झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दीपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।
गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए । कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिति गठन गरिएको छ ।
कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग,केन्द्रीय विभाग (वर्तमान र निवर्तमान) हरूलाई जिम्मेवारी दिएको छ । कमिटीमा प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरूलाई पनि परिचालन कमिटीमा समेटिएको छ ।
यसैगरी जिल्ला कमिटीका पदाधिकारी,विभागीय सदस्य,सल्लाहकार परिषद्का सदस्यहरू पनि निर्वाचन परिचालन कमिटीमा छन् । यसैगरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि पनि कमिटीमा रहेका छन् ।
यसैगरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् ।
यसैगरी क्षेत्रीय समन्वय,प्रदेश समन्वय कमिटीहरू पनि निर्वाचन परिचालनमा केन्द्रित हुनेछन् ।
संयोजक दाहाल पार्टीको पोलिटव्यूरो सदस्य र पूर्वमन्त्री हुन् । उनी २०४८ साल देखि ओलीको चुनाव कमाण्डर हुन् । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुन् ।
संविधान सभाका दुवै निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं ६ मा कार्की विजयी थिए । कार्की २०५४–०५९ सालमा गौरादह गाविसको अध्यक्ष थिए । अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुन् । उनी कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुन् ।
‘हाम्रा चुनावी कमाण्डर र सह कमाण्डर विगतमा निर्वाचन रणनीति बनाउने र त्यसको सफल कार्यान्वयन गर्ने नेता हुनुहुन्छ’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव नारायण गौतमले भने ‘उहाँहरूको नेतृत्वमा पार्टीका सबै कमिटी,कार्यकर्ताहरू परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रित कार्यक्रम लिएर घरघरै जान्छौँ ।’
निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । गौतमका अनुसार वडा तथा टोलसम्मका प्रचार समिति आगामी माघ १२ गतेसम्ममा गठन गरिसक्ने निर्णय गरिएको छ ।
परिचालन कमिटी अन्तरगत रहने गरी गठन गरिएका ९ वटा उपसमिति मध्ये कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम,प्रचार प्रसार सामग्री व्यवस्थापन उपसमिति होमबहादुर थापा,प्रचार प्रसार उपसमितिको संयोजकमा दीपक कार्की रहेका छन् ।
आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोमनाथ ओली, स्वयंसेवक परिचालन उपसमितिको संयोजक गोविन्द थापा,प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल रहेका छन् ।
यसैगरी सञ्चार क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितिको संयोजकमा इन्द्रप्रसाद भण्डारी,कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई रहेका छन् ।













प्रतिक्रिया