कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका कारण थला परेको मुलुकको एक मात्र सरकारी आयुर्वेद औषधि उत्पादक संस्था-सिंहदरबार वैद्यखाना विकास समिति अहिले पुरानै साख फर्काउने गरी ‘लय’मा फर्किएको छ।आर्थिक वर्ष २०८१/८२ मा जम्मा २ करोड ९० लाख रुपैयाँको सीमित कारोबारमा खुम्चिएर लगभग शून्यको अवस्थामा पुगेको वैद्यखानाले आर्थिक वर्ष २०८२/८३ मा भने चमत्कारिक पुनरागमन गर्दै १४ करोड रुपैयाँ बराबरको ऐतिहासिक कारोबार गर्न सफल भएको छ।
कमिसनको खेल, आपूर्तिकर्ताको ढिलासुस्ती र कर्मचारी वृत्तमा व्याप्त निष्क्रियताको चुनौतीलाई चिर्दै एकै आर्थिक वर्षमा १०५ प्रकारका औषधि उत्पादन गरी सोही वर्ष बिक्री गर्ने उपलब्धि वैद्यखानाको इतिहासमै सम्भवतः पहिलो हो। जी-टु-जी प्रणाली, थोक विक्रेताको पुनर्जागरण र सरकारी अस्पतालका फार्मेसीमार्फत आपूर्ति सञ्जाल देशैभर फैलाइएपछि संस्थाले यो सफलता चुमेको हो। यिनै अभूतपूर्व उपलब्धि, कार्यशैलीमा आएको सुधार, पूर्वाधार विस्तार र भविष्यका चुनौतीबारे सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीसँग गरिएको कुराकानी:
पछिल्लो समय सिंहदरबार वैद्यखाना पुरानै लयमा फर्किँदै छ । अहिले उत्पादन, खरिद-बिक्री के-कस्तो भइरहेको छ ?
वैद्यखानाले गत आर्थिक वर्षमा १०५ किसिमका औषधि उत्पादन गरेर शून्यको अवस्थाबाट यो अवस्थासम्म आइपुग्नुलाई ठूलो उपलब्धि मानिएको छ।
नेपाल सरकारका ३५ प्रकारका निःशुल्क वितरण हुने औषधीलाई एउटा समूहमा राखेर उत्पादन गरिएको थियो भने नियमित स्टकिस्ट तथा थोक विक्रेतामार्फत बजारमा पुर्याउनका लागि नौ वटा फर्ममार्फत देशभर बिक्री विस्तार गर्ने र साथै सरकारी अस्पतालका स:शुल्क फार्मेसीमा पनि जी-टु-जी प्रणालीमार्फत उत्पादन पुर्याउने गरी वटा लक्ष्य हामीले राखेका थियौँ।
त्यस्तै निःशुल्क वितरण हुने औषधी दुई सयभन्दा बढी सरकारी निकायमा, देशभरिका सबै निकायमा र सबै प्रदेशमा पुर्यायौँ।
यी औषधीहरू सबैभन्दा बढी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सप्लाई भएका छन्। यसरी करिब ८ देखि ९ करोड रुपैयाँ बराबरको औषधी सरकारी निकाय, अस्पताल, गाउँपालिका र नगरपालिकामा जी-टु-जी प्रणालीमार्फत आपूर्ति गरिएको छ।
त्यस्तै स्टकिस्टमार्फत साढे तीन करोड रुपैयाँभन्दा बढीको कारोबार भयो भने सरकारी अस्पतालका स:शुल्क फार्मेसीमार्फत डेढ करोड रुपैयाँभन्दा बढीको औषधी आपूर्ति गरियो।

यसरी कुल करिब १४ करोड रुपैयाँ बराबरको औषधी उत्पादन तथा बिक्री गर्न सफल भएका छौँ। यो वैद्यखानाको इतिहासमा एकै आर्थिक वर्षभित्र उत्पादन गरेर सोही वर्ष बिक्री गरिएको सम्भवतः पहिलो र उच्चतम उपलब्धि हो।
तपाईं आउँदा सिंहदरबार वैद्यखाना लगभग शून्यको अवस्थामा थियो। अहिलेको अवस्थामा ल्याइपुर्याउन कति संघर्ष गर्नुपर्यो? के-कस्ता चुनौतीको सामना गर्नुपर्यो?
संघर्ष र चुनौतीको त पहाडै छ। ती सबै कुरा विस्तारमा भनिरहनु आवश्यक पनि छैन। नेतृत्वमा बसेको व्यक्तिले ‘मैले यो गरेँ, त्यो गरेँ’ भनेर प्रचार गर्नुभन्दा कामले बोल्नु राम्रो हुन्छ।
वैद्यखाना चुनौतीको पर्वत हो। यहाँ कर्मचारी व्यवस्थापनको चुनौती छ, भौतिक पूर्वाधारको चुनौती छ। उत्पादन नहोस् भन्ने चाहना राख्ने प्रवृत्ति पनि चुनौतीकै रूपमा देखिन्छ।
उत्पादन भएन भने बाहिरबाट खरिद गर्ने, कमिसन खाने प्रवृत्ति पनि थियो। ती सबैलाई चिर्दै अगाडि बढेका छौँ।
आपूर्ति प्रक्रियामा रहेका समस्या, विगतका विकृति, समयमै सामान उपलब्ध नगराउने आपूर्तिकर्ता, कर्मचारीको क्षमता र दक्षतासम्बन्धी चुनौती-यी सबै पार गर्दै यहाँसम्म आइपुगेका छौँ।
वैद्यखाना योग्यता र संघर्ष सिक्ने एउटा विश्वविद्यालयजस्तै रहेछ। अझ कतिपयले महाविश्वविद्यालय भन्नुहुन्छ। यसले धेरै कुरा सिक्ने अवसर दिएको छ।
अहिले वैद्यखाना सहज रूपमा सञ्चालन भइरहेको छ। यो एउटा सन्तुष्टिको विषय हो। नेपाल सरकारको सहयोग पनि प्राप्त भइरहेको छ। हामीले अपेक्षा गरेजति नभए पनि स्वास्थ्य मन्त्रालयलगायतबाट सहयोग पाइरहेका छौँ।
सबैभन्दा ठूलो परिवर्तन काम गर्ने शैलीमा आएको छ। पहिले काम नगर्ने प्रवृत्ति थियो। अहिले असार मसान्तसम्म उत्पादन भएको छ र साउन १ गतेदेखि पनि उत्पादन निरन्तर जारी छ। वैद्यखानाको इतिहासमा यति निरन्तर रूपमा उत्पादन र आपूर्ति भएको अवस्था कमै थियो।
हामी पूर्ण रूपमा स्वचालित प्रणालीमा छैनौँ। धेरै काम थोरै जनशक्तिले नै गर्नुपर्छ। पहिले वर्षको निश्चित समयमा मात्र काम हुने र बाँकी समयमा उत्पादन सुस्त हुने अवस्था थियो। अहिले त्यो अवस्था छैन।
हामी पूर्ण रूपमा स्वचालित प्रणालीमा छैनौँ। धेरै काम थोरै जनशक्तिले नै गर्नुपर्छ। पहिले वर्षको निश्चित समयमा मात्र काम हुने र बाँकी समयमा उत्पादन सुस्त हुने अवस्था थियो। अहिले त्यो अवस्था छैन।
पानी परोस्, सार्वजनिक बिदा होस्, शनिबार वा आइतबार होस्, कार्यालय लगभग खाली हुँदैन। कर्मचारी अत्यन्त उत्साहित भएर काम गरिरहेका छन्। श्रमप्रधान काम गर्ने कर्मचारीमा समेत कामप्रतिको उत्साह बढेको छ।
कर्मचारीले ‘काम गर्न नपाए हामी निखारो हुन्छौँ’ भन्नेसम्मको भावना व्यक्त गर्न थालेका छन्। यो परिवर्तन आफैँमा वैद्यखानाको महत्त्वपूर्ण सुधार हो। तर अझै धेरै काम गर्न बाँकी छ।
माग र उत्पादनबीच तालमेल कस्तो छ? मागअनुसार उत्पादन भइरहेको छ कि छैन?
