दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमा आक्रमण, पाँच सैनिकको मृत्यु « Khabarhub

दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमा आक्रमण, पाँच सैनिकको मृत्यु


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बैंकक– पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि भएको गोलाबारी र बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ ।

यस्तै छ जना सर्वसाधारण घाइते भएका छन्। सेनाका अनुसार पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक आक्रमणमध्ये यो एक हो।

आक्रमण बुधबार साँझ मुस्लिम बहुल नारथिवाट प्रान्तस्थित बुखे सामी सुरक्षा चौकीमा भएको हो। स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये खुट्टामा चोट लागेका १० वर्षीय बालक पनि छन्। नारथिवाटका गभर्नर बुनचुए होम्यामिनले अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएको जनाइएको छ।

नारथिवाट प्रशासनले सार्वजनिक गरेको सिसिटिभी फुटेजमा साँझ करिब ६:४५ बजे कालो पोसाक लगाएका छ जना शंकास्पद व्यक्ति कालो पिकअप ट्रकमा घटनास्थल पुगेको देखिएको छ। घटनापछि उनीहरू छिमेकी जिल्लातर्फ फरार भएका छन्। सुरक्षा निकायले व्यापक खोजी अभियान सञ्चालन गर्दै क्षेत्रलाई घेराबन्दी गरेको जनाएको छ।

थाई सेनाका अनुसार टास्क फोर्स रेन्जर रेजिमेन्ट–४५ का सैनिकहरू स्थानीय बासिन्दाको सुरक्षा गरिरहेका बेला आक्रमणकारीहरूले चौकीमा अन्धाधुन्ध गोली चलाउनुका साथै पाइप बम प्रहार गरेका थिए। उक्त आक्रमणमा पाँच सैनिकको ज्यान गएको हो। घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन भने कसैलाई पक्राउ पनि गरिएको छैन।

थाइल्यान्डका दक्षिणी नारथिवाट, याला र पट्टानी प्रान्तमा सन् २००४ देखि पृथकतावादी विद्रोह जारी छ। मुस्लिम बहुल यी क्षेत्रमा बढी स्वायत्तताको माग गर्दै सक्रिय विद्रोही समूहसँगको हिंसात्मक द्वन्द्वमा हालसम्म सात हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

यसअघि सन् २०१९ मा याला प्रान्तको एक सुरक्षा चौकीमा ग्रेनेड र गोली आक्रमण हुँदा स्थानीय सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु भएको थियो। द्वन्द्वसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था एसीएलइडीका अनुसार उक्त घटनामा बारिसन रिभोलुसी नेसनल (बीआरएन) संलग्न रहेको थाई अधिकारीहरूले बताएका थिए।

एम्नेस्टी इन्टरनेसनलका मानवअधिकार अनुसन्धानकर्ता चानातिप तातियाकरुनवोङले अधिकांश आक्रमण सुरक्षाकर्मीलाई लक्षित हुने गरे पनि यसपटक सर्वसाधारण, विशेषगरी एक बालकसमेत घाइते हुनु र मानवीय क्षति बढ्नु चिन्ताजनक रहेको बताए।

घटनापछि थाई सेनाले मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको सेवा र बलिदान सधैँ सम्मानका साथ स्मरण गरिने जनाएको छ। 

विपक्षी नेता नात्थाफोङ रुएङपान्यावुतले पनि घटनाको निन्दा गर्दै सरकारलाई सुरक्षा अवस्था तत्काल नियन्त्रणमा लिन, आक्रमणकारीको पहिचान गरी कानुनी कारबाही अघि बढाउन तथा पीडित र उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ५ : ३९ बजे

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक