‘साइलेन्ट किलर’ बन्दै रेबिज : सरकारको ढिलासुस्ती र बेवास्ताले देशैभर छैन खोप « Khabarhub

‘साइलेन्ट किलर’ बन्दै रेबिज : सरकारको ढिलासुस्ती र बेवास्ताले देशैभर छैन खोप

धमाधम ज्यान गुमाउँदैछन् बिरामी


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको चन्द्रागिरिका एकजना ४८ वर्षीय पुरुषलाई केही महिनाअघि घरकै सानो कुकुरले टोक्यो ।  घाउ सानो थियो, रगत पनि धेरै बगेको थिएन । आफ्नै घरको कुकुर त हो नि, के नै होला भन्दै खोप नलगाई बेवास्ता गरेर बसे। तर, समयसँगै उनको शरीरमा रेबिजको भाइरस फैलिसकेको थियो । 

उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरियो, तर त्यसो गर्दासम्म धेरै ढिलो भइसकेको थियो । उपचारकै क्रममा शनिबार उनले ज्यान गुमाए ।

नेपालमा यो कुनै नौलो घटना होइन । कुकुर वा बिरालो जस्ता जनावरले टोकेपछि रेबिजविरुद्धको खोप लगाए शतप्रतिशत बाँच्न सकिने वैज्ञानिक तथ्य छ । तर, यो जानकारी हुँदाहुँदै लापरबाही गर्ने चलन छ । अर्कातिर चेतनाको अभाव र सामाजिक भ्रमका कारण वर्षेनि अकालमै ज्यान गुमाउनेको संख्या डरलाग्दो छ ।  

जसको समस्या खोप वा औषधिको मात्र नभई समाजको सोच, चेतना र स्वास्थ्य सेवाको पहुँचसँग जोडिएको एउटा गम्भीर चुनौती भएको चिकित्सकहरू बताउँछन् ।  

साइलेन्ट किलर रेबिवज 

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन रेबिजलाई ’साइलेन्ट किलर’ (मौन हत्यारा) को संज्ञा दिन्छन् । यो रोगबारे जति व्यापक छलफल र बहस हुनुपर्ने हो, त्यति नभएकालले सधैँ ओझेलमा परिरहेको डा. पुनको भनाइ छ ।  

नेपालमा रेबिजबाट मृत्यु हुनेहरूको वास्तविक भार तथ्याङ्कमा देखिएभन्दा धेरै बढी हुनसक्ने चिकित्सकहरूको अनुमान छ । टेकु अस्पतालको तथ्याङ्क अनुसार वर्षेनि औसतमा १५ देखि २० जनाको मृत्यु रेबिजका कारण हुने गरेको छ । 

तर, विभिन्न राष्ट्रिय तथा दस्तावेज केलाउँदा नेपालमा वार्षिक करिब सय जनासम्मले रेबिजकै कारण ज्यान गुमाउने गरेको पाइन्छ । धेरैजसो मानिस स्वास्थ्य सेवाको पहुँचबाहिर रहेकाले यो रोगको वास्तविक खतराबारे सार्वजनिक बहस हुन सकेको छैन । 

एआरभी खोप र एन्टिस्नेक भेनम संकट 

पछिल्ला केही हप्तादेखि देशका विभिन्न भागमा रेबिजविरुद्धको खोप (एआरभी) र सर्पदंशविरुद्धको ’एन्टिस्नेक भेनम’ चरम अभाव देखिएको छ । 

वर्षायाम सुरू भएसँगै तराई–मधेससहित देशभर सर्पदंश र जनावरले टोक्ने घटना बढेका छन्, तर जीवनरक्षक औषधिहरू बजारमा पाउन छाडेका छन् ।  यो अभावको मुख्य कारण सरकारले समयमै खरिद प्रक्रिया अगाडि बढाउन नसक्नु हो । 

विश्वव्यापी मूल्यवृद्धि, पश्चिम एसियामा जारी युद्ध र डलरको मूल्यमा उतारचढावका कारण पुरानो दररेटमा खोप उपलब्ध हुन नसक्दा आपूर्ति प्रभावित भएको हो । सबैभन्दा बढी चाप रहने टेकु अस्पतालमा यसको अभाव खड्किएको छ ।  

खोप अभावले रेबिजको जोखिमलाई झन् व्यापक बनाएको डा. पुन बताउँछन् । खोप नपाएपछि मानिसहरू अर्को जिल्ला वा ठूला अस्पताल धाउन बाध्य छन् । तर सबै मानिस सुविधा भएको ठाउँमा जान सक्दैनन् । 

‘कसैलाई आर्थिक समस्या हुन्छ, कसैलाई भौगोलिक कठिनाइ, त कसैलाई खेतीपातीको चटारो हुन्छ। यही अल्मलमा धेरैले ‘भोलि जाउँला’, ‘पर्सि जाउँला’ भन्दै ढिलाइ गर्छन् । अन्ततः रोगको सिकार बनेर ज्यानै गुमाइरहेका छन्’, उनले भने ।

 सरकारको तयारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बजार दरसँग सामञ्जस्य गरेर टेन्डर प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको छ । अब झन्डै ५ लाख भायल एआरभी आपूर्ति गर्न सम्झौता हुँदैछ । 

तत्कालको अभाव टार्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग समन्वय गरी आकस्मिक रूपमा ४ हजार ५ सय भायल खोप नेपाल भित्र्याइएको छ, जसले टेकु अस्पताललाई करिब एक महिना पुग्नेछ । 

मन्त्रालयले एआरभीसँगै १७ हजारभन्दा बढी इम्युनोग्लोबुलिन र १३ हजार २०० भायल एन्टिस्नेक भेनम पनि पाइपलाइनमा रहेको दाबी गरेको छ । यस्ता कानुनी अड्चन सधैँलाई हटाउन सार्वजनिक खरिद ऐन नै परिमार्जन गर्ने तयारी सरकारले थालेको उनले बताए ।   

 वर्षेनि किन भइरहेका छन् मृत्यु ? 

