नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् ।
बाँकेको तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका निर्वाचन क्षेत्र नं १ र निर्वाचन क्षेत्र नं २ बाट उनीहरूले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ता र जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्माले उम्मेदवारी फिर्ताको निवेदन दिएको जानकारी दिए ।
दुई जनाका उम्मेदवारी फिर्तासँगै जिल्लाको निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिनेको सङ्ख्या २० कायम भएको छ ।
त्यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पनि स्वतन्त्रतर्फका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले स्वतन्त्रतर्फका प्रदीपकुमार पौडेल र दीपक शाहीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
उम्मेदवारी फिर्तासँगै सो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेको सङ्ख्या १५ कायम हुने भएको छ । तर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा भने कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । सो निर्वाचन क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएका थिए । बाँके जिल्लामा कुल ६१ जनाको उम्मेदवारी परेकामा चार जनाले फिर्ता लिएपछि ५७ जनाको उम्मेदवारी कायम भएको छ ।
बाँकेका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेका छन् । रासस













प्रतिक्रिया