एमाले बैठकमा रामकुमारी झाँक्री : दोष एक व्यक्तिलाई थोपरेर हुँदैन, कमजोरीको सामूहिक समीक्षा गरौँ « Khabarhub

एमाले बैठकमा रामकुमारी झाँक्री : दोष एक व्यक्तिलाई थोपरेर हुँदैन, कमजोरीको सामूहिक समीक्षा गरौँ


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रको पछिल्लो विवाद र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी एक व्यक्तिमाथि मात्र थोपर्न नहुने बताएकी छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै झाँक्रीले कार्यदल गठन गर्ने निर्णयले पार्टीका कार्यकर्तालाई अनावश्यक रूपमा दुई ध्रुवमा विभाजित गरेको बताइन्। कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक हुन नसक्नुले पनि त्यसको औचित्यमाथि प्रश्न उठेको उनको भनाइ थियो।

उनले भाद्र २३ र २४ को घटनापछि पार्टीले महाधिवेशन गरेर नेतृत्व चयन गरी निर्वाचनमा गएको स्मरण गर्दै निर्वाचनमा महाधिवेशनका साझा निष्कर्ष र पार्टीको नीति तथा विचार लिएर जान नसकेको बताइन्।

‘महाधिवेशनमा अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पास भएको थियो। तर निर्वाचनमा जाँदा त्यो राजनीतिक स्पिरिट किन बोकिएन? समस्या कहाँ थियो?’ उनले प्रश्न गरिन्।

निर्वाचनपछि छोटो समयमै ‘हारको जिम्मेवारी अध्यक्षले लिनुपर्छ’, ‘विशेष महाधिवेशन गर्नुपर्छ’ र ‘अध्यक्ष रहँदासम्म पार्टी बनाउन सकिँदैन’ भन्ने भाष्य निर्माण गरिएको भन्दै झाँक्रीले त्यसलाई सही राजनीतिक विश्लेषणका रूपमा लिन नसकिने बताइन्।

उनले पार्टीले निर्वाचनमा पराजयको कारणबारे अझ गहिरो समीक्षा गर्नुपर्ने बताइन्। बदलिँदो समाज, पुस्तान्तरण तथा सामाजिक सञ्जाल र डिजिटल प्रविधिले जनमत तथा निर्वाचनमा पारिरहेको प्रभावबारे पार्टीले पर्याप्त अध्ययन नगरेको उनको भनाइ थियो।

‘फेसबुक, मेटा, टिकटक, एक्सजस्ता प्लेटफर्म र तिनका अल्गोरिदमले जनमत र निर्वाचनलाई कसरी प्रभावित गर्न सक्छन्? बट र डिजिटल अभियानमार्फत् दल वा नेताप्रति कति घृणा फैलाउन सकिन्छ भन्ने हामीले आफ्नै अनुभवबाट भोगिसक्यौँ,’ उनले भनिन्।

झाँक्रीले राज्यको सार्वभौमिकतासँगै ‘इन्टरनेट सोभरेन्टी’ र ‘स्पेस सोभरेन्टी’ जस्ता नयाँ चुनौतीमा पनि पार्टीले रणनीति बनाउनुपर्ने बताइन्। बदलिँदो प्रविधि र विश्व राजनीतिका चुनौती सामना गर्न नसके पार्टीको अस्तित्व र प्रभावसमेत कमजोर हुने उनको धारणा थियो।

गत वर्ष भदौ १९ देखि २२ सम्म भएको गोदावरी विधान सम्मेलनमा अध्यक्षका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव सर्वसम्मत पारित भएको स्मरण गर्दै उनले त्यसको एक सातामै विशेष महाधिवेशनको माग गर्नु राजनीतिक रूपमा उचित थियो कि थिएन भन्ने प्रश्न गरिन्।

भाद्र २३ को घटनापछि पार्टी नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध तथा त्यसबेलाको भूमिकामाथि पनि समीक्षा आवश्यक रहेको उनले बताइन्। विद्यार्थीको मृत्युका विषयमा पार्टी र जनसंगठनले प्रभावकारी प्रतिवाद गर्न नसकेको उनको भनाइ थियो।

झाँक्रीले महासचिव शंकर पोखरेलको राजनीतिक विश्लेषणसँग आफू धेरै हदसम्म सहमत रहेको बताउँदै परिस्थितिमा परिवर्तन किन र कसरी आयो भन्ने विषयमा थप गहिरो विश्लेषण आवश्यक रहेको बताइन्। विचार, संगठन, नीति र रणनीतिमा कहाँ कमजोरी भयो भन्ने समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

उनले संसदीय संघर्षलाई संघर्षको मूल थलो मान्दै जाँदा पार्टी, जनसंगठन र जनवर्गीय संगठनको भूमिकाभन्दा व्यक्तिको चुनावी लोकप्रियतालाई बढी महत्व दिन थालिएको बताइन्। यसले पार्टीभित्रै डाहा, रिस र द्वेष बढाएको उनको भनाइ थियो।

‘पार्टी कामको महत्व चुनाव जित्न मात्र बन्यो। सामाजिककरणको प्रक्रियामा पार्टी भेटिएन। धारा, पानी, बिजुली, बाटो अनि तिलस्मी नेतृत्व र भगवान बनाउन थाल्यौँ। बाँकी चुनाव नलड्ने औकात नभएकाहरू भनेर हेप्न थालियो,’ उनले भनिन्।

पार्टीभित्रको ठूलो समस्या यही रहेको उल्लेख गर्दै झाँक्रीले कमजोरीको जिम्मेवारी एक व्यक्तिलाई मात्र नदिई सामूहिक रूपमा समीक्षा र सामना गर्नुपर्ने बताइन्।

‘दोष एक व्यक्तिलाई थोपर्ने होइन, कमजोरीको सामूहिक समीक्षा र सामूहिक सामना गरौँ,’ उनले भनिन्। उनले मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा गम्भीर वैचारिक काम गर्दै पार्टीलाई थप एकताबद्ध, वैचारिक र देशभक्त शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : २१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी