हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश « Khabarhub

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार भएको खाल्डे अहिले त्रिशूली नदीको बगरमा परिणत भएको छ ।

भोटेकोशीको भीषण बाढीले ३०० परिवारको आश्रय मात्र बगाएन, प्रत्येक घरबाट आफ्ना प्रियजन पनि खोसेर लग्यो । बाँचेकाहरू सुरक्षित ठाउँको खोजीमा खाली हात नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारे आइपुगेका छन् ।

प्रारम्भिक तथ्याङ्कअनुसार खाल्डेबाट मात्रै ३१५ जना हराइरहेका छन् । उत्तरगया–१ का अध्यक्ष मारसिंह तामाङका अनुसार वडाका विभिन्न बस्तीबाट हराउनेको सङ्ख्या ४३१ पुगेको छ ।

त्यहाँका अधिकांश परिवार २०७२ सालको भूकम्पपछि साबिक हाकुका विभिन्न बस्तीबाट विस्थापित भई सुरक्षित जीवनको खोजीमा आएका थिए । भूकम्पले थातथलो खोसेपछि सुरक्षित आश्रय खोजेर बसेका उनीहरूलाई यसपटकको बाढीले पुनः विस्थापित मात्र बनाएन, परिवारका सदस्य, आफन्तजन र जे जति थियो–आफ्नो सबै सम्पत्ति गुमाएका छन् ।

साबिक हाकु गाविसअन्तर्गतका सल्लेटार, मैलुङ, गोगने, तिरु, सुर्चेतखर्क, कर्माराङ लगायतका बस्ती २०७२ सालको भूकम्पबाट नराम्ररी प्रभावित भएका थिए । सरकारी तथ्याङ्कअनुसार गोगने, तिरुलगायतका बस्तीमा ६१ जनाले ज्यान गुमाएका थिए ।

भूकम्पको कारण पहिरोको जोखिम बढेपछि भूगर्भीय अध्ययनबाट हाकु क्षेत्रमा १०१ भन्दा बढी भूकम्पजन्य पहिरो पहिचान गरियो । त्यसपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेर खाल्डेमा बन्दोबस्ती गरिएको थियो तर अहिले खाल्डेसहित आसपासका बस्तीमा परिवारको सदस्य नगुमाएका व्यक्ति भेट्न मुस्किल छ ।

उत्तरगया–१ का पूर्ववडाध्यक्ष बमहादुर तामाङका अनुसार हाकुबाट विस्थापित करिब ३०० घरधुरी खाल्डेमा बस्दै आएका थिए । गत भदौ १० गतेको भीषण बाढीले उनीहरूको आश्रय मात्र होइन, पूरै बस्ती नै बगाइदियो । घर र संरचना बगेपछि अहिले खाल्डेको बस्ती भएको ठाउँमा त्रिशूली नदी बगिरहेको छ ।

‘भूकम्पमा ज्यान जोगाएर सुरक्षित ठाउँमा बस्न पाइन्छ भनेर हिँडेकालाई अहिलेको बाढीले सर्वस्वनाश ग¥यो,’ उनले भने, ‘३१५ जना सम्पर्कविहीन भएकामध्ये एक जनाको मात्रै शव भेट्टिएको छ । अरूको अवस्था थाहा हुन सकेको छैन । कुनै परिवारमा त घेवा (किरिया) गर्ने पनि बाँकी छैनन् । केही त परिवारका सबै गुमाएर आफू एक्लो मात्रै बाँचेको अवस्था छ ।’

खाल्डेमा बसोबास गर्न बाढीको दृष्टिले जोखिमयुक्त रहेको स्थानीयलाई थाहा थियो तर भूकम्पबाट विस्थापित परिवारसँग तत्काल अर्को विकल्प नभएकाले त्यहीँ अस्थायी टहरा बनाएर बस्नुपरेको पूर्ववडाध्यक्ष तामाङले दाबी छ ।

भूकम्पपीडितलाई सरकारले घर निर्माणका लागि उपलब्ध गराउने अनुदान र पुनःस्थापनाका क्रममा सुरक्षित स्थानमा बसोबासको विषयमा खाल्डेको विकल्प खोज्न सुझाएको उनको जिकिर छ । तर स्थानीयको चाहना अनि विभिन्न दबाबका कारण बस्ती निर्माण रोक्न नसकेको उनको भनाइ छ ।

‘त्यतिबेला जोखिमका कारण घर बनाउन रोक्न खोजिएको थियो तर चौतर्फी दबाब आयो । रोक्न सकिएन, लचक हुनुप¥यो,’ उनले भने, ‘अहिले फर्केर हेर्दा त्यतिबेला जोखिमयुक्त ठाउँमा बस्ती बस्न दिनु हुँदैनथ्यो भन्ने लाग्दछ ।’

बाढीले उत्तरगया गाउँपालिका–१ अन्तर्गतको सल्लेटार र मैलुङको पहिचानसँग जोडिएका जलविद्युत् आयोजनासहितका संरचना पनि प्रभावित भएका छन् । भूकम्पका कारण पुरानो थातथलो गुमाएका हाकुवासीले नयाँ ठाउँमा खाल्डे र यस आपासमा बनाएका आश्रय बाढीले बगाएपछि उनीहरू पुनः विस्थापित भएका छन् ।

पहिला जन्मिएको ठाउँ छाडेर निस्केका उनीहरु अहिले जिल्ला नै छाडेर नुवाकोट आइपुगेका छन । एकसरो कपडामा सुरक्षित स्थानको खोजीमा आएका उनीहरुमध्ये अधिकांशले परिवारका सदस्यमध्ये केहीलाई भोटेकोशी बाढीपछि गुमाउन बाध्य भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार एवम् बेपत्ता व्यक्तिको पहिचानको काम जारी छ । सरकारी विवरणअनुसार बाढीमा परेर ठूलो सङ्ख्यामा मानिस बेपत्ता छन् र शव पहिचान तथा ‘डिएनए’ परीक्षणको काम पनि भइरहेको छ ।

हाकुबासीका लागि भने यसपटकको बाढी अर्को विपद् मात्र होइन, विस्थापनको अर्को अध्याय बनेको छ । २०७२ सालको भूकम्पले पुख्र्यौली थातथलोबाट उठिबास बनाएको उनीहरुलाई सुरक्षित जीवनको खोजीमा आएको नयाँ ठाउँ खाल्डेले क्षणभरमै परिवारका सदस्यसहित सर्वस्व खोसिदिएको छ ।

भूकम्पले घरबास खोस्यो, पहिरोले थातथलो असुरक्षित बनायो र बाढीले आश्रयसमेत खोस्यो । नयाँ आश्रयको खोजीमा नुवाकोट आइपुगेका हाकुवासीसँग अहिले आफन्तको खोजी, बाढीले बगाएको घरको सम्झना र फेरि सुरक्षित ठाउँमा जीवन कहाँ र कसरी सुरु गर्ने भन्ने अन्योलता मात्र बाँकी छ । (रासस)

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ९ : ०९ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले