‘छोराले जीवनको बोझ उठाउन नसके, म बुढोले छोराको लास कसरी उठाउने ?’ « Khabarhub

सानो पर्दा

‘छोराले जीवनको बोझ उठाउन नसके, म बुढोले छोराको लास कसरी उठाउने ?’


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिल्यै उसले देशमा उद्यम, व्यापार र रोजगारको प्रयास-संघर्ष नगरेको होइन । सबैतिरबाट असफल । ऋणमाथि ऋण छ । त्यहीमाथि ऊ अलि फरक शैलीमा ढिलो बोल्छ, त्यसैले मान्छेहरू भन्छन्– सुस्त मनस्थितिको ।

देशमा युवाहरूको नयाँ सरकार बन्यो । उसमा आशा पलायो र एक झमट व्यवसाय गर्ने सोच बनायो- होटल खोल्यो । केही समयमै बन्द गर्नुपर्‍यो ।

अस्वस्थ प्रतिस्पर्धा त सामाजमा झागिएकै छ । व्यापार बन्दको प्रमुख कारण ऊ यही भन्छ । थप्छ, ‘मैले होटल खोलेपछि छिमेकीले होम डेलिभरीसहितको अर्को सटर हाल्यो ।’

त्यसैले उनी वैदेशिक रोजगारीमा जान म्यानपावर धाउन थाल्यो । आफैँ विदेश जाने अवस्थासँग ऊ सन्तुष्ट छैन । म्यानपावरवालासँगको कुराकानीमा भन्छ, ‘यिनीहरूले हाम्रो सरकार बनेपछि युवालाई फर्काएर देखाउँछौँ (स्वदेश ल्याउँछौँ) भनेका थिए होइन ?’

म्यानपावरवाला जवाफ दिन्छन्, ‘फर्काएर देखाइएन त । (अश्लील भावमा)’

०००

बिडम्बना ! त्यो सोझो केटा म्यानपावरबाट पनि ठगियो । जसरी होटल खोल्नुअघि उसलाई राज्य सत्तामा पुग्न नेताले आश्वासन बाँडेर ठगेका थिए ।

तर, यसपालिको ठगी अलिक ओझिलो थियो । विदेश जानका लागि मिटर ब्याज लिएको ऋण पनि ठगियो । सबैतिर असफल भएपछि उसले देखेको एक मात्रै विकल्प थियो- विदेश । त्यस प्रक्रियामा पनि ठगको निराशामा उही सोझो केटो पर्‍यो ।

भर्खरै म्यानपारवरवालाबाट ठगिएको थाहा पाएको उसलाई फोन आउँछ, ‘तेरो समय आयो अब पैसा खाएर भाग्छस् ।’

तर, उसको नियत पैसा नदिने थिएन । मिटर ब्याजनीको ज्यान मार्ने धम्कीले उसले चित्कार गर्छ, ‘मेरो समय अर्कोले हेर्ने घडी कसले लगाएर हिड्यो ?’

यही बेला श्रीमतीको फोन आउँछ । उनले भन्छिन्, ‘तपाईं कता यहाँ साहुले घर खाली गर् भन्यो । बिरामी आमा, बच्चा कसरी हेर्ने ? अब के गर्ने ?’

उसको सपना ठूलो थिएन – दुई छाक पेटभरी खाने मात्रै हो । उसले त्यसका लागि गर्नु प्रयास गर्‍यो । तर, सबैतिर तगारो । ऋणमाथि ऋण, पीडामाथि पीडा । रोजेको र देखेको अन्तिम बिकल्पमा पनि ठगी ।

यी सबै कुराले उसलाई जीवन भारी लाग्यो । भागवानसँग चित्कार गर्न थाल्यो, ‘यो जिन्दगीको दलदलबाट जति निस्कन खोज्छु त्यति गाड्छस् । जिन्दगीको खेलमा तैले जितिस्, मैले हारेँ भगवान् ।’

जीवनसँग हार मानेर ऊ डोरी बोकर निस्कियो । यो घटनाको प्रत्यक्षदर्शी सयौं थिए । तर, उसको आयु सकिएको रहेनछ, त्यहीबेला बुवा आइपुगे ।

आत्महत्या गर्न तयार छोरालाई ती वृद्ध बुवाले भन्छन्, ‘यो के गरेको कान्छा ?’

