‘जेन-जी विद्रोह नहुँदा पनि ०८४ मा कांग्रेस होइन, रास्वपा नै पहिलो पार्टी बन्थ्यो’ « Khabarhub

‘जेन-जी विद्रोह नहुँदा पनि ०८४ मा कांग्रेस होइन, रास्वपा नै पहिलो पार्टी बन्थ्यो’

बीपीलाई सम्झिँदै भने : नेपालमा भुइँफुट्टा राजनीति बढ्यो


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण खनालले गत भदौमा ‘जेन-जी विद्रोह’ नभएर २०८४ सालमा निर्वाचन हुँदा पनि नेपाली कांग्रेस पहिलो दल बन्न नसक्ने दाबी गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बिहीबार काठमाडौंमा बोल्दै उनले जेन-जी आन्दोलनले नेपालको राजनीतिक समीकरण नै परिवर्तन गरेको बताए।

‘जेन-जी विद्रोह नभएर २०८४ मा चुनाव हुँदा पनि कांग्रेस पहिलो पार्टी हुँदैनथ्यो, राष्ट्रिय स्वतन्त्र पार्टी नै पहिलो पार्टी हुन्थ्यो,’ उनले भने।

खनालले अहिले लोकतन्त्र स्थापना भए पनि राजनीतिक संस्कार र अभ्यासमा सुधार आउन नसकेको टिप्पणी गरे। ‘बीपी कोइरालाले चाहेको लोकतन्त्र आयो, तर भुइँफुट्टा राजनीति बढ्यो,’ उनले भने, ‘राजनीतिले किसान, श्रमिक र आम जनताको जीवन परिवर्तन गर्न सकेको छैन।’

उनले किसानले अझै पनि मलको अभाव झेलिरहेको उल्लेख गर्दै बीपी कोइरालाले ४५ वर्षअघि उठाएको ‘मल कहाँ छ?’ भन्ने प्रश्न आज पनि सान्दर्भिक रहेको बताए। ‘लोकतन्त्र आयो तर राजनीति सुध्रिएन, त्यही कारण जेन-जी विद्रोह भयो र कांग्रेस पनि हार्न पुग्यो,’ उनले भने।

खनालले कांग्रेसभित्र कुनै पनि व्यक्ति आफूलाई ‘निर्विकल्प’ ठान्न नहुने भन्दै बीपी कोइरालाले व्यक्तिपूजाको होइन, संस्थागत नेतृत्वको पक्षमा संघर्ष गरेको स्मरण गराए।

‘म ढलेँ भने कांग्रेस रहँदैन भनेर कसैले नसोचोस् भन्नुहुन्थ्यो बीपी। उहाँ बितेको ४४ वर्ष भयो, कांग्रेस अझै जीवित छ,’ उनले भने, ‘आज कसैले आफूलाई निर्विकल्प ठान्छ भने कांग्रेसले त्यस्तो प्रवृत्तिलाई पाखा लगाउनुपर्छ। गगन थापा र विश्वप्रकाश शर्मा पनि कांग्रेसका निर्विकल्प नेता होइनन्।’

उनले भारतीय कांग्रेसको अहिलेको अवस्थाबाट नेपाली कांग्रेसले पाठ सिक्नुपर्ने बताए। ‘धेरै नेता आए, गए, चुनाव हारे, तर पार्टी निरन्तर रह्यो। व्यक्तिभन्दा संस्था ठूलो हुन्छ,’ उनले भने।

चुनावी परिणामको समीक्षा केवल सिट संख्याका आधारमा गर्न नहुने उनको धारणा थियो। ‘आजको कांग्रेस संसद्मा गुणस्तरीय ढंगले प्रस्तुत भइरहेको छ। केवल टाउको गनेर चुनावको मूल्यांकन हुँदैन,’ उनले अगाडि भने।

खनालले सत्तामा हुँदा बनाइने कानुन प्रतिपक्षमा हुँदा पनि स्वीकार्न सकिने हुनुपर्नेमा जोड दिए। ‘सधैं सत्तामा रहन्छु भन्ने सोचेर कांग्रेसले कानुन बनाउनु हुँदैन। कहिले प्रतिपक्षमा पनि बस्नुपर्छ भन्ने सोच राखेर विधिको शासनअनुसार कानुन बनाउनुपर्छ,’ उनले भने।

उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणी गर्दै क्रियाशील सदस्यता वितरणमा पनि व्यापक विकृति रहेको बताए।

‘कसरी योग्य कार्यकर्ता सदस्यताबाट वञ्चित हुन्छन् र नचाहिने मानिसले सदस्यता पाउँछन् भन्ने हामीले देखिरहेका छौँ,’ उनले भने, ‘कांग्रेस सुधार्न उत्तरदायित्व र प्रतिस्पर्धाको संस्कृति विकास गर्नैपर्छ।’

नयाँ पुस्तालाई पुराना राजनीतिक नाराले मात्र आकर्षित गर्न नसकिने भन्दै उनले अहिलेका युवाले आफ्नो जीवनमा प्रत्यक्ष लाभ देखिने राजनीति खोजिरहेको बताए।

‘हिजो विचार र दर्शनले मानिसलाई पार्टीमा तान्थ्यो। आजको मतदाताले मलाई के फाइदा हुन्छ भनेर हेर्छ, त्यसपछि मात्रै मतदान गर्छ,’ उनले भने, ‘कांग्रेसको समाजवाद र लोकतन्त्रको पुरानो भाष्यले मात्र नयाँ पुस्तालाई आकर्षित गर्न सक्दैन। अहिलेको समाज र विश्वका नयाँ चुनौतीलाई बुझेर नयाँ ढंगले अघि बढ्नुपर्छ।’

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ३ : १२ बजे

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल

‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अदालतको निर्णयलाई आफूले सम्मान

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू