काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेतासँग भेटवार्ता गरेका नेताहरूले वामपन्थीहरूबीच सहकार्यको लगभग टुङ्गो लागेको बताएका छन्।
नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेश सरकारमा वामपन्थी दलहरू मिलेर जाने समझदारी भइसकेको छ । अहिले सहकार्यको मोडालिटीबारे थप छलफल भइरहेको छ। उनका अनुसार केही दिनमै प्रदेशहरूमा वामपन्थी सरकार बन्ने निश्चित छ। प्रदेशमा सत्ता सहकार्य भए पनि एकीकरणको निर्णय भइसकेको छैन।
‘अहिले प्रदेश सरकारमा सहकार्य गरेर जाने कुरा टुङ्गो लागेको । पार्टी एकता कुरा भएको छैन,’ उनले भने, ‘सहकार्यमा विश्वासको वातावरण बन्दै गए प्रदेश र स्थानीय तहको निर्वाचनसम्म थप उपलब्धि हुन सक्छ।’
उनले कम्युनिस्टहरू सत्ता स्वार्थका लागि नभई लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न एकजुट भएको दाबी गरे। आङ्बोका अनुसार सहकार्यको मोडालिटीबारे नेकपा नेता वर्षमान पुन, प्रकाश ज्वाला, प्रवेश हमाललगायत छलफलमा छन् । एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत लगायत सक्रिय छन्। केन्द्रमा वामपन्थी सहकार्य र प्रदेशको सम्भावित सरकारबारे केन्द्रित रहेर आङ्बोसँग गरिएको कुराकानीको सम्पादित अंश :
अब प्रदेश सरकार कसरी अगाडि बढ्छ ?
अहिलेको आवश्यकता नै वाम गठबन्धन हो। यसअघि हामी विपक्षमा थियौँ। कांग्रेस र एमाले मिलेर सरकार चलाइरहेका थिए। हामी झन्डै दुई–अढाई वर्षदेखि विपक्षमा थियौँ । बाँकी सात महिनाका लागि पनि विपक्षमै बस्न तयार थियौं।
उहाँहरूबीच असमझदारी भएपछि अहिलेको गठबन्धन अगाडि बढ्न सकेन । त्यहीकारण हामीले जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आयो। सुरूमा कांग्रेसलाई पनि लिएर जाने सोच थियो। तर कांग्रेसले कम्युनिस्टहरूसँग सहकार्य नगर्ने र असैद्धान्तिक गठबन्धनमा नजाने निष्कर्ष निकालेपछि वामपन्थीबीच गठबन्धन बनाउन तयार भएका हौँ।
काठमाडौँमा प्रचण्डलगायत नेतासँग भेट्दा के कुरा भयो ?
वामपन्थीहरूबीच एक भएर अघि बढ्ने समझदारी बनिसकेको छ। वाम गठबन्धनमार्फत सरकार बनाउने चरण सुरू भएको छ। नेताहरूबीच मौखिक सहमति भइसकेको छ। अब त्यसलाई लिखित रूप दिन छलफल भइरहेको छ।

वाम पार्टीबीच एकीकरणको सहमति हो कि सहकार्य मात्रै ?
पार्टी एकता तत्काल सम्भव छैन। अहिले वामपन्थीबीच सहकार्यको सुरूवात गर्ने हो। यो प्रदेशबाट सुरू हुनेछ। प्रदेश र स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गर्नेबारे मोडालिटी तयार हुँदैछ। अहिले पार्टी एकीकरण होइन, सहकार्य अगाडि बढेको हो। आगामी सातासम्म मोडालिटीबारे अन्तिम निर्णय आउँछ। अध्यक्षज्यूले पनि यही जानकारी दिनुभएको छ । एमालेका साथीहरूले पनि त्यही कुरा गरिरहनुभएको छ।
यसलाई सत्ता सहकार्यका रूपमा बुझ्न मिल्दैन ?
सत्ता मात्रै उद्देश्य भएको भए एमालेले कांग्रेससँग मिलेरै सरकार चलाइरहेको थियो। हामी केन्द्रमा तेस्रो र चौथो शक्ति हौँ। अहिले देश चुनौतीपूर्ण अवस्थामा छ। संविधान र व्यवस्थामाथि नै प्रहार भइरहेको छ। यस्तो बेला सबै वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर चुनौतीको सामना गर्नुपर्छ। कांग्रेसले असंवैधानिक गठबन्धन नगर्ने भनेपछि वामपन्थी शक्तिहरू सहकार्यका लागि एक ठाउँमा आएका हुन्।
प्रदेशमा वाम सरकार बन्छ भन्ने सन्देश केन्द्रबाट आएको हो ?
हो, सहकार्यको सुरुवात भइसकेको छ। प्रदेश सरकार निर्माणको समझदारी र बाँकी सहकार्यको मोडालिटीबारे छलफल जारी छ। मूल रूपमा वामपन्थीबीचको सहकार्य अगाडि बढ्नेमा एमाले र नेकपा दुवै सहमत भइसकेका छन्।
भागबन्डा र नेतृत्वको विषय कहाँ पुगेको छ ?
अहिलेसम्म भागबन्डा, नेतृत्व र सरकार सञ्चालनका आधारभूत विषय टुङ्गिएका छैनन्। मोडालिटीबारे नेताहरूबीच छलफल भइरहेको छ। समग्र रूपमा वामपन्थीहरू सहकार्य गरेर अघि बढ्ने समझदारी भइसकेको छ। बाँकी विषयमा छलफल जारी छ। ‘वाम सहकार्य हुन्छ, तयारी भएर बस्नु’ भन्ने प्रचण्ड कमरेडको निर्देशन छ।
प्रदेशलाई स्वतन्त्र रूपमा अधिकार दिने कुरा पनि छ ?
सरकारको स्वरूप नीतिगत रुपमा केन्द्रले तय गर्नुपर्छ। तर मन्त्री चयन, राजनीतिक नियुक्ति र सरकारमा कसलाई सहभागी गराउने जस्ता विषय प्रदेशले आफैँ निर्णय गर्नुपर्छ। एउटा प्रदेशमा एउटा ढाँचा र अर्को प्रदेशमा अर्को ढाँचा भयो भने समस्या हुन्छ। त्यसैले सरकारको आधारभूत सिद्धान्त केन्द्रले तय गर्ने र कार्यान्वयन प्रदेशले गर्ने हो।
केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालबीच सत्ता सहकार्य हुँदैछ हो ?
अहिले वामपन्थी सहकार्य गर्ने विषयमा समझदारी जुटेको छ। सबै नेताहरू सकारात्मक हुनुहुन्छ। सहकार्य अगाडि बढ्छ। भविष्यमा विश्वासको वातावरण अझ बलियो बने एकीकरणसम्म पनि पुग्न सक्छ।

तपाईं कोशीको मुख्यमन्त्रीको दाबी गर्न काठमाडौं पुग्नुभएको हो ?
म मात्रै होइन, प्रदेश इन्चार्ज राजेन्द्रकुमार राई, सह-इन्चार्ज सावित्रीकुमार काफ्ले, संयोजक हर्क नेम्बाङ र उपनेता बाबुराम गौतमसहितको टोलीले नेतृत्वसँग छलफल गरेको छ।
हामीले वाम सरकार गठनबारे कुरा गर्यौं। नेतृत्वले पनि वाम सरकार अगाडि बढाउने विषय लगभग टुङ्ग्याइसकेको छ।
जहाँसम्म नेतृत्वको कुरा छ, चार पटकको बजेट एमाले नेतृत्वको सरकारले ल्याइसकेको छ। दुई पटक त हाम्रै प्रस्तावमा एमाले नेतृत्वमा सरकार बनेको हो। अब बाँकी छोटो अवधिको नेतृत्व नेकपाले पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो। एमालेलाई नेतृत्व प्रस्ताव गर्ने पनि नेकपा नै हो। त्यसैले अबको अवधि नेकपाको नेतृत्वमा सरकार बन्नु न्यायोचित हुन्छ।
यदि कोशीमा एमालेकै नेतृत्वलाई निरन्तरता दिने निर्णय भयो भने ?
त्यस्तो निर्णयमा नेतृत्व पुग्छ जस्तो लाग्दैन। चार पटकसम्म एमाले नेतृत्वमा बजेट आइसकेको छ। अब बाँकी एक वर्ष हामीलाई काम गर्न दिँदा फरक पर्दैन। यो न्यायोचित माग हो। दुवै पार्टीका नेतृत्वले यसको सम्बोधन गर्छन् भन्नेमा हामी विश्वस्त छौं। अन्ततः हामी आफ्नो दाबी प्रस्तुत गर्छौं, अन्तिम निर्णय नेतृत्वले जे गर्छ, त्यसलाई स्वीकार गर्छौं।












प्रतिक्रिया