वाशिङ्टन/रियाद- पश्चिम एसिया क्षेत्रमा रहेका अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) का अखडामा इरानले गरेको ड्रोन आक्रमणलाई लिएर वाशिङ्टन तनावमा परेको छ। अमेरिकाले यो आक्रमणमा रूसले लक्ष्य निर्धारणसम्बन्धी सूचना वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको आशंकामा गुप्तचर अधिकारी खटाएर अनुसन्धान गरिरहेको छ।
यस विषयमा जानकारी राख्ने चार स्रोतलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको समाचार अनुसार अमेरिकी गुप्तचर निकायका अधिकारी हालसम्म रूसको संलग्नताबारे कुनै ठोस निष्कर्षमा पुगेका छैनन्। तर आक्रमणको प्रभावकारिता, उच्च सटीकता र इरानलाई रूसले लामो समयदेखि दिँदै आएको प्राविधिक सहयोगलाई अनुसन्धानको आधार बनाइएको छ।
यसअघि पनि रूसले खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यमाथि इरानले गरेका आक्रमणमा लक्ष्य निर्धारण तथा अन्य सहयोग गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए। अमेरिकी अधिकारीहरूले पनि त्यसलाई स्वीकारिसकेका छन्। तर सीआईएका विशेष केन्द्रहरूलाई लक्षित आक्रमणमा रूसको सम्भावित भूमिकाबारे अनुसन्धान भइरहेको विषय भने पहिलो पटक सार्वजनिक भएको हो।
दुई सीआईए केन्द्रमा आक्रमण
स्रोतहरूका अनुसार गत मार्चमा कम्तीमा दुई वटा सीआईए केन्द्र ड्रोन आक्रमणको निशानामा परेका थिए। तीमध्ये एउटा साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए स्टेशन थियो । अर्को केन्द्र इराकको पूर्वी क्षेत्रमा अवस्थित थियो। केही स्रोतले थप केन्द्रहरू पनि आक्रमणमा परेको बताए पनि स्थान र संख्या खुलाएका छैनन्।
रूसमाथि आशंका
एक पश्चिमी गुप्तचर निकायको आन्तरिक प्रतिवेदनमा रूसले क्षेत्रीय सीआईए केन्द्रहरूलाई लक्ष्य बनाउन इरानलाई सहयोग गरेको सम्भावना उच्च रहेको निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।
खाडी क्षेत्रका दुई पश्चिमी अधिकारीका अनुसार रियादस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा रूसको प्रविधिबाट सुधारिएको इरानी ‘शाहेद’ ड्रोन प्रयोग गरिएको हुनसक्ने विश्लेषण गरिएको छ।
उनीहरूका अनुसार पहिलो ड्रोनले दूतावासको बाहिरी संरचनाको कमजोर भागमा प्वाल पारेको थियो। त्यसपछि दोस्रो ड्रोन त्यही प्वालबाट भवनभित्र प्रवेश गरी विस्फोट भएको थियो। उक्त आक्रमणमा कुनै मानवीय क्षति भएको थिएन।
रूसले ड्रोनको क्षमता बढाएको दाबी
रूसले इरानका शाहेद ड्रोनको लक्ष्यमा पुग्ने क्षमता र सटीकता बढाउन सहयोग गरेको छ। विशेषगरी ‘कोमेटा–एम’ (कोमेटा-एम) नामक उपग्रह नेभिगेसन प्रणाली उपलब्ध गराएर शाहेद–१३६ ड्रोनलाई अझ सटीक र विद्युतीय अवरोधबाट कम प्रभावित हुने बनाइएको बताइएको छ।
यसअघि द वाल स्ट्रिट जर्नल ले पनि रूसले इरानलाई ‘कोमेटा–एम’ प्रणाली उपलब्ध गराएको समाचार प्रकाशित गरेको थियो। यद्यपि क्रेमलिनले उक्त समाचारलाई ‘फेक न्युज’ भन्दै अस्वीकार गरेको थियो।
सीआईए केन्द्रहरू अति नै गोप्य
विदेशस्थित सीआईएका केन्द्रहरूमा सम्बन्धित देशमा रहेका मुख्य ‘स्टेशन’, सुरक्षित आवास (सेफ हाउस), रसद केन्द्र, निगरानी तथा विशेष अपरेसनका कार्यालयहरू पर्छन्। यस्ता केन्द्रहरूको स्थान अत्यन्त गोप्य राखिने भएकाले आक्रमणमा परेका सबै केन्द्रको विवरण सार्वजनिक गरिएको छैन।
एक स्रोतका अनुसार आक्रमणमा परेका केन्द्रहरूको संख्या ‘एकभन्दा बढी तर दर्जनभन्दा कम’ रहेको छ भने अर्को स्रोतले ‘धेरै केन्द्र’ प्रभावित भएको जनाएको छ।
रूसले सूचना दिएको थियो ?
अमेरिकी गुप्तचर विश्लेषकहरूले रियादस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानले रूसबाट प्राप्त लक्ष्य निर्धारणसम्बन्धी सूचना प्रयोग गरेको थियो कि भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।
तर यसबारे अझै शंका बाँकी रहेको अधिकारीहरू बताउँछन्। केही विश्लेषकको मतमा इरानको लक्ष्य अमेरिकी दूतावास नै हुनसक्ने बताएका छन् । त्यसै क्रममा संयोगवश सीआईए स्टेशन पनि आक्रमणमा परेको हुन सक्ने उनीहरूको अनुमान छ।
यद्यपि अमेरिकी स्रोतहरूका अनुसार रूसबाहेक संवेदनशील अमेरिकी गुप्तचर केन्द्रको यति सटीक जानकारी प्राप्त गर्ने क्षमता र त्यसलाई सैन्य प्रयोजनमा प्रयोग गर्ने रुचि भएका अन्य मुलुक निकै सीमित छन्।
सीआईएका पूर्व स्टेशन प्रमुख तथा गुप्त अपरेशन अधिकारी ड्यानियल होफम्यानले पनि रूसले इरानलाई सीआईए केन्द्रहरू लक्षित गर्न सहयोग गरेको भए आफूलाई आश्चर्य नलाग्ने बताए।‘रूस र इरान दुवैको साझा उद्देश्य आफ्नो प्रभाव क्षेत्रबाट अमेरिकी प्रभाव घटाउनु वा समाप्त गर्नु हो,’ उनले भने।












प्रतिक्रिया