अहिले अधिकांश सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुन्छ । यस्तो अवस्थामा पनि मानिसहरू समयमै अस्पताल नपुग्नुका पछाडि डा. पुनले केही सामाजिक कारण औंल्याएका छन् ।

१. सानो घाउलाई गम्भीर नठान्नु : मानिसहरू ठूलो कुकुरले टोकेमा वा धेरै रगत बगेमा मात्र दौडेर अस्पताल जान्छन् । सानो घाउ वा सामान्य सम्झेर बेवास्ता गर्ने प्रवृत्ति नै मृत्युको सबैभन्दा ठूलो कारण बनिरहेको छ ।  

२. बालबालिकाको मौनता : ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरू खेलौना वा चुलबुले स्वभावका कारण कुकुरको टोकाइमा पर्छन् । तर, अभिभावकले थाहा पाए गाली गर्ने वा पिट्ने डरले उनीहरूले कुरा लुकाउँछन् । समयमै जानकारी नहुँदा उनीहरूले खोप लगाउने अमूल्य अवसर गुमाउँछन् ।  

३. झारफुक र अन्धविश्वास : नेपालका ग्रामीण भेगमा अझै पनि कुकुरले टोकेपछि अस्पताल जानुको साटो सुरूमा धामी-झाँक्रीकहाँ जाने वा घरेलु झारफुक गर्ने कु-प्रथा अझैसम्म कायमै छ ।

४. जेष्ठ नागरिकको अटेरी : केही वृद्धवृद्धाहरूमा ‘जीवनभर कति कुकुरले टोके-टोके, केही भएन, अहिले के हुन्छ र ?’ भन्ने अज्ञानतायुक्त सोच हुन्छ । यही अटेरीका कारण उनीहरू खोप लगाउन मान्दैनन् ।  

५. औषधि पसलको गलत सूचना : काठमाडौं बाहिरका ग्रामीण क्षेत्रमा मानिसहरूको पहिलो स्वास्थ्य सेवाको माध्यम अस्पताल होइन, स्थानीय औषधि पसल (फार्मेसी) हुन्छ । ‘त्यहाँ धेरैका लागि डाक्टरभन्दा पहिले औषधि पसलकै मान्छे सबैथोक हुन्छन्,’ डा. पुन भन्छन् । 

ती पसलहरूबाट कहिलेकाहीँ सही सूचना र परामर्श नपाउँदा बिरामीहरू जोखिममा पर्ने गरेका छन् । त्यसैले स्थानीय स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई लक्षित गरी नियमित अभिमुखीकरण सचेतना कार्यक्रम चलाउनु पर्ने टड्कारो आवश्यकता छ।

 रेबीजबारे भ्रम, यथार्थ 

नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबीजलाई शून्य मा झार्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । तर, खोपको उपलब्धतामा देखिने उतारचढाव, चेतनाको अभाव र सामाजिक अन्धविश्वासका कारण यो लक्ष्य भेट्न निकै कठिन देखिन्छ ।

यो लक्ष्य प्राप्तिका लागि समाजले रेबीजलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ र रोगका लक्षण एवम् प्राथमिक उपचारबारे स्पष्ट हुन जरुरी छ ।  

भ्रम : २४ घण्टाभित्रै खोप नलगाए बर्बाद हुन्छ ! समाजमा एउटा भ्रम छ कि कुकुरले टोकेको २४ घण्टाभित्रै खोप लगाउनुपर्छ, नत्र बच्न सकिँदैन ।

डा. पुन यसबारे भन्छन्, ‘हाम्रो मूल मन्त्र हो- जतिसक्दो चाँडो खोप लगाउनु पर्छ । तर, २४ घण्टा कट्यो भन्दैमा अब ढिलो भयो भनेर खोप नै नलगाई बस्नु हुँदैन । जतिसुकै दिन बितेको भए पनि स्वास्थ्य संस्थामा पुगेर खोप लगाइहाल्नु पर्छ ।’

रेबिजका लक्षण

डा. पुनका अनुसार रेबिज संक्रमित जनावरको थुक वा र्‍यालको माध्यमबाट सर्ने भाइरल रोग हो । संक्रमण बढ्दै जाँदा बिरामीमा हावा लाग्दा असहज हुने, पानी देख्दा डर लाग्ने, बिरामीको व्यवहार आक्रामक र चञ्चल हुने, ढाडको तल्लो भागमा तीव्र पीडा हुने जस्ता लक्षण देखिन्छन् ।   

‘एकपटक रेबिजको स्पष्ट लक्षण देखिन थालेपछि संसारमा यसको कुनै उपचार सम्भव छैन, मृत्यु निश्चित जस्तै हुन्छ’, उनले भने।  
त्यसैले जनावरले टोक्नेबित्तिकै अस्पताल दौडिनुअघि टोकेको घाउलाई कम्तीमा १५ मिनेटसम्म बगिरहेको पानीमा साबुनपानीले राम्ररी धुन उनी सुझाउँछन् । यसो गर्नाले घाउको भाइरसको ठूलो मात्रा पखालिएर जाने उनले बताए । त्यस्तै संक्रमणको जोखिम पनि निकै कम हुने डा. पुनले बताए । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ४८ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल