नुवाकोट– रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले पछिल्लो २८ दिनदेखि नुवाकोट र रसुवाको सिधा सम्पर्कविच्छेद छ ।
रसुवागढी नाकासम्म सडक सुचारू गर्ने उद्देश्यले पहिलो चरणमा नुवाकोटको विदुरदेखि बेत्रावतीसम्म जोड्ने सडक खुलाउने काम अन्तिम चरणमा पुगेको छ ।
सडक विभागअन्तर्गतको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाले तिरतिरे भीरदेखि बेत्रावतीसम्म २० वटा मेसिन प्रयोग गरेर धमाधम अस्थायी ट्रयाक बनाइरहेको छ ।
हालसम्म २.२ किलोमिटर सडकमा ट्रयाक खोल्ने काम सकिएको र करिब ८ सय मिटर बाँकी रहेको फिल्डमा खटिएकी इन्जिनियर स्मिता शाहले बताइन् ।
करिब एक सय मिटर क्षेत्र भूगोलका कारण अप्ठेरो रहेको उनले सुनाइन् । एक/दुई दिनमा बेत्रावतीसम्म ट्रयाक जोडिने उनको भनाइ छ ।
‘बाढीपछि भदौ ११ मा रेकी गरिएको थियो । त्यसपछि मेसिन मोबिलाइज गरेर तीरतिरे भीरबाट काम थालेका थियौँ,’ उनले भनिन्, ‘तर, त्यहाँ ३० फिटसम्म लेदो भएकाले नतिजा आएन । थोरै माथिबाट काम अघि बढाएका थियौँ ।’
ट्रयाक खोल्न एकपटक ब्लास्टिङ गरिएको र फेरि गर्न परेमा नेपाली सेनाको सहयोग लिइने उनले बताइन् ।
निर्माण गरिएको अस्थायी सडकलाई आवश्यकताअनुसार पछि स्थायी सडकका रूपमा समेत विकास गर्न सकिने जनाइएको छ । नदीको बहावबाट भविष्यमा सडकमा क्षति नपुगोस् भनेर नदीभन्दा केही माथिल्लो भागबाट ट्रयाक निर्माण गरिएको छ ।
बाढीपछि बेत्रावतीमा बेलीब्रिज जडान गर्न फाउण्डेसन तयार भएपनि आवश्यक सामग्री पुग्न सकेको छैन । ट्रयाक खुलेपछि बेलीब्रिज निर्माणका सामग्री यही मार्गबाट बेत्रावती पुर्याइने उनले बताइन् । सडकको ट्रयाक खोल्ने र बेलीब्रिज हाल्ने काम भएपछि रसुवाको सदरमुकाम धुन्चे जोड्ने सडक सुचारू हुने उनको भनाइ छ ।
धुन्चेसम्म सडक सम्पर्क जोडिएपछि स्याफ्रुवेंशी हुँदै रसुवागढीसम्मको सडक पुनर्निर्माण गर्ने सरकारको योजना छ । यसका लागि स्याफ्रुवेंशीमा पनि बेलीब्रिज राख्न अध्ययन भइरहेको छ । रसुवा बाढीका कारण गल्छीदेखि रसुवागढीसम्म ६९ किलोमिटर सडकमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी






































प्रतिक्रिया