झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी « Khabarhub

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको एक दुर्गम आदिवासी गाउँले भने फुटबलको यस माहोललाई आफ्नै मौलिक र परम्परागत शैलीमा मनाएको छ । पूर्वी भारतीय राज्य झारखण्डको आदिवासी बहुल पश्चिम सिङ्भूम जिल्लास्थित तिरिलबासा गाउँका बासिन्दाले असार ३० देखि साउन १ सम्म विशेष फुटबल प्रतियोगिता आयोजना गरेका हुन् ।

विश्वकपको मेसोमा आयोजित ‘रङ्गीला स्टार तिरिलबासा’ नामक उक्त प्रतियोगितामा वरपरका ६४ गाउँका टोलीले भाग लिएका थिए । प्रतियोगितामा आकर्षणको मुख्य केन्द्र नगद पुरस्कारका साथै उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई ट्रफीका रूपमा वितरण गरिने खसीको बथान बनेको थियो ।

फाइनल भिडन्तमा एनसीएस मौडीले कुम्बरामलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो । विजेता एनसीएस मौडीले १५ हजार भारतीय रुपैयाँ र तीन वटा खसी पुरस्कार प्राप्त गर्‍यो । उपविजेता कुम्बरामले १२ हजार रुपैयाँ र दुई वटा खसी तथा तेस्रो र चौथो स्थान हासिल गर्ने कोब्रा एफसी र गालुबासा एफसीले क्रमशः ९ हजार रुपैयाँसहित एक-एक वटा खसी हात पारे ।

आफ्नो पहिलो जितको खुसीयाली उनीहरुले गाउँलेसँग ‘खसी भोज’ मनाएको विजेता टोलीका कप्तान सचिन देवमले बताए ।

यस क्षेत्रमा बसोबास गर्ने ‘हो’ आदिवासी समुदायको संस्कृतिमा खसीको विशेष महत्त्व रहेको छ । धार्मिक पूजाआजा, बलि र पारिवारिक जमघटमा खसी अनिवार्य मानिन्छ । “खसी हाम्रो संस्कृतिको अभिन्न अङ्ग हो । यहाँ मासुबिनाको उत्सव अधुरो हुन्छ,” आयोजक तथा खेलाडी मनिष कुडाडाले भने, “विजेताले नगद पुरस्कार आफैँ राख्छन् भने खसीको माध्यमबाट सम्पूर्ण गाउँलेले जितको खुसी मनाउन पाउँछन् ।”

राज्य फुटबल सङ्घबाट मान्यता प्राप्त रेफ्री र कमेन्टेटर राखिने यस प्रतियोगितामा नियम भने स्थानीय आवश्यकताअनुसार परिमार्जन गरिएका छन् । ११ जनाको साटो ९ जना खेलाडी खेल्ने यस खेलमा कम्तीमा ६ जना खेलाडी एउटै गाउँको हुनुपर्ने कडा नियम छ । अफसाइडको नियम नहुने भएकाले खेलाडीहरूले मैदानको जुनसुकै भागबाट पनि गोल गर्न पाउँछन् ।

वर्षायामको खेतीपातीपछि घर फर्किएका युवालाई जोड्न र भ्रातृत्व बढाउन यो प्रतियोगिता महत्त्वपूर्ण मानिन्छ । स्थानीय ‘मुन्डा-मानकी’ स्वायत्त शासन प्रणालीअन्तर्गत सञ्चालित यो खेल हेर्न वरपरका गाउँबाट सयौँ मानिस झुम्मिने गर्छन् । खेलको साथसाथै स्थानीय मदिरा, खानपिन र मनोरञ्जनात्मक खेलले सम्पूर्ण गाउँलाई नै उत्सवमय बनाउने गर्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ११ : ४० बजे

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग