काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले रसुवा बाढीका कारण प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राखिएको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले विपद्को समयमा कोही पनि नागरिक एक्लो छैन भन्ने अनुभूति दिलाउन तथा पुनर्स्थापना, पुनर्वास र संरक्षणका लागि मन्त्रालय मातहतका सम्पूर्ण संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन गरिएको बताइन् ।
उनले विपद् प्रतिकार्यलाई एकीकृत बनाउन ’प्रोटेक्सन क्लस्टर’को बैठक बसी बाल संरक्षण, लैङ्गिक हिंसा प्रतिकार्य तथा मनोसामाजिक सहयोग सम्बन्धी संयन्त्र सक्रिय गरिएको जानकारी दिइन् ।
बाढी प्रभावित १५ स्थानीय तहमा बाल संरक्षण सम्बन्धी समन्वय संयन्त्र गठन गरिएको र बालबालिकाका लागि ४० स्थानमा बालमैत्री स्थान सञ्चालन गरिएको उनले बताइन् ।
साथै ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरिएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र पारिवारिक पुनर्मिलन सेवा सहितको अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको मन्त्री बादीले जानकारी दिइन् ।
उनले नुवाकोटको देवघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री र मनोसामाजिक परामर्श उपलब्ध गराइएको बताइन् ।
ज्येष्ठ नागरिकको दीर्घकालीन पुनर्स्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधासहितको ’ज्येष्ठ नागरिक हेरचाह केन्द्र’ निर्माण गर्ने योजना अघि सारिएको उनले बताइन्।












प्रतिक्रिया