गत आर्थिक वर्षमा हामीले मुख्य रूपमा नेपाल सरकारले माग गरेका औषधी माग आएपछि मात्रै उत्पादन गरेका हौँ। अहिले हामी उत्पादन गरेर लामो समय भण्डारण गर्ने जोखिममा छैनौँ। हामी अझै सुरुआती चरणमै छौँ।
धेरै उत्पादन गरेर राख्दा माग नआउने र औषधीको म्याद सकिने जोखिम हुन्छ। विशेषगरी नेपाल सरकारले निःशुल्क वितरणका लागि माग गर्ने औषधीको आकार र मापदण्ड बजारमा बिक्री हुने औषधीभन्दा फरक हुन्छ। त्यसैले आवश्यक माग आएपछि मात्रै उत्पादन गर्ने नीति अपनाएका छौँ।
त्यसकारण माग र उत्पादनबीच राम्रो तालमेल मिलाउन सफल भएका छौँ। बजारमा बिक्री हुने औषधीको हकमा भने कुन औषधीको माग बढी छ र कुनको कम छ भन्ने आधारमा उत्पादन गर्छौँ।
धेरै बिक्री हुने औषधि स्टकमा बढी राख्ने र कम बिक्री हुने औषधी कम उत्पादन गर्ने वा एक वर्ष बिराएर उत्पादन गर्ने व्यवस्था गरेका छौँ।
शिलाजित, च्यवनप्राशजस्ता उच्च माग भएका उत्पादन पर्याप्त मात्रामा स्टकमा राखेका छौँ। शतप्रतिशत माग पूरा गर्न नसके पनि करिब ९० देखि ९५ प्रतिशतसम्म मागअनुसार औषधी आपूर्ति गर्न सफल भएका छौँ।
शिलाजित, च्यवनप्राशजस्ता उच्च माग भएका उत्पादन पर्याप्त मात्रामा स्टकमा राखेका छौँ। शतप्रतिशत माग पूरा गर्न नसके पनि करिब ९० देखि ९५ प्रतिशतसम्म मागअनुसार औषधी आपूर्ति गर्न सफल भएका छौँ।
गत वर्ष करिब १६ करोड रुपैयाँको लक्ष्य राखिएको थियो। त्यो लगभग पूरा गर्न सफल हुनुभयो। अब आगामी आर्थिक वर्षको लक्ष्य के छ?
त्यतिबेला उल्लेख गरिएको १६ करोड रुपैयाँ उत्पादनको लक्ष्य थियो। बिक्रीको लक्ष्य त्यसभन्दा केही कम थियो, किनभने उत्पादन ढिलो सुरु भएको थियो।
परिणाम उल्टो आयो। उत्पादन लक्ष्यभन्दा बिक्री लक्ष्य बढी हासिल भयो। अबको आर्थिक वर्षमा २० देखि २५ करोड रुपैयाँसम्मको कारोबार गर्ने योजना छ। यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ।
यसका लागि नेपाल सरकारसँग आवश्यक उपकरणका लागि बजेट माग गरिएको थियो र चालु आर्थिक वर्षमा त्यसको व्यवस्था पनि भएको छ। उत्पादन प्रणाली सुधार गर्ने काम भइरहेको छ।
हाल हामी जीएमपी मापदण्ड लागू गर्ने चरणमा छौँ। यसको अधिकांश काम सम्पन्न भइसकेको छ। अब औषधी व्यवस्था विभागबाट निरीक्षण हुन बाँकी छ। निरीक्षण सफल भएपछि वैद्यखानाको एउटा उत्पादन क्षेत्र जीएमपी स्तरको हुनेछ।
त्यसैगरी ट्याब्लेट र पाउडरजन्य औषधी उत्पादनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा गर्ने वातावरण निर्माणका लागि पनि बजेट प्राप्त भएको छ।
यी सुधार र पूर्वाधार विस्तारका आधारमा चालु आर्थिक वर्षमा २० देखि २५ करोड रुपैयाँसम्मको कारोबार सम्भव हुने अपेक्षा गरिएको छ। हाम्रो अनुमानअनुसार यही हाराहारीमा बिक्री हुनेछ।
यति धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुग्नुभयो। अब वैद्यखानाको दीर्घकालीन स्थायित्वका लागि देखिएका चुनौती के-के छन्?
