उत्साहित छन् चितवनका नयाँ मतदाता « Khabarhub

उत्साहित छन् चितवनका नयाँ मतदाता


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– दलहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै निर्वाचनको माहौल बन्दै गएको छ । उम्मेदवार लिएर दलका नेता तथा कार्यकर्ता मत माग्न घरघर जान थालेका छन् भने दलहरू भेला र निर्वाचनको माहौल बनाउने काममा जुटेका छन् । 

निर्वाचनको माहौल बन्दै गर्दा पहिलो पटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेन-जी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।  

भरतपुर महानगरपालिका–१० का सोफिल मोक्तान नयाँ ऊर्जाका साथ देश विकास गर्ने योजना भएका नेतालाई निर्वाचित गरेर पठाउन मत हाल्नका लागि आफू उत्साहित भएको बताउँछन् । 

दलहरूले आ–आफ्ना उम्मेदवारको पक्षपोषण गरे पनि कसलाई जिताउने भन्ने अधिकार हरेक मतदातामा रहेकाले आफू पहिलो पटक त्यसको प्रयोग गर्न गएकामा उनले खुसी व्यक्त गरे । ‘पहिलो पटक मतदान गर्न लागेको छु । उत्साहित छु । देशको विकास गर्न सक्ने नेतृत्व छान्ने हो’, मोक्तानले भने । 
 
यस्तै, भरतपुर महानगरपालिका–१२ का रीतिक रिमाल कुन उम्मेदवार ठिक छन् भनेर अध्ययनमै रहेकाले एजेण्डा हरेर मत हाल्ने बताउँछन् । 

उनी भन्छन्, ‘कुन उम्मेदवार कस्तो भन्ने विषयमा अध्ययन नगरी मतदान गर्नुहुन्न । राम्रो र सक्षम नेतृत्वलाई देशको विकासमा अघि बढाउन आवश्यक छ । त्यसैअनुसार सोच बनाइरहेको छु ।’

रिमाल जेन-जी आन्दोलनका पक्षमा पनि लागेका थिए । उनी पहिलो पटक मतदान गर्दै छन् । 

भरतपुर महानगरपालिका–५ का शमिर शर्मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन् । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ की भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उनले बताए  । 

‘राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराऊ र देशको विकासमा आफ्नो योगदान पुर्‍याऊ भन्ने लागेको छ । युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने सोच छ’, शर्माले भने ।  

सञ्चुकुमारी तामाङ पनि आफूले पहिलो पटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताउँछिन् । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उनले बताइन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् । 

तीमध्ये अधिकांश युवा मतदाता रहेका छन् । केही यस अघि नै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन । 

जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्, जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट मतदानको व्यवस्था गरिएको छ । 

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । तीमध्ये ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् । 

यस्तै, क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्र रहेका छन् । 

क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । प्रतिनिधिसभामा विसं २०७९ मा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए । रासस
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : २६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क