बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी « Khabarhub

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य आम्दानी गरिरहेको पाइएको छ ।

खासै सिँचाइको समेत आवश्यकता नपर्ने उक्त खेतीबाट लगानी कटाएर अरु बालीनालीभन्दा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका किसान ओलखेतीतर्फ आकर्षण बढेको हो ।

बरहथवा नगरपालिका–१५ पिप्राभित्ताका किसान किशोरी साह ओल खेतीबाट कम्तीमा प्रतिकट्ठा ५० हजार आम्दानी लिन सकिने बताउँछन्। उनले  गत वर्ष प्रतिकठ्ठा रु एक लाखसम्म आम्दानी लिएको बताए। कृषक साहले यस वर्ष डेढ बिघा खेतमा उक्त खेती लगाएका छन् । 

‘पाँच कट्ठाको ओल बिग्रियो सुरुमै खनेर बेचिदिए’, उनले भने, ‘त्यसबाट रु दुई लाख ५० हजार आम्दानी भयो । बाँकी खन्ने काम भइरहेको छ ।’ साहले आफ्नोसँगै अरु किसानको ओल र तरुललगायतको तरकारी ठेक्कामा किनेर बजार लैजाने गरेका छन्। ‘म आफैँ खेती पनि गर्छु’, साहले भने, ‘यहाँ किसानले लगाउनुभएको ओल, आलु, सखरखण्ड, तरुल खेतै हुन्डा लिएर बजार लैजान्छु ।’

काठमाडौँको कालीमाटी र बल्खुलगायतका तरकारी बजारमा होलसेल बिक्री गर्दै आएका साहले । बालुवा वा पाँगो माटोमा राम्रो उत्पादन हुने उक्त कन्दमूलका लागि सुक्खा जग्गा राम्रो हुने बताउँछन्। 

‘अन्य खेतीका लागि पानी, मलखाद धेरै चाहिन्छ’, उनले भने, ‘यो खेतीले किसानलाई निकै राहत मिलेको छ ।’ ओलका लागि सिँचाइ अभावले समस्या नहुने, कृषि मजदुर पनि थोरै भए पुग्ने उनको भनाइ छ।

किसानले उत्पादन गरेको ओल काठमाडौँ, हेटौँडा, वीरगञ्ज, जनकपुर, विराटनगर, झापा, बुटवल, पोखरासम्मका व्यापारी आएर लैजाने गरेको बरहथवा नगरपालिका–५ का अर्का किसान घुरन महतोले सुनाए। 

उनले भने, ‘फागुन चैतमा रोपेको ओल भदौबाट खन्न सुरु गरिन्छ । प्रतिकट्ठा ओलले २० देखि २२ क्विन्टलसम्म उत्पादन दिन्छ । एउटा बोटमै १० देखि १२ किलोसम्मको ओल फल्ने गरेको छ ।’

कृषक महतोका अनुसार गत वर्ष ओल ८० देखि १०० किलोसम्म बजारमा बिक्री भयो । अहिले ४५ देखी ६५ किलोसम्म बिक्री भइरहेको छ। तराई मधेसमा स्वादिष्ट तरकारीको रुपमा ओल धेरै प्रयोग हुने गरेको छ । 

अर्का कृषक वीरेन्द्र यादवले भने, ‘महँगो तरकारीको रुपमा परिचय रहेको ओलबारे एउटा भनाइ छ । ‘चैतमा परबर भदौमा ओल’, ‘कि खाए राजा कि खाए चोर’ ती महिनामा ती दुई जातका तरकारी तराईमा निकै महँगोमा बिक्छ । वीरलै पाइने भएकाले त्यो सबैको पहुँचमा हुँदैन ।

ओल स्वास्थ्यको लागि निकै उपयोगी पोषण युक्त तरकारी भएकाले यसलाई बहुगुणी कन्दमूलको रुपमा उल्लेख गरेको पाइन्छ ।

प्रसस्त फाइबर, पोटासियम, कार्बोहाइड्रेट, वनस्पतिजन्य एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइने भएकाले ओलले शरीरलाई स्वस्थ राख्न मद्दत पुग्ने आयुर्वेद चिकित्साले समेत भनेको छ । यसमा पाइने फाइबरले पाचन प्रणालीमा धेरै फाइदा पुर्याउने विज्ञको मत छ ।

तराई मधेसमा विशेष गरी तरकारी, चटनी, तरुवा बनाएर प्रयोग गरिने ओल लामो समय शरीरलाई आडिलो बनाइराख्ने भएकाले छिट्टो भोक लाग्दैन । आलु, पिँडालुलगायतको तरकारीको विकल्पमा समेत ओलको प्रयोग हुने गरेको छ । 

ओलका परिकार, तयार गर्ने विधिलगायतका विषयमा उपभोक्तालाई ज्ञान नभएकाले यसको गुणबारे धेरैलाई थाह नहुँदा बजार सानो रहेको व्यपारीहरुको बुझाइ छ । केही पहाडी जिल्लाका बजारसम्म ओल पुर्‍याइने गरेको भए पनि यसलाई मधेसको खाद्यान्नको रुपमा मात्र हेर्ने गरिएको व्यापारी कञ्चन महतोले बताए। 

‘सामान्यतया ओल पिँडालुजस्तै कन्दमूल हो’, उनले भने, ‘पिँडालुजस्तै काँचो शरीरमा लाग्यो वा खाइयो भने शरीर घाटी जिब्रो चिलाउने कोक्याउने हुन्छ । तर, मज्जाले पकाएर खाँदा पिँडालुजस्तै स्वादिलो हुन्छ ।’

यसको स्वाद बुझेकाले भने खोजेर खाने गरेका उनले बताए। ओलको उपयोगिता र प्रचारप्रसार नभएका कारण मुलुकका सबै ठाउँमा पर्याप्त व्यपार हुन नसकेको व्यापारीको प्रतिक्रिया छ । मधेस प्रदेशको सर्लाही, महोत्तरी र रौतहटलगायतका जिल्लामा उत्पादित ओल भारतीय बजारमा राम्रो मूल्यमा बिक्री हुँदैआएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ४ : २४ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्