हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास « Khabarhub

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि वर्षौंदेखि बरफभित्र दबिएर रहेका ऐतिहासिक वस्तु र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् ।

यस्ता सामग्रीको संरक्षण र अध्ययन गर्ने उद्देश्यले स्विट्जरल्यान्डको लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुषदेखि रोमनकालीन मूर्ति, पर्वतारोहीको फुटेको हेल्मेट र गाईको खप्परसम्मका सामग्री राखिएका छन् । त्यस्तै, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, जुत्ता, स्विस सेनाले प्रयोग गर्ने पुरानो प्रकारको चक्कु र स्कीका सामग्री पनि प्रदर्शनीमा समावेश छन् ।

स्विस हिमनदीविद्हरूका अनुसार यस वर्ष देशका हिमनदीको कुल क्षेत्रफल ५.५ प्रतिशतले घटेको छ । अभिलेख राख्न थालिएयताका वर्षमध्ये यो दोस्रो ठूलो गिरावट हो ।

हिमनदी तीव्र गतिमा पग्लँदै जाँदा त्यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण हराउनुअघि सार्वजनिक गर्न प्रदर्शनी आयोजना गरिएको ग्लेसियर गार्डेनका निर्देशक आन्द्रेयास बुरीले बताउनुभयो ।

“हिमनदी अहिले निकै तीव्र गतिमा हराइरहेका छन् । ती पूर्ण रूपमा हराउनुअघि हामीले गुमाउन लागेका महत्त्वपूर्ण र रोचक अभिलेख मानिसलाई देखाउन चाहेका छौँ”, उहाँले भन्नुभयो ।

प्रदर्शनीमा पुराना वस्तुका अतिरिक्त स्विस हिमनदीका भिडियो, वर्षौंदेखिको हिमनदी पग्लने दरसम्बन्धी तथ्याङ्क र हिमनदी कसरी बग्छ भन्ने बुझाउने नमुना पनि राखिएका छन् । 

बरफबाट बाहिर आएका केही वस्तु मानिसले हराएका वा फ्याँकेका फोहोरसमेत हुन सक्ने बुरीले बताए। ती सामग्री त्यहाँ कसरी पुगे भन्ने यकिन नभए पनि हिमनदी पग्लँदा बाहिर आउने वस्तु र तिनको ऐतिहासिक महत्त्व बुझ्न प्रदर्शनी उपयोगी हुने उनको भनाइ छ ।

प्रदर्शनीमा पहाडबाट सामग्री सङ्कलन गरी प्रयोगशालासम्म पुर्‍याउन प्रयोग गरिने सेता बाकसहरूमाथि वस्तुहरू सजाइएको छ । यसले गोदाममा सामग्री सुरक्षित राखिएको जस्तो दृश्य प्रस्तुत गर्छ । त्यहाँ हिमनदीबाट निकालिएको बरफको एउटा सिलिन्डरसमेत राखिएको छ, जुन बिस्तारै पग्लिरहेको देखिन्छ । यसले प्रकृतिमा भइरहेको तीव्र परिवर्तनलाई झल्काउँछ ।

हिमनदीले भौतिक वस्तु मात्र नभई वातावरणीय इतिहासका सूक्ष्म प्रमाणसमेत सुरक्षित राखेका छन् । प्रदर्शनीमा परागकण, हरितगृह ग्यास र २०औँ शताब्दीको मध्यतिर गरिएका आणविक परीक्षणबाट उत्पन्न रेडियोधर्मी पदार्थका सूक्ष्म कण बरफमा जमेर रहेको तथ्य पनि प्रस्तुत गरिएको छ ।

त्यस्तै, करिब ५०० वर्षअघि १६औँ शताब्दीको मध्यतिर खडेरी र असाधारण गर्मीका कारण वनमा लागेको डढेलोबाट उत्पन्न कालो धुवाँका कण र कोइलाका अवशेषसमेत बरफमा सुरक्षित रहेको देखाइएको छ । यस्ता प्रमाणले विगतका तापक्रम, डढेलो र चरम मौसमी अवस्थाबारे जानकारी दिन्छन् ।

प्रदर्शनीमा मानव अवशेष भने राखिएका छैनन् । यद्यपि, हिमनदी पग्लँदा दशकौँअघि बेपत्ता भएका पर्वतारोहीका शवसमेत फेला पर्ने गरेका छन् । गत अगस्टमा लुसर्नको दक्षिणमा रहेको ट्रिफ्ट हिमनदी नजिकै दशकौँअघि बेपत्ता भएका दुई बेल्जियम पर्वतारोहीका शव भेटिएका थिए । यसअघि सन् २०१५ मा प्रसिद्ध म्याटरहर्न हिमाल नजिकै सन् १९७० मा हराएका दुई जापानी पर्वतारोहीका अवशेष फेला परेका थिए ।

हिमनदीमा सुरक्षित रहेका वस्तु र वातावरणीय प्रमाणले विगतको मानव गतिविधि, प्राकृतिक अवस्था तथा जलवायु परिवर्तनको इतिहास बुझ्न महत्त्वपूर्ण सहयोग पुर्‍याउँछन् । तर, हिमनदी तीव्र गतिमा पग्लँदै जाँदा यस्ता प्रमाण नष्ट हुने जोखिमसमेत बढेको छ ।

यही सन्देशसहित आयोजना गरिएको ‘बरफको खजाना’ प्रदर्शनी आगामी अगस्ट २२ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  १२ : २८ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई