काठमाडौं – सम्पत्ति शुद्धिकरणका अनुसन्धनामा तानिएका दीपक भट्टसँग जोडिएकाले नागरिकस्तरको चर्को आलोचनापछि गृहमन्त्री सुधनले गुरुङ दिएको राजीनामाबारे कलकारहरूले फरक फरक अभिव्यक्ति दिएका छन् ।
केही कलाकारले गुरुङको राजीनामालाई लिएर व्यङ्ग्य गरेका छन् । केही भने उनको समर्थनमा उभिएका छन् ।
धेरै कलाकारबाटै चुनावमा सहयोगमा पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गृहमन्त्री बनेका गुरुङको पद २६ दिनमै गएको हो ।
नायिका प्रियंका कार्की भने गुरुङको पक्षमा नै देखिएकी छन् । मिडिया ट्रायल भएको उनको बुझाइ छ । यस्तो कठिन परिस्थितिमा नैतिकता देखाएर राजीनामा दिनु प्रशंसाको विषय रहेको उनको तर्क छ ।
उनले अगाडि लेखेकी छन्, ‘कहिलेकाहीँ सबैभन्दा बलिया मान्छेहरूलाई नै जीवनले सबैभन्दा कठिन परीक्षा लिन्छ । किनकि उनीहरूभित्र त्यो लडाइँ जित्ने सामर्थ्य हुन्छ ।’
नायिका प्रियंकाले सम्पत्ति शुद्धीकरणमा जोडिएर विकास भएको राजीनामाको परिस्थितिलाई जीवन दर्शनसँग जोडेकी छन् ।
कमेडी नाइट्स विथ च्याम्पियनका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले भने सुधनको राजीनामा जोडर रास्वपालाई व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘यसरी नै मन्त्रीहरू फेरिदै जाने हो भने पाँच वर्षमा सरकारका १८२ जनाकै पालो आउला जस्तो छ ।’
सरकार गठन भएको २६ दिनमा दुई मन्त्रीको पद गएको छ । यही विषयमा उनको कटाक्ष देखिन्छ ।
रास्वपाको कार्यतकर्ताको तहमा देखिएकी नायिका वर्षा राउत चाहिँ दीपक भट्टसँगको कनेक्सनकै आधारमा गुरुङको राजीनामा दिनु नपर्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।
उनले भनेकी छन्, ‘दुरदुरसम्म सम्बन्ध रहेकै आधारमा यसरी मान्छे फस्दै जाने हो भने, जुन हिसाबले विजय बराल चाउचाउ खान्छन्– कि त कारबाही हुनुपर्यो कि त नैतिकताका आधारमा चाउचाउ छोड्नुपर्छ ।’
व्यवसायी विनोद चौधरी चाउचाउ उत्पादन गर्छन् । उनको उपभोक्ता र चौधरीको जस्तै सम्बन्ध गुरुङ–भट्टको रहेको बताउन खोजेकी हुन् । नायक विजयलाई जोड्नुको कारण फिल्मको प्रचारसँग सम्बन्धित छ । यी दुईको फिल्म केही सातापछि प्रदर्शनमा आउँदैछ ।
२६ दिनमै गुरुङको गृहमन्त्री पद गयो । पूर्वगृहमन्त्री रमेश लेखकलाई सुधनकै सक्रियतामा प्रहरी हिरासत पुर्याइएको थियो । यो विषयालाई जोडेर कलाकार जितु नेपालले कटाक्ष गरेका छन् ।
उनले लेखेका छन्, ‘हैन यो गृह मन्त्रालयको वास्तु ठीक छैन कि क्या हो ? न त बहालवाला मन्त्री टिक्न सक्छन् । न त भूतपूर्वहरू नै आरामले बस्न पाउँछन् । यति शक्तिशाली मन्त्रालय हुँदा हुँदै पनि शक्तिले नै प्रभावकारी रुपमा काम नगरेको जस्तो देखिन्छ ।’
मन्त्री बनेपछि सुधनले पक्राउ पर्नेको संख्या फेसबुकमा अपडेट गराउँदै आएका थिए । उनी १० मा पुगेर अड्किएका थिए । यसैमा जोडेर कमेडियन कर्मा लामाले व्यङ्ग्य गरेका छन् । ‘१० बाट ११ मा त आफैँ गए त हाम्रा सुधन जी ।’
त्यस्तै, कलाकार दीपकराज गिरीले अब जोगीलाई मन्त्री बनाउने हो कि ? भनेर प्रश्न गरेका छन् । वर्तमान प्रणालीमा सम्पत्ति छानबिन गरे प्रायः सबै व्यक्ति मुछिने उनको बुझाइ छ ।
उनी अब कसलाई गुहमन्त्री बनाउने भन्ने प्रश्न राख्दै लेख्छन्, ‘वर्षौंदेखि चल्दै आएको प्रणालीकै आधारमा सम्पत्ति छानबिन गर्ने हो भने त मन्दिरको कुनै जोगीलाई मन्त्री गर्दा टिकाउ होला कि ?’
मन्त्रीहरूको पद छिटो गएकामा उनको असन्तुष्टि देखिन्छ । तर, उनको अभिव्यक्तिको आशय सुधनको पक्षमा छ ।
श्रममन्त्री बनेका दीपक शाहलाई दुई साता नबित्दै रास्वपाले सरकारबाट फिर्ता बोलाएको थियो ।













प्रतिक्रिया