछ । अब पानीलाई केवल एउटा स्रोत मात्र नमानौँ, यसलाई सामाजिक न्याय र लैङ्गिक समानताको आधारस्तम्भको रूपमासमेत बुझनउतिकै जरुरी छ ।

तसर्थ, हामीले पानीको न्यायपूर्ण व्यवस्थापन गर्न सकेनौँ भने हामीले समानताको कल्पना पनि गर्न सक्दैनौँ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : २६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक