काठमाडौं- भारतबाट थप हवाई रुट प्राप्त गर्ने नेपालको अपेक्षा प्रधानमन्त्री वालेन्द्र शाहको पछिल्लो भारत भ्रमणबाट सफल हुन सकेन । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा अवतरण हुने अन्तर्राष्ट्रिय विमानका लागि नेपालले महेन्द्रनगरबाट प्रवेश पाउनेगरी एयर रुटको अपेक्षा गरेको थियो ।
प्रधानमन्त्री शाहको भ्रमणको तयारी अन्तिम चरणमा पुग्दासम्म पनि एयर रुटबारे सघन छलफल चलेको थियो । अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ताका क्रममा यसबारे सहमति जुट्ने बताइएको थियो ।
तर, प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पनि एयर रुटबारे सहमति जुट्न सकेन । दुई प्रधानमन्त्रीबीच भएको भेटवार्तापछि सार्वजनिक सहमतिपत्रमा हवाई रुटबारे उल्लेख गरिएको छैन ।
नेपालले पश्चिमतर्फबाट नेपाल आउने अन्तर्राष्ट्रिय विमानका लागि महेन्द्रनगरबाट प्रवेश दिन माग राख्दै आएको छ ।
यसको बदलामा भारतले पश्चिम बंगालको सिलिगुडीस्थित बागडोगरा विमानस्थलका लागि नेपाली आकाश माग गरेको छ । बागडोगरा विमानस्थल भारतीय वायुसेनाले सञ्चालन गर्दै आएकाले नेपालले यस विषयलाई संवेदनशील रुपमा लिएको जानकारहरु बताउँछन् ।














प्रतिक्रिया