झापा, दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिएका छन्।
सोमबार दमकमा आयोजित नेशनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै उनले पार्टीका युवा स्वयंसेवकमार्फत गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समिति गठन गर्न निर्देशन दिएका छन्।
ओलीले नेशनल भोलेन्टियर फोर्सले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न भूमिका खेल्ने बताए।
उनले भने, ‘कम्तीमा ३० जना स्वयंसेवकलाई प्रत्येक मतदान बुथमा खटाएर निर्वाचन सुरक्षा कायम गरिन्छ। उपद्रो र आतंक फैलिन नदिन यो फोर्स निर्माण गरिएको हो।’
उनले भदौ २३ र २४ गतेको हिंसात्मक र विध्वंसात्मक घटनाहरुको स्मरण गर्दै सर्वोच्च अदालत र अन्य सरकारी संरचना जलेको भन्दै यस्तो दोहोरिन नदिन स्वयंसेवकहरुलाई सक्रिय बनाइने बताए। उनले भदौ २४ मा जस्तो अब प्रहरीको हतियार कब्जा गर्न नदिइने बताए । उनले अबका हिंस्रक गतिविधि नियन्त्रण गर्न फोर्स जिम्मेवार रहने स्पष्ट पारे।
अध्यक्ष ओलीले निर्वाचनका क्रममा स्वतन्त्र भोटिङ सुनिश्चित हुने भन्दै बुथ कब्जा गर्ने कुनै प्रयास सफल नहुने चेतावनी दिएका छन्। उनले रास्वपा नेताहरूमाथि पनि कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्री बन्ने भनेर घोषणा गर्न सकिन्छ, तर भइहाल्ने होइन।’
ओलीले आफू स्पष्ट योजना र गन्तव्यसहित अघि बढेको जिकिर गर्दै पार्टीको युवा स्वयंसेवक मार्फत निर्वाचन सुरक्षा र शान्ति कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ओलीले आफूसँग झापा ५ मा प्रतिस्पर्धा गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहलक्षित कटाक्ष गरेका छन् । उनलले केटाकेटी शैलीमा आफैँलाई प्रधानमन्त्री घोषणा गर्दै हिँडेको बताए ।
‘म सुन्छु प्रधानमन्त्रीको उम्मेदवार भन्ने। तपाईंहरूले बच्चा-बच्चीलाई के हुने भनेर सोध्नुभयो भने उसले प्रधानमन्त्री भन्न सक्छ। राष्ट्रपति पनि भन्न सक्छ। तर भइजाने त होइन। आफैँले आफैँलाई प्रधानमन्त्री बन्ने घोषणा गरिदिन्छ’, ओलीले भने ।
ओलीले प्रधानमन्त्री हुने कुरा ख्याल ठट्टा जस्तो नभएको उल्लेख गरे । आफू स्पष्ट योजना र गन्तव्यसहित अघि बढिरहेको भन्दै ओलीले मतदाता आश्वस्त पार्ने कोसिस गरे ।













प्रतिक्रिया