वैद्यखानालाई लामो समयसम्म चलाइराख्न केही चुनौती छन्। जीवित जैविक संरचनामा आधारित उत्पादन भएकाले यसको निरन्तरता कायम राख्न तत्काल केही विषयमा ध्यान दिनुपर्ने देखिन्छ।
सबैभन्दा ठूलो समस्या स्थायी जनशक्तिको अभाव हो। वैद्यखानामा अहिलेसम्म नेपाल सरकारको स्थायी दरबन्दी सिर्जना गरिएको छैन। कार्यकारी प्रमुख, लेखा प्रमुख, प्रशासनिक प्रमुखलगायतका पद स्थायी हुनुपर्ने भए पनि त्यो व्यवस्था भएको छैन।
यस विषयमा स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत निकायलाई जानकारी गराइसकिएको छ।
अहिले धेरैजसो कर्मचारी विकास समितिमार्फत कार्यरत छन् र उनीहरूमध्ये धेरैजना अवकाश हुने अवस्थामा पुगेका छन्। एक-दुई वर्षमै उनीहरू निवृत्त भएपछि संस्थामा जनशक्तिको अभाव सिर्जना हुन सक्छ।
नेपाल सरकारले स्थायी दरबन्दी नदिएर समितिका कर्मचारी मात्रै घर गए भने संस्थामा ठूलो ‘भ्याकुम’ उत्पन्न हुने अवस्था आउन सक्छ। त्यसैले जनशक्ति व्यवस्थापन वैद्यखानाको सबैभन्दा ठूलो चुनौती हो।
अर्को चुनौती स्थान व्यवस्थापनसँग सम्बन्धित छ। वैद्यखाना अहिले सहरको बीचमा रहेको ठूलो उद्योग हो।
दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने हो भने वैकल्पिक स्थान र जग्गा व्यवस्थापनबारे पनि सोच्नुपर्ने आवश्यकता देखिन्छ। अहिले उत्पादन विस्तार नभएकाले स्थानान्तरणको विषय अघि नबढेको भए पनि भविष्यमा यो महत्त्वपूर्ण विषय बन्न सक्छ।
मुख्य कुरा वैद्यखानाको स्थायित्व हो। अहिलेसम्म यो संस्था विकास समितिमार्फत सञ्चालन हुँदै आएको छ। समितिका कर्मचारी अवकाशपछि बाहिरिँदा संस्थाको निरन्तरतामै प्रश्न उठ्न सक्छ।
वैद्यखानाले औषधी उत्पादन गरिरहेको छ, तर उत्पादन मात्र पर्याप्त होइन। संस्था दीर्घकालसम्म निरन्तर सञ्चालन हुनसक्ने आधार निर्माण गर्नु अझ महत्त्वपूर्ण विषय हो।
त्यसैले नेपाल सरकारले निश्चित दरबन्दी सिर्जना गरी कार्यकारी, प्रशासन र लेखाजस्ता प्रमुख पदमा स्थायित्व दिनु आवश्यक छ। अन्य जनशक्ति आवश्यकता अनुसार करार वा ज्यालादारीमा व्यवस्थापन गर्न सकिन्छ।
वैद्यखानाले औषधी उत्पादन गरिरहेको छ, तर उत्पादन मात्र पर्याप्त होइन। संस्था दीर्घकालसम्म निरन्तर सञ्चालन हुनसक्ने आधार निर्माण गर्नु अझ महत्त्वपूर्ण विषय हो। यही विषय राज्यका नीति निर्माता, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वसम्म पुग्न आवश्यक रहेको छ।












प्रतिक्रिया