रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना « Khabarhub

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबु धाबीमा आयोजना गर्ने योजना रहेको बताएका हुन् ।

यस साता सेन्ट पिटर्सबर्गमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटवार्तापछि वार्ता प्रक्रिया पुनः सुरु गर्ने सम्भावना बढेको हो । वर्षको सुरुदेखि अवरुद्ध रहँदै आएको वार्तालाई अघि बढाउन रुसले पनि तत्परता देखाएको छ । पेस्कोभका अनुसार वार्ता मध्य नोभेम्बरमा हुने योजना छ र त्यसमा रुस, युक्रेन तथा अमेरिकाको सहभागिता रहनेछ । रुसले नोभेम्बर १० आसपास वार्ता हुन सक्ने सङ्केत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र पारिरहेका बेला यो घोषणा आएको हो । अमेरिकी विशेष दूत विटकफले पुटिनसँग भेट गर्नुअघि मङ्गलबार नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए । यी भेटवार्तापछि किएभ र मस्को दुवैले अमेरिकी मध्यस्थतामा प्रत्यक्ष वार्ता पुनः सुरु गर्न आफूहरू तयार रहेको सङ्केत दिएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध पाँचौँ वर्षतर्फ अघि बढिरहेको छ । युद्ध अन्त्य गर्ने उद्देश्यले हुन लागेको सम्भावित वार्तालाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ । यद्यपि, वार्ता कहिले सुरु हुने भन्ने विषयमा दुवै पक्षको प्राथमिकतामा केही भिन्नता देखिएको छ । रुसले नोभेम्बरको दोस्रो सातालाई सम्भावित समयका रूपमा अघि सारेको छ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ता जतिसक्दो चाँडो हुनुपर्नेमा जोड दिएका छन् ।

यसैबीच, बिहीबार राति प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले सम्भावित त्रिपक्षीय वार्ता छोटो अवधिको युद्धविराममा मात्र केन्द्रित नहुने बताएका छन् । उनका अनुसार छलफलको मुख्य विषय अन्तिम शान्ति सम्झौतासँग सम्बन्धित सुरक्षा व्यवस्थाहरू हुनेछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ६ : ४० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण