मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान « Khabarhub

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

अमेरिकाले जासुसी गरेर दिएको थियो सूचना



काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि देशभर अप्रत्यासित हिंसा र आतङ्क मच्चिएको छ । मेक्सिकोका धेरै राज्यमा आपराधिक गतिविधि चलाइरहेको कार्टेल हालिस्को नुएभा जेनेरेसियोन (सीजेएनजी) नामक गिरोहका नाइके नेमेसियो ओसेगुएर सेर्भान्टेजको सुरक्षा कारवाहीमा सोमबार मृत्यु भएको हो ।

उनलाई एल मेन्चोको नामले पनि चिनिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको मृत्युको खबर सार्वजनिक भएसँगै गिरोहको दबदबा रहेको हालिस्कोसहित मेक्सिकोका दर्जनौँ राज्यमा हिंसा मच्चिएको खबर छ ।

उक्त गिरोहका सदस्यहरुले विभिन्न राज्यमा सडक जाम गरेका छन् । अर्कातिर कयौँ मुख्य सडकमा सवारी साधनमा आगजनी गरेका छन् । आइतबार उक्त गिरोहमा आबद्ध सयौँ व्यक्तिहरूले बन्दुक बोकेर विभिन्न शहरमा आतङ्क मच्चाएको बीबीसीले उल्लेख गरेको छ ।

आगजनी र आतङ्कपछि यसै वर्ष हुन गइरहेको विश्वकप फुटबलको आयोजक शहर एवम् हालिस्कोको राजधानी गुवाडालाहाराको ठाउँठाउँबाट धुवाँको कालो मुस्लो उडिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । हिंसामा हालसम्म नेशनल गार्डका २५ सैनिकको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।

हालिस्को राज्यका गभर्नर पाब्लो लेमुस नभारोले राज्यमा आपतकाल घोषणा गरेका छन् । उनले सबै सार्वजनिक सवारी सञ्चालन स्थगित गरेका छन् । अहिले ठूलो सङ्ख्यामा मानिसहरुलाई एकै ठाउँमा भेला नहुने निर्देशनसमेत जारी गरेका छन् ।

समाचार संस्था रोयटर्ससँगको कुराकानीमा पर्यटकहरूले पर्यटकीय शहर पुएर्तो भलार्ता ‘युद्धभूमि’ मा परिणत भएको बताएका छन् । अमेरिकी टेलिभिजन सीबीएसका अनुसार मेक्सिकोका विभिन्न २ सय ५० भन्दा धेरै स्थानमा सडक ठप्प छन् । यसमध्ये हालिस्को राज्यमा मात्रै ६५ स्थानमा सडक बन्द गरिएको छ ।

गिरोहको आक्रमणको निशानामा बैङ्क तथा वित्तीय संस्था पनि परेका छन् । विभिन्न बैङ्कका २० वटा शाखामा लुटपाट भएको बीबीसीले उल्लेख गरेको छ । मेक्सिकोका विभिन्न स्थानमा सोमबारका लागि विद्यालय बन्द गरिएको छ भने छिमेकी ग्वाटोमालाले पनि सीमामा सुरक्षा कडा पारेको छ ।

हिंसामा संलग्न भएको आरोपमा ११ जना र लुटपाटमा संलग्न भएको आरोपमा अरू १४ जना गरी हालसम्म २५ जनालाई नियन्त्रणमा लिइएको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लडिया शेनबउमले राज्य र संघीय अधिकारीबीच सहकार्य भइरहेको भन्दै नागरिकलाई शान्त र सूचीत हुन आग्रह गरेकी छिन् । उनले मुलुकका अधिंकाश भागका गतिविधिहरु सामान्य हिसाबमा सञ्चालन भइरहेको पनि जानकारी दिएकी छिन् ।

एअर क्यानाडा, युनाइटेड एअरलाइन्स, अमेरिकन एअरलाइन्सजस्ता हवाई सेवा प्रदायकले हालिस्कोमा उडान रद्द गरेका छन् । अमेरिकाले मेक्सिकामा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अमेरिकाले हालिस्को, तामाउलिपास, मिचोआकान, गुएरेरो र नुएभो लियोनका विभिन्न ठाउँमा सुरक्षित हुन आग्रह गरेको छ ।

बेलायत सरकारले हालिस्कोमा गम्भीर सुरक्षा घटनाबारे समाचार आएको भन्दै पर्यटकलाई अति उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । बेलायतले आफ्ना नागरिकलाई स्थानीय अधिकारीको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ ।

सुरक्षा कारवाही

आइतबार गरिएको सुरक्षा कारवाहीमा एल मेन्चो पनि भनेर चिनिने सेभान्टेजको मृत्यु भएको हो । उनलाई पक्राउ गर्ने योजनाअनुसार हालिस्कोको तापाल्पा शहरमा सुरक्षा कारवाही सञ्चालन गरिएको थियो ।

यद्यपि, कारवाहीका बेला एल मेन्चोको सुरक्षामा खटिएका अङ्गरक्षकले जथाभावी गोली चलाउन थालेपछि सुरक्षा बलले प्रतिकार गरेका थिए । घटनामा गोली लागेर घाइते भएका एल मेन्चोलाई हवाइजहाजमार्फत् राजधानी मेक्सिको सिटी लैजाने क्रममा मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

कारवाहीका क्रममा उनीसहित गिरोहमा संलग्न अन्य चारजना पनि मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार कारवाहीका क्रममा तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । घटनास्थलबाट हवाईजहाज खसाल्ने र बख्तरबन्द गाडी ध्वस्त पार्ने क्षमताका रकेट लञ्चर पनि बरामद भएका छन् ।

रक्षा मन्त्रालयले मुलुकको विशेष सैन्य बलको योजना अनुसार कारवाही सञ्चालन गरिएको जानकारी दिएको छ । रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एपीले जनाएअनुसार कारवाहीमा मेक्सिकोको वायुसेना पनि परिचालन गरिएको थियो ।

अमेरिकी संलग्नता

उनलाई पक्राउ गर्न सञ्चालन गरिएको सुरक्षा कारवाहीका लागि अमेरिकाले गुप्तचर जानकारी प्रदान गरेको जनाएको छ । अमेरिकी प्रेस सचिव क्यारोलाइन लेभिटले आइतबार अबेर दिएको जानकारी अनुसार एल मेन्चो अमेरिका र मेक्सिकन सरकारको शीर्ष निशानामा थिए । उनी अमेरिकातर्फ फेन्टेनिल तस्करीमा संलग्न शीर्ष नाइके रहेको लेभिटको भनाइ छ ।

उनका अनुसार कारवाहीमा तीन जना गिरोहका सदस्य मारिएका छन् भने तीनजना घाइते भएका छन् । लेभिटको दाबीअनुसार कारवाहीका क्रममा अन्य दुई जनालाई पक्राउ गरिएको छ ।

सफल कारवाही सञ्चालन र सहकार्य गरेकोमा मेक्सिकन सेनालाई ट्रम्प प्रशासनले प्रसंशा दिएको लेभिटको भनाइ छ । एल मेन्चोको मृत्यु भएको घटनाले अमेरिका र मेक्सिकोबीचको सम्बन्धमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

ट्रम्प प्रशासनले मेक्सिको र ल्याटिन अमेरिकी मुलुकमा सक्रिय आपराधिक गिरोहलाई निमिट्यान्न पार्ने उद्देश्य लिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले आफ्नो भूमिमा सक्रिय गिरोहलाई नियन्त्रण नगरेको खण्डमा भन्सार महशुल बढाइदिने र एकपक्षीय रुपमा सैन्य कारवाही गर्नेसम्मका धम्की दिने गरेका थिए ।

अमेरिकाले एल मेन्चोका लागि १ करोड ५० लाख डलर इनाम राखेको थियो । ट्रम्प प्रशासनले सीजेएनजी गिरोहलाई एक वर्षअघि विदेशी आतंककारी संगठनको सूचीमा पनि राखेको थियो ।

प्रथम ट्रम्प प्रशासनका बेला मेक्सिकोका लागि अमेरिकी पूर्वराजदूत एवम् वर्तमान उपविदेशमन्त्री क्रिस्टोफर लन्डउले सुरक्षा कारवाहीको प्रसंशा गर्दै खराब मान्छेभन्दा असल मान्छे धेरै शक्तिशाली रहेको टिप्पणी गरेका छन् ।

अमेरिकाको लागूऔषध प्रतिरोधी निकाय डीईएको अन्तर्राष्ट्रिय विभागका पूर्वप्रमुख माइक भिजिलले शक्तिशाली गिरोहविरुद्ध आक्रामक र प्रभावकारी रुपमा लडिरहेको भन्ने सन्देश ट्रम्प प्रशासनलाई मेक्सिकोले दिएको टिप्पणी गरेका छन् ।

एल मेन्चो

५९ वर्षीय एल मेन्चो प्रशान्त महासागरको किनारमा रहेको मिचोआकान राज्यमा हुर्केको विश्वास गरिन्छ । बीबीसीका अनुसार शुरुवाती चरणमा गाँजाखेती गर्थे । उनी पहिलो पटक सन् १९८० को दशकमा अवैध आप्रवासीका रुपमा अमेरिका पुगेका थिए । अमेरिकाको क्यालिफोर्नियामा रहँदा उनी विभिन्न अपराधमा संलग्न हुन थाले ।

सन् १९९४ मा अमेरिकातर्फ हेरोइन तस्करी गरेको आरोपमा तीन वर्ष जेल बसेका थिए । ३० वर्षको उमेरमा अमेरिकाबाट देश निकालामा परेपछि मेक्सिको फर्केका उनको आपराधिक यात्रा भने थामिएन । त्यसबेला उनको गृहराज्य मिचोआकानमा मिलेनियो कार्टेल नामक गिरोह सक्रिय थियो । उनी पनि सोही गिरोहमा आबद्ध थिए । छोटो समयमा नै उनले निर्दयी नाइकेको छवि बनाइसकेका थिए ।

यो गिरोह लामो समय एकैसाथ रहन सकेन । गिरोह विभाजित भएपछि सन् २००९ मा उनले कार्टेल हालिस्को नुएभा जेनेरेसियोन नामक नयाँ समूह स्थापना गरे । छोटो समयमै यो समूहले मेक्सिकन अपराधिक साम्राज्यमा आफ्नो छुट्टै पहिचान बनायो ।

आक्रामक क्षेत्रीय विस्तारका कारण बीचबीचमा अरु गिरोहसँग उनको तनाव चलिरहन्थ्यो । उनी नेतृत्वको सीजेएनसी र ह्वाकिन ‘एल च्यापो’ गुजमान नेतृत्वको सिनालोआ कार्टेलबीच बारम्बार द्वन्द्व भइरहन्थ्यो ।

तर, मेक्सिकन आपराधिक साम्राज्यमा आन्तरिक विवादका कारण सिनालोआ कार्टेलको प्रभुत्व कालान्तरमा घट्दै गयो । हाल एल च्यापो र उनका शक्तिशाली छोराहरू जेलमा छन् । सिनालोआ कार्टेलको प्रभाव कमजोर हुँदा त्यसको प्रत्यक्ष फाइदा एल मेन्चो र उनको गिरोहलाई पुग्यो । एपीका अनुसार यो गिरोह मेक्सिकोका ३२ मध्ये २१ र प्रायः अमेरिकाका सबै राज्यहरूमा सक्रिय छ ।

यो गिरोह कोकेन, मेथाम्फेटामाइन, हेराइन, फेन्टेनिलजस्ता लागूऔषध र अवैध आप्रवासीहरू अमेरिका तस्करी गर्ने गतिविधिका लागि बदनाम छ । यो गिरोह इन्धन चोरी, अशुली, हत्या, अपहरण, बँधुवा मजदुर, सम्पत्ति शुद्धीकरण, ठगी र यस्ता धेरै आपराधिक गतिविधिमा पनि संलग्न रहेको पाइन्छ ।

सन् २०१५ मा यो गिरोहले मेक्सिकन सुरक्षा बलमाथि घातक हमला गरेको थियो । उक्त घटनामा गिरोहले एउटा सैन्य हेलिकोप्टर पनि खसालेको थियो । सन् २०२० को फेब्रुअरी महिनामा यो समूहले मेक्सिको सिटीका तत्कालीन प्रहरी प्रमुख ओमर गार्सिया हार्फुचको हत्या प्रयास गरेको थियो । सडकमा कारमा सवार भइरहेका बेला धराप थापेर गार्सिया हार्फुचको हत्या प्रयास गरे पनि जोगिएका थिए । हाल उनी मेक्सिकोको संघीय सुरक्षा मन्त्री छन् ।

आतङ्क सिर्जना र आपराधिक गतिविधि गर्न यो गिरोहले घरेलु बम र चालकरहित हवाई उपकरण ड्रोनको पनि प्रयोग गर्दै आएको छ । व्यक्ति हत्या र लागूऔषध तस्करीका लागि यो समूहले प्रयोग गर्ने ड्रोन अमेरिकी र मेक्सिकन सुरक्षा निकायका लागि टाउको दुखाइको विषय बन्दै आएको रोयटर्सले जनाएको छ ।

निर्दयी, महत्वकाङ्क्षी, आक्रामक र क्रुरताका लागि बदनामी कमाएका एल मेन्चोको मृत्युलाई मेक्सिकोको आपराधिक जगतमा निकै घातक घटनाका रुपमा हेरिएको छ ।

यस घटनाले मेक्सिकोका आपराधिक गिरोहलाई एक दशकअघि सिनालोआ कार्टेल गिरोहका नाइके ‘एल च्यापो’ पक्राउ परेयताकै सबैभन्दा ठूलो धक्का दिएको एपीको विश्लेषण छ । एल मेन्चोको हत्याको प्रभाव मेक्सिकोसहित विश्वभर पर्ने विश्लेषण गरिएको छ ।

यसरी शक्तिशाली गिरोहको नाइकेको हत्या हुँदा मेक्सिकोभित्र र सीमापार उक्त गिरोहका प्रभाव ह्वात्तै घटेर जानेछ । अब उनको स्थानमा अर्को को नाइके आउँछ र उसले कसरी यो गिरोहलाई सञ्चालन गर्छ भन्ने धेरैको चासो छ ।

डीईएको अन्तर्राष्ट्रिय विभागका पूर्वप्रमुख माइक भिजिलका अनुसार एल मेन्चो तानाशाहजस्ता थिए । ‘एल मेन्चोले सबैथोक नियन्त्रण गर्थे । उनी कुनै देशको तानाशाहजस्ता थिए’, भिजिललाई उद्धृत गर्दै एपीले लेखेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ५५ बजे

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित