मधेशमा कस्तो छ जुठो बार्ने चलन ? « Khabarhub

बालेनको पाथीभरा दर्शन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका बालेन्द्र शाहले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

बालेनले शुक्रबार बिहान पाथीभरा माताको दर्शन गरेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारका लागि पूर्वी नेपाल पुगेका उनले पाथीभराको दर्शन गरेर घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

उनले झापा–५ बाट उम्मेदवारी दिएका छन् । जहाँ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको प्रतिस्पर्धा हुँदैछ ।

बालेनका पिता रामनारायण शाहको गत मंसिर १५ गते देहान्त भएको थियो । हिन्दू धर्म अनुसार बुवाको जुठो एक वर्षसम्म बार्ने चलन छ । त्यो समयमा मठमन्दिर नजाने, पूजाआजा नगर्ने र शुभकर्म नगर्ने चलन छ ।

तर, मधेशमा फरक चलन रहेको त्यहाँका बासिन्दाहरू बताउँछन् । बुवाको किरियाकर्ममा पनि जेठो छोरा हुदाँहुँदै कान्छोले कपाल खौरनु नपर्ने चलन छ । तर काठमाडौं महानगरका निवर्तमान मेयर बालेन बुवाको शोकबाट निस्किँदा कपाल काटेको हुलियामा देखिए ।

धर्म, संस्कृति र परम्परा हरेक जातजाति र समुदायको अस्तित्व र परिचय हो । आ–आफ्नो आस्थाको भरमा परम्परालाई मान्ने चलन छ । तर, सुरुदेखि नै बालेनलाई ‘लुसिफर’ भन्दै चर्को आलोचना गर्दै आएका नेकपा एमालेका नेता महेश बस्नेतले यस पटक पनि बालेनले बुवाको जुठो नबारी हिन्दुहरूको आस्था रहेको मन्दिरको दर्शन गरेको भन्दै आलोचना गरेका छन् ।

चुनावको मुखमा पाथिभारा दर्शन गर्नु हिन्दु संस्कारको दृष्टिले अनुचित र बेठीक भएको टिप्पणी गरेका छन् । यसका साथै, बस्नेतले धर्मलाई चुनावी प्रचारको साधन बनाउनु संस्कारविपरीत र नैतिक रूपमा गलत भएको बताएका छन् ।

बस्नेत सामाजिक सञ्जालमा लेखेका छन्-

हिन्दु संस्कारअनुसार आफन्त बितेपछि पूजा–दर्शन गर्न मिल्छ?

उत्तर:
मिल्दैन।
बा–आमा वा नजिकको आफन्त बितेपछि
१ बर्ष सम्म अशौच (जुठो) मानिन्छ।
यो अवधिमा देवदर्शन, पूजा–पाठ,
ठूला धार्मिक कर्म निषेध छन्।

प्रश्न:
त्यसो भए चुनावको मुखमा पाथिभरा दर्शन के हो?

उत्तर:
हिन्दु संस्कारको दृष्टिले
यो अनुचित र बेठिक हो।
आस्था निजी विषय हो,
तर धर्मलाई चुनावी प्रचारको साधन बनाउनु
संस्कारविपरीत र नैतिक रूपमा गलत हो।

यसअघि बालेनले जनकपुरमा मैथिली भाषामा गरेको सम्बोधनलाई लिएर टिप्पणी गर्दा पनि बस्नेत नराम्ररी चिप्लिएका थिए । बालेनले ‘मधेशका छौरा’ भन्ने शब्द प्रयोग गरेका थिए । जसको अर्थ ‘मधेशको छोरा’ भन्ने हुन आउँछ । शब्दको अर्थ नबुझी धारणा बनाउँदा उनी बालेनको स्वच्छ आलोचक भन्दा पनि दुश्मनी साँधेको जस्तो देखियो ।

नयाँ राजनीतिक दलविरुद्ध खरो उत्रिरहेका बस्नेतलाई मधेशको प्रतिनिधित्व गर्ने जेन–जी अगुवा पुरुषोत्त यादवले मुख सम्हाल्न चेतावनी दिएका छन् । साथै बोल्न र लेख्नुअगाडि मधेशको संस्कृति, संस्कार र संवेदनालाई बुझ्ने हैसियत बनाउन आग्रह पनि गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,–

महेश बस्नेत जी, सबैभन्दा पहिले आफ्नो मुख सम्हाल्नुहोस्।

यो विषयमा बोल्नुअघि
मधेशको संस्कृति, संस्कार र संवेदनालाई बुझ्ने हैसियत बनाउनुहोस्।
जुन संस्कार आफैँलाई थाहा छैन,
त्यसमाथि टिप्पणी गर्नु अज्ञानता मात्र होइन, दम्भ हो।

मधेशको संस्कृतिमा
१३ दिनमै सबै किरिया–कर्म समाप्त हुन्छ,
त्यसपछि पूजा–पाठ, देवदर्शन सबै मान्य हुन्छ।
यो सामान्य तथ्य पनि नबुझ्नेले
संस्कारको व्याख्या गर्ने अधिकार राख्दैन।

संस्कृति थाहा छैन भने
कम्तीमा आफ्नो मुख सम्हाल्नुहोस्।

मधेशको माटोले जन्माएको संस्कृतिलाई नचिन्ने व्यक्तिले
मधेशका जनतालाई ‘कुकुर’ भनेर सम्बोधन गर्नु
सिर्फ असभ्यता होइन,
घोर अहंकार, मानसिक दिवालियापन
र संस्कारहीन सोचको नाङ्गो प्रदर्शन हो।

मधेश मौन छ भनेर कमजोर ठान्नु
तपाईंको सबैभन्दा ठूलो भ्रम हो।
अपमान सहनु संस्कार होइन,
र अपमान गर्नेहरूलाई समयमै जवाफ दिनु अपराध पनि होइन।

पहिला आफ्नो भाषा, सोच र व्यवहार सुधार्नुस्,
त्यसपछि मात्र
संस्कार, संस्कृति र आस्थाको कुरा गर्नुस्।

त्यसैगरी सामाजिक सञ्जालमा भूपेन्द्र कुमार चौधरी लेख्छन्,–

‘यसपालि एमाले मधेशमा बोइकट हुन्छ पत्तासाफ हुन्छ । अब हुँदाहुँदै हाम्रो मधेसको धर्म, संस्कृति र भाषाप्रति पुरै प्रहार गरेर यिनीहरूले हामीलाई मनलाई तिछबिछ पार्दिएको छ। एमाले पार्टीमा सल्लाहकार बौद्धिक विद्वान छन् कि छैनन् ? यसरी नै अरुको भूगोल समुदाय भाषा धर्म संस्कृतिलाई प्रहार गर्ने ? एमालेका कार्यकर्ताहरू के घाँस भुसा खान्छ यति पनि बुझ्दैन ?’

मधेशमा धार्मिक बन्देज छैन : आलोक बाबा

१३ औँ दिनपछि मधेशमा कुनै धार्मिक बन्देज नभएको संस्कृतविद् तथा धार्मिक गुरु सत्यनारायण आलोक (आलोक बाबा) ले बताएका छन् ।

खबरहबसँग कुरा गर्दै उनले मधेशमा काजकिरियासम्बन्धी विधिबारे जानकारी दिए । उनले भने, ‘मधेशी समुदायमा कसैको मृत्यु भएपछि परिवारका सबै सदस्य अन्तिम संस्कार गर्न जाने चलन छ । परिवार, आफन्त र छरछिमेकहरु जुटेर मसानघाट वा नदीको किनार वा आफ्नो खेतमा दागबत्ती दिने हो ।’

‘तर पछिल्लो समय तोकिएको सार्वजनिक ठाउँमा शव जलाउने गरिन्छ । जेठो छोराले दागबत्ती दिएर क्रियाकर्म सुरु हुन्छ । तीन दिन पछि (त्रीआइत) मलामी गएकाहरुलाई बोलाएर परिवारको छोरी वा बिहनीको तर्फबाट खाना खुवाउनुपर्छ’, सत्यनारायण भन्छन्, ‘सातौं दिनमा दूधमा मुख लगाउने परम्परा छ । दशौं दिनमा नौकेस गर्नुपर्छ । पुरुषहरुले कपाल काट्नुपर्छ र महिलाहरुले नङ काट्नुपर्छ । आफन्तहरुले पनि काट्ने गर्छन् । त्यसको भोलिपल्ट पण्डित ल्याएर पूजा गर्नुपर्छ ।’

त्यसैगरी, श्राद्धको कार्यक्रम पनि गर्नुपर्ने उनको भनाइ छ । ‘तेह्रौँ अर्थात् अन्तिम दिनमा भोज गर्ने परम्परा छ । मधेशमा चौधौँ दिनमा अर्को परम्परा के छ भने, साधुसन्तको भण्डारा पनि लगाउनुर्छ । साधुलाई दान दिने र भोजन गराउनुपर्छ ।

यसरी क्रियाकर्म सम्पन्न हुन्छ । त्यसपछि पुनः बर्खी गर्नुपर्छ । त्यो भनेको एक वर्ष पुगेसी फेरि कपाल काट्ने हो । मृतकको स्मिृतिमा दानपुण्य गर्नुपर्छ । तर बर्खी मान्ने वा नमान्ने कुनै बाध्यकारी छैन’, उनले भने ।

मधेशमा कसैकसैले बार्ने गरेपनि अधिकांशले १३ औँ दिनपश्चात् सबै फुकुवा गर्ने परम्परा रहेको आलोक बाबा बताउँछन् । भन्छन्, ‘१३ दिनपछि स्वतन्त्र भएर आ–आफ्नो कर्ममा लाग्छन् । बर्खीकै कारण कुनै काम रोक्नुपर्ने बाध्यता छैन । विवाह, पूजाआजा, भोज गर्ने र कपडा बदल्न समेत खुला छ । १४औं दिनमा साधु वा गुरु पूजा गर्नुको अर्थ नै सबै प्रक्रियाबाट खुलस्त भएको मान्ने चलन छ ।’

उनले बालेनको पाथीभारा दर्शनको विषयलाई लिएर कसैले आलोचना गर्नु आवश्यक नरहेको बताए । ‘बालेनको पाथीभारा माताको दर्शनको विषयलाई लिएर पहाडे समुदायका मान्छेले आलोचना गर्नु आवश्यक छैन । नबुझेर गर्नुभएको हो भनेपनि अब पक्कै बुझ्नुभयो होला । सांस्कृतिक रुपमा पुनः मधेशमा विरोधाभाष र द्वन्द्व नगर्न हुन आग्रह गर्छु । धार्मिकतामा द्वन्द्व ल्याउने काम कसैले गर्नुहुँदैन । निराधार टिप्पणी गर्नुहुँदैन ।’ उनले भने ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : ५९ बजे

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले