काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको छ। तीन दिनदेखि चितवनमा जारी महाधिवेशन लम्बिँदा अत्यधिक गर्मीका कारण प्रतिनिधिहरूको दैनिक जीवन अस्तव्यस्त बनेको छ।
सोमबार नै गर्ने भनिएको बन्दसत्र अझैसम्म सुरू हुन सकेको छैन। मंगलबार मध्याह्नदेखि बल्ल ४२ सय भन्दा बढी प्रतिनिधिहरूलाई कार्ड बाँड्न थालिएको छ।
महाधिवेशनमा विभिन्न समूहलाई समेट्नुपर्ने बाध्यताका कारण सुरूमा २७ सय अनुमान गरिएका महाधिवेशन प्रतिनिधि बढेर ४२ सय नाघेका छन्।
सोमबार नै प्रतिनिधि कार्ड बाँडेर बन्दसत्र सुरू गर्ने भनिएको थियो । तर विभिन्न समूह नसमेटी एकलौटी प्रतिनिधि बनाइएको भन्दै महाधिवेशनमा उपस्थित विभिन्न समूहका नेताले असन्तुष्टि व्यक्त गरेका थिए। त्यहीकारण रवि र बालेनलाई तीव्र दबाब बढेको थियो ।
महाधिवेशन प्रतिनिधिको सूचीमा प्रधानमन्त्री वालेन्द्र शाह पक्ष, गृहमन्त्री सुधन गुरुङ, थारू र दलित आन्दोलनका नेताहरू र पूर्वविवेकशील साझा पार्टीलाई पनि नसमेटिएको विरोध भइरहेको छ। ती सबै समूहका नेता प्रतिनिधिका लागि दबाब बढाइरहेका छन् ।
एकताको महाधिवेशन गर्दा सन्देश एकताकै दिनुपर्ने कारण केही समय ढिला भएको नेता प्रदीपचन्द्र परिवारले स्वीकारेका छन् ।
विवेकशील साझाकी पूर्वनेतृ रञ्जु दर्शना पनि सबै समूहलाई एकीकृत बनाएर पहिलो महाधिवेशन गर्नुपर्ने भएकाले केही ढिला भएको अनुमान गर्छिन् ।
‘पहिलो महाधिवेशन भएकाले सबै समूहलाई एकीकृत गर्नुपर्ने छ । पहिलो महाधिवेशनमा होमिँदा कयौँ प्रक्रियाहरू पूरा भएका थिएनन्’, उनले भनिन्, ‘सभापति र वरिष्ठ नेताले ती प्रक्रियारू पूरा गर्नु भएको छ। अब बन्द सत्र अगाडि बढ्छ । त्यसपछि निर्वाचनसहितको कामतिर महाधिवेशन जान्छ।’
सोमबार दिनभर महाधिवेशन प्रतिनिधिको विवाद नटुङ्ग्याउँदा महाधिवेशन एक दिन धकेलिएको छ। प्रतिनिधिहरूका पनि विभिन्न समूह नसमेटिएको आवाज पार्टीमा उठेपछि मिलाउन सोमबार दिनभर लागेको थियो ।
केन्द्रीय समितिले मिलाउन नसकेपछि सभापति रवि, वरिष्ठ नेता बालेन र सुधन गुरुङसहित विवेकशील साझाका पूर्वनेताहरू पनि खटिए। प्रतिनिधिको सूचिलाई अन्तिम रूप दिने काम रवि र बालेले गरेका छन् । अब बन्द सत्रको प्रक्रिया सुरू हुन लागेको छ। तर बिनातयारी बन्दसत्र थाल्न लागिएको भन्दै प्रतिनिधिले विरोध गरिरहेका छन् ।
एकजना नेता गणेश पराजुलीका अनुसार अहिले महाधिवेशन प्रतिनिधिहरूलाई कार्ड बाँड्न थालिएको छ। अब दिउँसो १ बजेदेखि बन्दसत्र हुँदैछ।
बन्दसत्रमा छवटा प्रतिवेदन पेश हुँदैछन्। बन्दसत्रका लागि पेश गरिने ती प्रतिवेदनलाई सोमबारै रवि र वालेन्द्रले अन्तिम रुप दिएका छन् ।
दुवै नेताका सचिवालयका अनुसार वालेन्द्र र रविले लटौली स्याङ्चुरी रिसोर्टमा बसेर प्रतिवेदन टुंग्याएका हुन्। महाधिवेशनमा उपस्थित मधेश र कोशीका प्रतिनिधि अझै पनि विवाद नसुल्झिएको दाबी गर्छन् ।
तर पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी र नेता पराजुली प्रतिनिधिको विवाद टुङ्गिसकेकाले १ बजेदेखि बन्दसत्र सुरू भइसक्ने बताउँछन्। ‘विवाद मिलिसकेका छन्, दिउँसो १ बजेबाट बन्दसत्र सुरु हुन्छ’, पराजुलीले भने, ‘४१०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले प्रतिनिधिकार लिनुहुन्छ ।’
सोमबारसम्ममा मधेश कोशी लगायतमा महाधिवेशन प्रतिनिधिको विवाद थियो ।त्यस्तै निर्वाचित ३५ जना सांसदहरूको नाम पनि महाधिवेशन प्रतिनिधिमा उल्लेख नभएपछि विवाद थपिएको थियो ।

निर्वाचन थालिने
महामन्त्री बुर्लाकोटी बन्द सत्र सकिएलगत्तै निर्वाचनको प्रक्रिया सुरू हुने बताउँछन् । उनले निर्वाचन प्रक्रिया सुरु गर्न सभापति लामिछाने र वरिष्ठ नेता बालेनसहितको सचिवालयका सदस्यले काम गरिरहेको जानकारी दिए।
‘बन्दसत्र सकिएलगत्तै निर्वाचन प्रक्रिया थाल्ने तयारी गरेका छौँ। नयाँ नीति आइसक्दा नयाँ नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरु आतुर हुनुहुन्छ’, बुर्लाकोटीले भने, ‘गर्मीले महाधिवेशन प्रतिनिधिलाई समस्या भएको छ। आर्थिक पाटो पनि उत्तिकै रुपमा हेर्नुपर्छ । त्यसकारण आज बेलुका निर्वाचन प्रक्रिया सक्ने गरी काम गरिरहेका छौं ।’
पार्टीकी षाध्यक्ष लिमा अधिकारी पनि मंगलबार नै निर्वाचनको प्रक्रिया सुरु गर्ने हिसाबले काम भइरहेको बताउँछिन् ।
महामन्त्री बुर्लाकोटीका अनुसार मिलेका पदमा सर्वसम्मति गरिँदैछ। नमिलेका पदमा निर्वाचन गर्ने गरी पार्टी अगाडि बढेको उनी बताउँछन्। ‘पहिलो चरणको निर्वाचन केन्द्रीय सदस्य र पार्टी सभापतिको हुन्छ। सभापतिले पनि आफ्नो उम्मेदवारी दिनुहुन्छ । त्यसमा अरूको उम्मेदवारी नपरे उहाँ स्वत: नेतृत्वमा दोहोरिने हो’, बुर्लाकोटीले भने, ‘उहाँले पनि आफ्नो उम्मेदवारी दिने तयारी गर्नुभएको होला । केन्द्रीय सदस्यमा त धेरैजना आकांक्षी हुनुहुन्छ।’
बुर्लाकोटी बन्द सत्र सकिएपछि मात्रै धेरै नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने दाबी गर्छन्। पार्टी सहममन्त्री बिपिनकुमार आचार्य पनि बन्दसत्रै सुरु नभएकाले अहिले पदमा दाबी गर्ने नेताहरू नखुल्नु भएको तर बन्दसत्र सकिएपछि धेरै जना नेताहरुले उम्मेदवारी घोषणा गर्ने बताउँछन्।
छवटा प्रतिवेदन
आजको बन्द सत्रमा छवटा प्रतिवेदन पेश हुनेछन्। सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन्।
बन्दसत्रको प्रारम्भमै अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरिनेछ। उक्त प्रतिवेदनलाई पनि अन्तिम रूप दिइएको छ। आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।
कोषाध्यक्ष लिमा अधिकारीले पनि वित्तीय प्रतिवेदन बन्द सत्रमा पेश गर्नेछिन् । महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदन तयार पारेका छन्। यसअघि नै सांगठनिक प्रतिवेदन नेतृत्वबाट स्वीकृत भइसकेको छ।
सह-महामन्त्री विपिन आचार्यले विधान संशोधन समितिको प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकबाट पारित भइसकेको छ।
समितिका संयोजकसमेत रहेका आचार्यका अनुसार विधान चौथोपटक संशोधन गरिएको हो। उनले प्रस्तुत गर्ने प्रतिवेदनले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
छवटा प्रतिवेदन पेश गरेर त्यसबारे छलफल भएपछि पारित गर्नुपर्ने कार्यतालिका रहेकाले आज नै निर्वाचनको प्रक्रिया अगाडि बढाउन पार्टीलाई सकस भने देखिन्छ ।
आज निर्वाचनको प्रक्रिया अगाडि नबढे पुनः महाधिवेशन एक दिनपछि धकेलिने सम्भावना छ । तर नेताहरू बन्दसत्र सकिएपश्चात बेलुकासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्ने दाबी गर्छन् । बुधबारसम्म महाधिवेशन सक्न निरन्तर काम भइरहेको बुर्लाकोटीको तर्क छ।
रास्वपाले ९९ केन्द्रीय सदस्यको निर्वाचन गर्दा ५१ जनालाई सभापतिले केन्द्रीय समितिमा सिधै तान्ने छन्। ७ प्रदेशका सभापतिहरू पदेन सदस्य रहने छन् । ३३ सदस्यीय सचिवालय टिम बन्दा १९ जनाको पदाधिकारी हुने करिब निश्चित छ ।

जेन-जी समेट्नुपर्ने दबाब
गृहमन्त्रीसमेत रहेका गुरुङले सभापति लामिछानेले मनोनित गर्ने अधिकांश व्यक्ति जे-नजी उमेर समूहका हुनुपर्ने माग राखेका छन् । उनले केन्द्रीय सदस्य मनोनीत गर्दा भदौ २३ र २४ को आन्दोलनका योद्धाहरूलाई बिर्सन नहुने उल्लेख गरे । गुरुङले प्रधानमन्त्री बालेन र सभापति रविलाई नामै तोकेर सूची बुझाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र र रविले आवश्यकता हेरेर तिनीहरूलाई समावेश गर्ने विषयमा गुरुङलाई मनाएका छन् । गुरुङले बुझाएको सूचीका ५१ जनामा ४० प्रतिशत भन्दा बढी जेन-जी उमेरसूहका छन् ।
गुरुङले ४१ प्रतिशतलाई नसमेटेको अवस्थामा उनीहरूलाई केन्द्रीय सदस्यमा निर्वाचन लडाएरै जिताउने समेत दबाब दिएका थिए। जेन-जी उमेर समूहकालाई समेट्नुपर्नेबारेमा सुधन, बालेन र रविले सोमबार बेलुका पनि छलफल गरे ।
यस्तोमा रविले केन्द्रीय सदस्य र सचिवालय सदस्यमा मनोनित गर्दा समावेशी, समानुपातिकता र समूहगत सहभागितलाई पनि ध्यान दिनुपर्ने दबाब छ ।












प्रतिक्रिया