छोरो भन्छ, ‘मैले जिन्दगीको बोझ उठाउन सकिनँ बुवा ।’

बुद्ध बुवा संयमित हुँदै छोरोलाई भन्छन्, ‘तैँले जीवनको बोझ उठाउन नसके, मैले तेरो लास कसरी उठाउने ?’

लामो स्वास लिनुहोस् ! यो वास्तविक घटना होइन । तर, समाचारमा यही प्रकृतिका घटनाहरू भने आइरहेका छन् ।

फेरि विश्वास नलाग्ला, यो कमेडी कार्यक्रममको अंशलाई शब्दमा उतारिएको हो । कमेडीमा भावुक प्लट ।

म्यानपावर व्यवसायी र वृद्ध व्यक्तिको दोहोरो चरित्र सुमन कार्कीले निर्वाह गरेका छन् । थकित युवाको भूमिकमा कैलाश कार्कीले ।

कमेडी नाइट्स विथ च्याम्पियनको पछिल्लो इपिसोड युवाहरूको भनिएको वर्तमान सरकारलाई कटाक्ष गर्ने जिम्मेवारीमा केन्द्रित थियो । सुमन र कैलाशले ‘आत्मदाह’का पछिल्ला घटनालाई उठान गरेका हुन् ।

यो हाँस्य कार्यक्रम हो । सुरुमा उनीहरूले दर्शकलाई हँसाउनु हसाए । तर, केही बेरपछि अतिथि र दर्शक रुन बाँकी कोही रहेन ।

फिल्म ‘गौँथली’का टिम अतिथि थिए । नायक अरुणको आँखा आँशुले भरियो तर खसेन । नायिका सिम्रन र अरुण भावुक भएर मुखामुख गरिरहे ।

हसाउँदा हसाउँदै सुमन र कैलाशले रुवाए । उनीहरूले आफ्नो कलाको क्षमता पनि देखाए । आत्मदाहको विषय उठान मात्रै गरेनन्, उनीहरूले शक्तिशाली सन्देश पनि प्रवाह गरे ।

आत्महत्याको प्रयासमा हिँडेका छोरालाई ती वृद्ध भन्छन्, ‘जीवनमा आफ्नो शरीर र समय बोझ भयो भने विश्राम लिने हो । आफूलाई सक्ने होइन ।’

अर्थात्, थाकियो, असह्य भयो, बाँच्नै गाह्रो भएको महसुस भए विश्रामको विकल्प खोज्न तर जीवनबाट हार नमान्ने उनीहरूको सन्देश हो ।

उनीहरूको सन्देश जीवन सकाउनु समाधान होइन भन्नेमै जोड थियो । वृद्ध व्यक्ति छोरालाई भन्छन्, ‘तलाईं थाहा छ कान्छा पशुले किन आत्महत्या गर्दैन । पशुलाई पनि जीवन अमूल्य छ भन्ने थाहा छ । हामी त पशु जस्तो बोल्न नसक्ने होइनौँ । बोल्न सक्छौँ । हामीसँग समस्या भए अर्कोसँग समाधान हुन सक्छ । बोल्नुपर्छ ।’

उनीहरूको यो प्रस्तुतिलाई दर्शकले ‘रौँ ठाडो गराउँने’ भनेका छन् ।

उनीहरूको प्रस्तुति दमदार थियो भन्ने कुरा दर्शक र अतिथिको आँसुले प्रष्ट पारिसकेको थियो । कलाकारले राम्रो प्रस्तुति दिँदा पाउने धन्यवाद र ताली हो । बदलामा सुमन र कैशाले दशर्क, अथिति र कार्यक्रमका अध्यक्ष जितु नेपालको ‘स्टान्डिङ अवेशन’ पाए ।

यी दुई कमेडियनको अभिनयको अर्को पाटो पनि यहीँबाट उजागर भयो ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ७ : ०६ बजे

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी