दिर्घरोगीले जथाभाबी खाना बार्नु स्वास्थ्यका लागि हानिकारक  « Khabarhub

दिर्घरोगीले जथाभाबी खाना बार्नु स्वास्थ्यका लागि हानिकारक 



काठमाडौं– आजभोलि मानिसहरू खानपिनको विषयमा निकै सचेत भए तापनि समाजमा रोग र त्यसको उपचारलाई लिएर थुप्रै भ्रमहरू व्याप्त छन् । 

विशेषगरी रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, थाइराइड वा मुटु सम्बन्धी समस्या देखिने बित्तिकै मानिसहरू आवश्यक औषधी खान हिचकिचाउने र जथाभाबी खाना बार्ने तर्फ बढी केन्द्रित हुने गरेको पाइन्छ । 

उदाहरणका लागि, युरिक एसिड र थाइराइडको समस्या हुँदा मानिसहरूले गेडागुडी, दाल, काउली, बन्दा, मुला र सागपात जस्ता स्वस्थकर खानेकुरा नै खान छोड्ने गर्छन्, जुन मुटु र समग्र स्वास्थ्यका लागि वास्तवमा अत्यन्तै लाभदायक हुन्छन् ।

यस्ता पौष्टिक तत्त्व भएका प्राकृतिक खानेकुरा बार्दा शरीरमा पोषणको कमी हुने र बिरामीहरू उल्टै अस्वस्थकर विकल्पतर्फ आकर्षित हुने जोखिम रहन्छ ।

वास्तवमा, युरिक एसिडको समस्या खानपिनले भन्दा पनि बढी वंशाणुगत कारणले हुने भएकाले गेडागुडी बार्नुभन्दा रातो मासु कम गर्ने र रक्सी पूर्ण रूपमा बन्द गर्नु नै उत्तम विकल्प हो । 

थाइराइडका बिरामीले पनि स्वस्थकर तरकारी बार्नुभन्दा चिकित्सकको सल्लाहमा औषधीको सही मात्रा मिलाएर खानु बढी बुद्धिमानी हुन्छ । नयाँ अनुसन्धानहरूका अनुसार युरिक एसिडलाई सामान्य औषधीद्वारा नियन्त्रण गर्दा मुटु रोगको जोखिमसमेत एक तिहाइले कम हुन्छ । 

मुटु रोग लागिसकेका वा मुटुमा स्टेन्ट हालेका बिरामीहरूलाई तेल, नुन र मासु केही नदिई एकदमै खल्लो खाना मात्र दिँदा उनीहरू शारीरिक रूपमा कमजोर हुने र मानसिक तनाव (डिप्रेसन) को सिकार हुने अवस्था आउँछ । यस्ता बिरामीले बाहिरको जंक फुड र ट्रान्स फ्याट मात्र बार्नुपर्छ भने घरमा पाक्ने सामान्य नेपाली खाना सन्तुलित रूपमा खानु उपयुक्त हुन्छ ।

त्यस्तै, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्यामा पनि धेरैले औषधी खान नमान्ने र केवल व्यायामबाटै ठिक गर्छु भन्ने जिद्दी गर्ने गरेको पाइन्छ । तर, यदि रक्तचाप धेरै नै उच्च (जस्तै १६० १०० भन्दा माथि) छ भने कडा व्यायाम गर्दा नसा फुटेर मष्तिष्कघात (स्ट्रोक) हुने गम्भीर खतरा रहन्छ । 

वंशाणुगत कारणले बढेको कोलेस्ट्रोल खाना बारेर मात्र नघट्ने भएकाले चुरोट र रक्सी पूर्ण रूपमा छोड्ने र आवश्यक परे चिकित्सकको सल्लाहमा औषधी सेवन गर्नु नै सुरक्षित उपाय हो । 

रोग लाग्नुभन्दा अगाडि रोकथामका लागि खानपिन र जीवनशैलीको भूमिका शतप्रतिशत हुन्छ, तर रोग लागिसकेपछि उपचारमा औषधीको भूमिका प्रमुख र खानपिन दोस्रो प्राथमिकतामा पर्छ । 

तसर्थ, रोग लागिसकेपछि जथाभाबी खाना बार्ने गल्ती नगरी डाक्टरको सल्लाहमा नियमित औषधी सेवन गर्ने र घरमा पाकेको सन्तुलित खाना निर्धक्क खानु नै स्वस्थ रहने सही मार्ग हो ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १२ : ३० बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।