काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे घण्टीमा भोट हालेका मतदाताले प्रश्न गर्ने अवस्था आउन नदिन पार्टी पंक्ति गम्भीर भएर काम गर्नुपर्ने बताएका छन्।
रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकार गठन भएको पहिलो वर्ष जग बलियो बनाउनमै केन्द्रित हुने भएकाले तत्काल सबै काम देखिन नसक्ने बताए।
‘सरकारले पहिलो वर्ष जग हाल्नुपरेकाले खासै काम देखिँदैनन्। सय दिन पूरा भएपछि सरकारले अन्तरक्रिया गरेको छ। मन्त्रीहरू झन् सक्रिय हुनु भएको छ,’ उनले भने, ‘सरकार जग बलियो बनाउन लागेकाले धैर्य गरौँ।’
सरकारका कामबारे नागरिकले उठाएका प्रश्नको जवाफ पार्टीले दिनुपर्ने लामिछानेको भनाइ थियो। त्यसका लागि आफू स्वयं मधेश यात्रामा जान लागेको र पार्टीका अन्य नेताहरू पनि गाउँगाउँ पुग्ने उनले बताए।
‘अब म आफैँ मधेशतिर जाँदैछु। म मधेश यात्रामा जान्छु। अन्य साथीहरू गाउँगाउँ जानु हुनेछ। अब धमाधम जिल्ला अधिवेशन हुनेछन्,’ उनले भने।
रास्वपाका केन्द्रीय सदस्यहरू पनि आमनागरिकका गुनासा सुन्न गाउँगाउँ जाने उनले बताए।
‘रास्वपाका केन्द्रीय सदस्यहरूले पनि आमनागरिकको गुनासो सुन्न गाउँगाउँमा जाने छन्। सरकारका कामकारबाहीमा हरेक नागरिकले सोधेका प्रश्नको अब हामीले जवाफ दिनुपर्छ,’ लामिछानेले भने।
सरकारले गरेका राम्रा कामलाई छायामा पार्ने प्रयास विपक्षी दलबाट भइरहेको उनको आरोप थियो। विपक्षी शक्ति अहिले बलियो भएकाले सरकारका उपलब्धिलाई ओझेलमा पार्ने गतिविधि हुन सक्ने भन्दै उनले पार्टी पंक्तिलाई सचेत गराए।
‘सरकारले गरेका कामलाई छायामा पार्ने विपक्षीबाट काम हुन्छ। अहिले विपक्षी शक्तिशाली छ। सरकारका राम्रा काम पनि छोप्ने गतिविधि हुने भएकाले त्यही भएर यो राजनीति हो,’ उनले भने।
विभिन्न दलका नेताहरू नेपथ्यमा बसेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको दाबी गर्दै लामिछानेले त्यसप्रति सचेत रहन पनि नेता–कार्यकर्तालाई आग्रह गरे।
उनले रास्वपाले आमनागरिकले आफूहरूलाई किन मत दिएका थिए भन्ने विषयलाई निरन्तर सम्झिनुपर्ने बताए।
‘हाम्रो काम भनेको आमनागरिकले हामीलाई के भनेर भोट दिएका थिए, त्यसलाई मनन् गर्नुपर्छ,’ उनले भने।
सरकारका मन्त्रीहरूलाई पार्टी कार्यालयमै बोलाएर जनता र पार्टी सदस्यका कुरा सुन्ने व्यवस्था गरिएको लामिछानेले जानकारी दिए।
‘सरकारका मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएर जनता र पार्टी सदस्यको कुरा सुन्ने बनाएका छौँ,’ उनले भने।
अहिले सरकारका विषयमा ठूलो समस्या नरहेको दाबी गर्दै उनले विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भएको बताए।
‘अहिले सरकारबारे धेरै समस्या छैन। विपक्षीहरू बोलिरहेका छन्। जुन उनीहरूको धर्म पनि हो,’ उनले भने।
तर, घण्टीमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउन थाले त्यसले रास्वपालाई अप्ठ्यारो पार्ने उनको चेतावनी थियो।
‘तर घण्टीमा भोट हालेका मतदाताहरू बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउने अवस्था बनाउन नदिऊँ,’ लामिछानेले भने।
टिकटमा लेनदेन गरे कारबाही
लामिछानेले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र टिकट वितरणमा कुनै किसिमको आर्थिक लेनदेन सह्य नहुने चेतावनी पनि दिएका छन्।
स्थानीय निर्वाचनको टिकट दिने आश्वासन दिएर कसैले लेनदेन गरेको भए त्यस्तो गतिविधिमा संलग्न दुवै पक्ष डुब्ने उनको भनाइ थियो।
‘अब स्थानीय निर्वाचन हुँदैछ। उक्त चुनावमा टिकट दिन्छु भनेर कसैले लेनदेन गरेको भए त्यो असाध्यै डुब्यो। अहिले नै स्थानीय निर्वाचनको टिकट पाइयो, पक्का भयो भनेर नबसौँ,’ उनले भने।
रास्वपाले पार्टीले निर्माण गरेको ‘क्यान्डिडेट क्लब’बाट मात्रै उम्मेदवार छनोट गरी टिकट वितरण गर्ने उनले स्पष्ट पारे।
‘हामी पार्टीले बनाएको क्यान्डिडेट क्लबबाट मात्रै टिकट वितरण गर्छौँ,’ उनले भने।
उम्मेदवारका नाममा लेनदेन गरेको पाइए लिने र दिने दुवै कारबाहीमा पर्ने उनले चेतावनी दिए।
‘उम्मेदवारका नाममा कसैले लेनदेन गरेको भए लिने र दिने दुवै डुब्छन्। पार्टीको नाम बेचेर, विधि बेचेर टिकट दिने काम गर्नेलाई हामी छाड्दैनौँ,’ लामिछानेले भने।
रास्वपाले पाएको राजनीतिक अवसरलाई बदनाम गर्ने प्रयास गर्ने जोकोहीमाथि कारबाही हुने उनले बताए।
‘इतिहासले दिएको यो अवसरलाई बदनाम गर्न जोकोहीले खोज्छ भने कारबाही हुन्छ,’ उनले चेतावनी दिए।
हेर्नुहोस् कार्यक्रमका तस्बिरहरू :

































प्रतिक्रिया