काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रण गरी अर्थतन्त्रमा हुने अर्बौँको क्षति रोक्न सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तयार गरिएको बताएकी छन् ।
राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा उक्त विधेयक सैद्धान्तिक छलफलका लागि पेस गर्दै मन्त्री चौधरीले रोगले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई कम गर्न विधेयक ल्याउनुपरेको बताइन् । ‘बर्ड फ्लु’, ‘लम्पी स्किन’ जस्ता रोगले पशु निर्यातमा पनि समस्या भएकाले यो कानुन बनेपछि समाधान हुने उनले विश्वास व्यक्त गरिन् ।
चीनमा भैँसीको मासु निर्यात गर्ने सम्झौता भइसकेकामा सङ्क्रामक पशु रोगका कारण रोकिएको मन्त्री चौधरीले जानकारी दिइन् । यो कानुन बनेपछि पशु स्वास्थ्यका साथै मानव स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने आशा गरिएको उनले बताइन्। सांसदका सुझावलाई समेटेर विधेयक अघि बढाइने उनले प्रतिबद्धता जनाइन्।
समितिका सभापति कृष्णबहादुर रोकायाले सांसदहरूले दिएको सैद्धान्तिक सुझावलाई मन्त्रालयले अध्ययन गरी विधेयक अघि बढाउनुपर्ने बताए। भदौ १० गते विषयविज्ञ र सरोकार भएका निकायका प्रतिनिधिलाई बोलाएर बैठक गरिने उनले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभाका सदस्य सुरेशकुमार आलेमगरले असङ्क्रामक रोगको विषय पनि विधेयकमा समेटिनुपर्ने बताए। कानुन बनेपछि कार्यान्वयनका लागि बजेटको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए।












प्रतिक्रिया